कास्की । पोखरा महानगरपालिकाले रातारात शहरबाट केही ट्रक फोहोर उठाएर सेति नदिमा फालेको पाइएको छ । पोखरा महानगरपालिका वडा नम्बर ९ स्थित शान्ति वन बाटिका भित्र डोजर र स्क्याभेटर लगाएर फोहोर सेति नदिमा फालिएको भिडियो प्राप्त भएको छ । भिडियो खिच्न गएका समय नेपालका पत्रकार र सामाजिक अभियान्ता डिफान भुजेलमाथि नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले दुर्व्यवहार गरेका छन् ।
नगरप्रमुख धनराज आचार्यको निर्देशनमा संकलित फोहोर सेति नदिमा फालिएको हो । भिडियो खिच्न पुगेका पत्रकार र अभियान्तामाथि नगर प्रहरीले गेटमै रोकेको थियो । सेति नदिमा फोहोर फाल्दै गरेको सुचनाका आधारमा पुगेका उनीहरुलाई शान्ति वनको बाटिकाको गेटमै रोकिएको थियो । नगरप्रहरी प्रमुख थापाले पत्रकार र अभियान्तालाई फोहोर तपाईंहरुले व्यवस्थापन गर्नुस् भन्दै गैरजिम्मेवार जवाफ दिएका थिए । पृथ्वीचोकस्थित शान्ति वन वाटिका पुगेका पत्रकार र अभियान्ता भूजेलमाथि दुर्व्यवहार भएपछि उनले मेयर धनराज आचार्यले राजिनामा दिनुपर्ने बताए ।
फोहोरमैला ऐन अनुसार फोहोर व्यवस्थापनको जिम्मेवारी पाएको पोखरा महानगरले अस्थायी ल्याण्डफिलका रुपमा लामेआहालस्थित सेति नदिकै किनारमा वातावरणीय प्रभाव मुल्यांकन समेत नगरी फोहोर फाल्दै आएको थियो । तर, माटो पुर्नेदेखि माटो खरिदसम्म अनियमितता भएको भन्दै महालेखा परिक्षक कार्यालयले प्रतिवेदन सार्वजनिक गरेपछि मेयर धनराज आचार्य आलोचित भएका छन् । त्यस्तै वडा नम्बर ३३ स्थित झाँक्री खोलामा फोहोर प्रशोधन केन्द्र निर्माणको ठेक्कामा समेत किर्ते कागजात पेश गरी आफू निकट व्यक्तिलाई ठेक्का दिएको आरोप मेयर माथि लागेको छ । त्यस्तै स्थानियको जग्गा खरिदमा समेत अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको छ ।