फाल्गुन ६, २०७२- प्रधानमन्त्री केपी ओलीको यही शुक्रबारबाट सुरु हुने भारत भ्रमणले दुई देशबीच केही महिनायता चिसिएको सम्बन्धमा सुधार ल्याउने अपेक्षा राखिएको छ । नेपालको निर्वाचित निकायले जारी गरेको संविधानप्रति विमति जनाउँदै भारतले सीमा नाकाबन्दी गरेपछि दुई देशको सम्बन्ध बिग्रिएको थियो ।
त्यसो गर्दा नेपालमा मात्र भारतविरोधी माहोल बढेको नभई अन्तर्राष्ट्रिय जगत्मा समेत उसको छवि नकारात्मक बन्दै गएको थियो । ढिलै भए पनि भारतको राजनीतिक नेतृत्वले नाकाबन्दी गर्दाको गल्ती महसुस गरेजस्तो प्रतीत हुन्छ, जो यदि सत्य हो भने प्रधानमन्त्री ओलीको आसन्न भ्रमण सम्बन्ध सुधारको दिशामा निर्णायक घुम्ती बन्न सक्छ ।
अहिले नेपाल–भारत सम्बन्ध सामान्य अवस्थामा फर्किनसकेका कारणले दूरगामी महत्त्वका कूटनीतिक सन्धि–सम्झौता गर्नेतिर लाग्नु दुवै पक्षको हितमा छैन । यसअघिबाटै छलफलमा रहेका परियोजनाहरू अगाडि बढाउने, नेपालको पुनर्निर्माण र विकासका कार्यक्रमहरूमा सघाउनेलगायत आर्थिक मामिलामा केन्द्रित समझदारीहरू भने हुन सक्छन् ।