ग्राहकमाथि वर्ल्डलिंकको चरम ठगी : सपोर्टको नाममा यसरी हुन्छ ब्रम्हलुट !

Diyo post  

काठमाडौं, २५ माघ । नीजि क्षेत्रको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनिको रुपमा आफूलाई दाबी गर्दै आएको वर्ल्डलिंक कम्युनिकेशन प्रालीले आफ्ना ग्राहकलाई चरम ठगी गर्दै आएको छ ।


सेवाग्राहीहरुलाई चरम ठगी गरिरहेको वर्ल्डलिक विरुद्ध ग्राहकहरुले सामाजिक सञ्जाल मार्फत नै विरोध गर्न थालेका छन् । उनीहरुले वर्ल्डलिंकको आधिकारिक पेजमा प्रतिक्रिया दिँदै चरम रुपमा भइरहेको ठगीको विरोध गरेका हुन् ।


सर्वसाधरणबाट सपोर्ट एण्ड मेन्टिनेन्स शिर्षकमा इन्टरनेटको आधा शुल्क लिने गरेको वर्ल्डलिंकले ग्राहकलाई सपोर्ट भने गरेको देखिँदैन ।


‘सपोर्टमा फोन गर्दा फस्ट इन लाईन भनेर आधा घण्टा कुराउँछ । कुनै सपोर्टको मान्छे ३० मिनेटसम्म कसैसँग बोल्दैन ,’ वर्ल्डलिंकका ग्राहक शिव पौडेलको प्रतिक्रिया छ,‘यो सब ग्राहक झुलाउने काम मात्रै हो ।’


आश्चर्य त के छ भने ग्राहकसँग सम्पर्कका लागि वर्ल्डलिंकले एनसेलको नम्बर राखेको छ–९८०१५२३०५० ।


एनसेलमा फोन गर्दा चर्को शुल्क काट्ने गर्छ । एउटा ग्राहकलाई घण्टौँसम्म कुराउँदा वर्ल्डलिंकले के स्वार्थ पालेको छ त्यो भने राहस्यकै विषय छ ।


अर्का ग्राहकलाई वर्ल्डलिंकले रातभर दुख दिएको पाइएको छ । ‘म मध्यरातको १ बजेर ४५ मिनेटसम्म कुरेर बसेँ । मैले ५० एमविपिएसको इन्टरनेट जोडेको छु । म सिंगल युजर हो । मैले आगामी एक महिनाको समेत बिल तिरेको छु,’ ग्राहक गोपाल कर्णको प्रतिक्रिया छ ।


सामाजिक सञ्जालमै अर्का ग्राहक सन्दिप अर्यालले वर्ल्डलिंकलाई विश्वकै सबैभन्दा झूरेस्ट इन्टरनेट सेवा प्रदायक कम्पनिको रुपमा अर्थ्याएका छन् ।


अर्का सेवाग्राहीले आफूले ३५ एमबिपिएसको नेट खरिद गरेको तर वर्ल्डलिंकले ठगी गरेको बताएका छन् ।


‘मेरो ३५ एमबिपिएसको नेट । कति ठगी गरेको छ वर्ल्डलिंकले । अब भन्दा भन्दा लाज नै लागिसक्यो । दिनमा १० पटक कम्प्लेन गर्नुपर्छ,’ उनले १२ एमविपिएसको स्पिडको तस्विर देखाउँदै भनेका छन्,‘तर तिमीहरुलाई कहिल्यै लागेन ।’


त्यस्तै अर्का ग्राहक आशिष ढुङ्गानाले भने आफूले २५ एमबिपिएस नेट खरिद गर्दा २ दशमलव ५ एमबिपिएस मात्रै चलेको प्रतिक्रिया दिएका छन् ।


गौतम आलोकले २ महिनासम्म हैरानी खेपिरहेका छन् । ‘२ महिना भै सक्यो कम्प्लेन गरेको मोबाइल डाटा अरु सबै फास्ट छ । अकाउन्ट एक्सपायर हुनभन्दा चार दिन अगाडी रिचार्ज गर्नुस् भन्दै फोन गर्छन्,’ उनको प्रश्न छ,‘त्यसपछि पैसा आयो बालमत्लव । २० एमबिपिएस भन्यो ५ एमविपिएसको स्पिड छैन । कस्टोमर सर्भिस भन्ने के हो थाहा छ ? ठग्नुको पनि हद हुन्छ नी । चाहिएन नेट टिभी । केवुल जिन्दावाद ।’


वर्ल्डलिंक प्रयोगकर्ताले सपोर्टका लागि भन्दै इन्टरनेटको आधा रकम तिर्दै आएका छन् । तर, ग्राहकले सपोर्ट भने पाएका छैनन् ।

सम्बन्धित खबर