
काठमाडौं, ६ फागुन । घुस प्रकरणमा राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकको झण्डै एक अर्ब रुपैयाँको सम्पत्ति देखिएको छ ।
काठमाडौं कोटेश्वरका सुजन दाहालले अख्तियारमा आइतबार दिएको उजुरीमा उनको सम्पत्ति विवरण उल्लेख गरिएको छ ।
उजुरीमा उल्लेख गरिए अनुसार पाठकलाई अंशबन्डाबाट तीन बिघा जग्गा मात्र आएको थियो । उजुरीमा भएअनुसार पाठकले जनकपुर उपमहानगरपालिका–६ मा चार कठ्ठा जग्गामा पक्की घर बनाएका छन् । सोही वडामा पाठकलाई अख्तियारका तत्कालिन प्रवक्ता कृष्णहरी पुष्कर कर्णका भाई कार्यालय प्रमुख र तत्कालिन जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख अर्को तीन तले घर बनाइदिएको निवेदनमा उल्लेख गरिएको छ ।

त्यस्तै पाठक अख्तियारमा आयुक्त भएपछि महोत्तरीको पुख्र्यौली गाउँ एकडारामा अढाई तले पक्की घर बनाएका थिए । उनले महोत्तरीको बर्दिबास नगरपालिकामा १२ कठ्ठा जग्गा खरिद गरेका छन् ।
उनले रौतहट गौर नगरपालिकामा आफन्तको नाममा चार कठ्ठा घडेरी खरिद गरेका छन् । यसैगरी, विराटनगरमा दुई कठ्ठा घडेरी खरिद गरेका छन् भने काठमाडौंको शान्तिनगरमा चार करोड ८५ लाखमा घर खरिद गरेका छन् । पाठकले भक्तपुरमा ८ आना जग्ग खरिद गरेका छन् । उनले छोरीको विवाहमा २७ लाखको दाइजो दिएको निवेदनमा उल्लेख गरिएको छ ।

दाहालले निवेदनमा उल्लेख गरेअनुसार पाठकले छोरीको नाममा सार्वजनिक पोखरीसहित ३ विघा जग्गा धनुषामा नामसारी गरेका छन् । काठमाडौंको तीनकुनेमा ५० लाख लागतमा घुस लेनदेन गर्न कार्यालय बनाइएको निवेदनमा उल्लेख छ । सोही हाउसबाट उनले करोडौँ घुस असुल गरेका छन् ।
निवेदनमा उल्लेख गरिएअनुसार पाठकले एसियाली विकास बैंकको लगानीमा जनकपुरमा भएको सडक निर्माणमा आफैँ समलग्न भइ गुणस्तरहीन निर्माण सामग्री हालेर ेकेदारबाट पैसा लिएका थिए । उक्त विषयमा असहमति राख्ने आयोजनाका कन्सल्टेन्ट इन्जिनियर बद्री झालाई हटाएर आर्थिक लाभ लिएका थिए भने दुई वटी छोरीलाई एमबिबिएस पढाएका छन् । आर्थिक दैनिकमा खबर छ ।