त्रिशुली नदिको बीचबाटै बालुवा तस्करी : शक्तिको आडमा तस्करी गर्ने यी को हुन् ? (फोटोफिचर)

दियो पोस्ट  


दियोपोस्ट संवाददाता


धादिङ, १४ फागुन । पृथ्वीराज मार्ग अन्तर्गत धादिङको आदमघाट नपुग्दै बेल्खु स्थित त्रिशुली किनारमा बालुवाको ठूल्ठूला थुप्रो देखिन्छ । स्वच्छ र स्वतन्त्र भएर बहनुपर्ने त्रिशुली नदिको पानी समेत ती बालुवाका ठूल्ठूला थुप्रोलाई घेरा बनाएर बहनु परेको देखिन्छ । नदि किनारमा ठूल्ठूला डोजर, स्क्याभेटर र टिफरको लाइन छ । झन्डै ३० देखि ४० वटा फिरफिरेबाट बालुवा निस्कँदै गरेको छ । शनिबार विहान त्रिशुली किनार नियाल्दै गर्दा लागेको थियो–यो त्रिशुली नदि होइन, बालुवा तस्करहरुको अखडा हो ।’


पूर्व माओवादी तथा हालका नेकपाका कार्यकर्ता गणेशलाल श्रेष्ठ, अर्जुन श्रेष्ठ, कृष्ण लाल श्रेष्ठ लगायत व्यक्तिको सामुहले यसरी त्रिशुली नदि बिचबाटै दिनदहाडै बालुवा तस्करी गरेर बेचिरहँदा समेत सरोकारवाला निकाय मौन छन् ।


प्रदेश तीनका आन्तरिक मामिला मन्त्री शालिकराम जम्मकट्टेलका निकट मानिने टिफर व्यावसायी संघका अध्यक्ष समेत रहेका गणेशलाल श्रेष्ठले शक्ति र पहुँचका भरमा यसरी बालुवा तस्करी गर्दै आएका छन् ।


‘पहिले यो जग्गामा खेत थियो । खेतमा बालुवा प्रसोधन उद्योग खोलेर तल नदिको बालुवा तस्करी हुँदै आएको छ । यहाँ सबैको मिलेमतो देखिन्छ,’ एक स्थानियले भने,‘ठूला मान्छेलाई कानुन र प्रशासनले पनि देखेनदेखे जस्तो गरिँदो रहेछ ।’


गजुरी गाउँपालिका वडा नम्बर १ बेल्खु नजिकै सशस्त्र प्रहरीको डिएसपीको कमाण्डमा ठूलो फोर्स बस्ने क्याम्प नै छ । तर, प्रशासनले त्यो थाहा नपाए जस्तो गरी बसिरहेको छ । त्यतिमात्रै होइन धादिङका प्रमुख जिल्ला अधिकारी त्यही बाटो भएर अनुगमन गर्न पृथ्वी राजमार्गमा धाउँछन् । तर, उनले समेत थाहा नपाए जस्तो गर्छन् ।


हुन त सोही क्षेत्रका व्यावसायीहरुले यसअघि दशैंका क्रममा दशैँ खर्च उठाएर लाखौँ रकम बुझाएको भन्दै ‘विवरण’ नै सार्वजनिक भएको थियो । जसमा प्रदेश तीनका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेल, सो क्षेत्रका सांसद भूमि त्रिपाठी र प्रमुख जिल्ला अधिकारीसम्मका लागि रकम भागबण्डा गरिएको थियो ।


त्रिशुली नदिका अधिकांश भागमा यसरी नै बालुवा तस्करी भइरहेको छ ।


जिल्ला प्रशासन कार्यालयको प्रतिवेदन अनुसार उक्त क्षेत्रमा सञ्चालित इन्द्रायणी एग्रोगेट प्राली अर्जुन प्रसाद श्रेष्ठको नाममा दर्ता देखिन्छ । २०७४ सालमा मापदण्डविपरित क्रसर सञ्चालन गरेपछि तत्कालिन जिल्ला प्रशासन कार्यालयले विद्युत आपूर्ति बन्द गरेको थियो ।


नियम अनुसार राजमार्गबाट ५०० मिटर , खोला किनाराबाट ५०० मि। शिक्षण संस्थाबाट २ कि।मि, स्वास्थ्य संस्थाबाट २ कि।मि। , धार्मिक ,सास्ंकृतिक र पुराताक्तिवक महत्वका स्थानबाट २ कि।मि, सुरक्षा निकायबाट २ कि।मि। वन, निकुञ्ज र आरक्षणबाट २ कि।मि।, र घनावस्तीबाट २ कि।मि। टाढा हुनुपर्नेछ ।


तर, त्रिशुली किनारमा भने यो नियम कतै लागु भएको पाईंदैन । मापदण्ड विपरित बालुवा प्रसोधन उद्योग सञ्चालन गरेको भन्दै गणेशलाल श्रेष्ठको भाई कुमार श्रेष्ठका स्वामित्व रहेको मेघा बालुवा प्रसोधन उद्योगमा गत वर्ष विद्युत आपूर्ति बन्द गरिएको थियो । गणेशलालकै दाजु भाई खलकका कृष्णलाल श्रेष्ठको स्वामित्व रहेको केविएस बालुवा प्रसोधन उद्योग यतिबेला निर्वाध सोही त्रिशुली नदिबाट बालुवा तस्करी गरिरहेको भएपनि कुनै कारबाही भएको छैन ।


गणेशलालको प्रश्न,‘मेसिनले की मान्छेले निकाले बालुवा ?


त्रिशुली नदिकैबीचबाट बालुवा निकालेर बेच्दै आएका गणेशलाल श्रेष्ठलाई यस विषयमा सोधपुछ गर्दा ‘मेसिनले नभाई मान्छेले निकालेको दाबी गरे । ‘मेसिनले होइन होला मानिसले होला । त्यो बुझ्नुपर्छ । त्यो मेरो बालुवा खानी होइन ।’

त्रिशुली नदिकैबीचबाट बालुवा निकालेर बेच्दै आएका गणेशलाल श्रेष्ठलाई यस विषयमा सोधपुछ गर्दा ‘मेसिनले नभाई मान्छेले निकालेको दाबी गरे । ‘मेसिनले होइन होला मानिसले होला । त्यो बुझ्नुपर्छ । त्यो मेरो बालुवा खानी होइन ।’