
काठमाडौं, १५ फागुन । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी पर्यटन मन्त्री रविन्द्र अधिकारी सहित ७ जनाको मृत्यु भएपछि सरकारले भोली विहिबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । बहालवाला मन्त्री दुघर्टनामा मृत्यु भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आकास्मिक बैठक आयोजना गरेका थिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बेलुकासम्म बसेको बैठकले भोलि सरकारी निकायका सबै क्षेत्रमा नेपालको झण्डा आधा झुकाउने निर्णय समेत भएको छ । मन्त्री अधिकारीको शवलाई राजकिय सम्मान सहित दाह संस्कार गर्ने निर्णय समेत मन्त्रीपरिषदले गरेको छ ।
त्यस्तैगरी ताप्लेजुङ हेलिकोप्टर दुर्घटना छानबीन गर्न उच्चस्तरिय समिति समेत गठन गरेको छ । पूर्व सचिव यज्ञ प्रसाद गौतमको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिमा नेपाली सेनाका सहायक रथी दीपक बास्तोला, पूर्व महासेनानी क्याप्टेन प्रमोद लामा सदस्य रहेका छन् भने सदस्य सचिवमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् ।