
दियोपोस्ट संवाददाता
मलेशिया,३ फागुन । गैरआवाशिय नेपाली संघ मलेशियाका अध्यक्ष हरि भट्टराईले अन्तत श्रमिक कल्याणकारी कोषलाई दिएको चेकमा रकम जम्मा गरेका छन् । यसअघि मलेशिया स्थित गैरआवाशिय नेपालीबीच भट्टराईले नक्कली चेक दिएर नेपाली मजदुरलाई बेवकुफ बनाएको चर्चा भएको थियो ।
उनले आज मलेशियाको स्थानिय समय अनुसार साँझ ५ बजेर ४२ मिनेट जाँदा संघको खाता रहेको सिआइएमडी बैंकमा ५० हजार रिंगेट अर्थात करिब १३ लाख रुपैयाँ रकम जम्मा गरेका हुन् ।
दियोपोस्टले नक्कली चेक दिएको भन्दै गत २७ पुसमा समाचार प्रकाशन गरेको थियो । समाचार प्रकाशित भएपछि भट्टराईमाथि रकम जम्मा गर्न दबाव बढेको थियो । गैरआवाशिय नेपाली संघको आज मलेशियामा बसेको बैठकमा भट्टराईले रकम जम्मा गर्ने प्रतिबद्धता जनाएका थिए । रकम जम्मा नगरे बैठक नै चल्न नदिने अडान कार्यसमितिकै सदस्यहरुले राखेपछि उनी समस्यामा परेका थिए ।

यहि विषयमा समाचार लेखेको भन्दै दियोपोस्टकर्मीलाई मलेशिया भ्रमणका क्रममा अपहरणको योजना बनाएको समेत खुलाशा भएको थियो । कोषाध्यक्ष कृष्ण प्रसाद नेपालले अपहरणको योजना सार्वजनिक गरेपनि उनीमाथि कारबाही गर्नुपर्ने माग एनआरएनएका कार्यसमिति सदस्यहरुले उठाउन सकेनन् ।
गत भदौ ६ गते गैर आवाशीय नेपाली संघको सर्वसम्मत अध्यक्ष बनेका भट्टराईले एनआरएनए मलेशियाले बनाएको श्रमिक कल्याणकारी कोषमा ५० हजार रिंगेट अर्थात १३ लाख नेपाली रुपैयाँ दिएको चेक नै नक्कली भएको पाइएको थियो ।
कोषाध्यक्षसँग सुरक्षित रहेको भन्न भ्याएका छन् । स्रोतका अनुसार कोषाध्यक्ष भने भट्टराईकै कर्मचारी हुन् । श्रमिक कल्याणकारी कोष भनेको एनआरएन मलेशियाले स्थापना गरेको कोष हो । एनअरएनकै खातामा जम्मा भएको पैसा कोषले प्रयोग गर्ने हो ।
एनआरएन मलेशियाले मलेशियाको राजधानी क्वलालम्पुरमा रहेको सिएमआइडी बैंकमा खाता खोलेको थियो । भटट्राईले एनआरएनए मलेशियको खाता नै नभएको बताउँदै आएपनि उनले अन्तत आफुले चेक दिएको एनआरएनए मलेशियाको आधिकारिक खाता नम्बर ८६०२८८७८५५ मै रकम जम्मा गरेका छन्