मलेशिया रोजगारीमा ‘लुटधन्दा’ : भण्डारी ओभरसिजले अशुल्यो १ लाख ३० हजार !

दियोपोस्ट संवाददाता

दियोपोस्ट संवाददाता


मलेशिया, ४ फागुन । गत वर्ष कार्तिक २२ गते नेपालका श्रम मन्त्री गोकर्ण विष्ट र मलेशियन समकक्षी एम कुला शेघरानबीच ऐतिहासिक श्रम सम्झौता भयो । सम्झौता अनुसार रोजगारीको प्रमुख गन्तव्य मलेशियामा नेपाली मजदुर निशुल्क जान पाउने उल्लेख थियो ।

शुन्य लागतमा नेपाली मजदुर मलेशिया जान पाउने भएपछि वर्षदिनदेखि अवरुद्ध मलेशिया रोजगारीमा छुट्टै उत्साह थियो । सम्झौता अनुसार नेपाली कामदारले छनौट प्रक्रियामा बुझाउँदै आएको लाखौँ रकम तिर्न नपर्ने भएको थियो । मलेशिया रोजगारी भित्रको अर्बौंको लुट अन्त्य भएको अनुमान थियो ।


सम्झौतामा छनौट प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च रोजगारदाता मुलुक मलेशियाले नै तिर्ने उल्लेख थियो तर, सम्झौता अनुसार कुनै पनि नेपाली कामदार मलेशिया पुग्न भने सकेका छैनन् ।


मलेशिया जाने अधिकांश नेपाली कामदारले मेनपावर मार्फत दलालहरुलाई लाखौं रुपैयाँ बुझाउँदै आएका छन् ।


मलेशियामा भेटिने मजदुरले मेनपावरलाई एक लाख ३० हजार देखि २ लाख रुपैयाँसम्म बुझाएर मात्रै गन्तव्यमा पुग्न पाएका छन् ।


त्यति मात्रै होइन सम्झौता अनुसारको सेवा सुविधा र तलब समेत नभएको पाइएको छ ।

मलेशिया रोजगारीमा नेपाली कामदारमाथि लुट मच्चाउँदै आएको मेनपावर कम्पनि हो राजधानीको शान्तिनगरमा कार्यालय रहेको भण्डारी ओभरसिज प्रा.ली ।


भण्डारी ओभरसिजले सन् २०१९ डिसेन्बर ६ मा मलेशियाको जलनमा रहेको टार्गेट सेक्युरिटी एसडिएन बिएचडीमा ५० जना नेपाली कामदार पठाउने डेमान्ड पाएको थियो । ती मध्ये सन् २०२० जनवरी ५ मा २० जना नेपाली कामदारलाई श्रम विभागले श्रम स्विकृति दिएको थियो ।


उनीहरुबाट भण्डारी ओभरसिजले जनही १ लाख ३० हजार रुपैयाँ असुलेको पाइएको छ । मलेशियामा सोही कम्पनि मार्फत काम गरिरहेका एक नेपालीका अनुसार उनीहरुले भण्डारी ओभरसिजलाई एजेन्ट मार्फत एक लाख ३० हजारदेखि एक लाख ७० हजारसम्म बुझाएका थिए ।


रोजगारीको सपना बोकेर मलेशिया पुगेका एक कामदारले भने गाउँमा चर्को ब्याजमा ऋण खोजेर रकम बुझाएको बताए । तर, मलेशियामा उनको मेडिकल फेल भएपछि उनी नेपाल फर्किएका छन् ।

नेपाल फर्किएका ती व्यक्तिलाई समेत भण्डारी ओभरसिजले पुरै रकम फिर्ता गरेको छैन ।
‘मलेशियामा फ्रि भिषा फ्रि टिकट भनेको हावादारी गफ मात्रै रहेछ । हामीले यो कुरा बाहिर भन्यौँ भने हामीलाई नै समस्या हुन्छ । तर हरेक नेपालीले लाखौँ रुपैयाँ बुझाएर आएका छन्,’ क्वालालम्पुरमा एक मजदुरले भने,‘नेपाल सरकार नै निरिह छ । हामी त मजदुर हो । अरुको भरमा चल्नुपर्छ ।’


आश्चर्य त के छ भने मजदुरले भण्डारी ओभरसिजसँग करार गरेका छन् । करारमा कम्पनिले नेपालदेखि मलेशियासम्मको विमान भाडा रकम व्यहोर्ने उल्लेख छ । तर कामदारले एक लाख ३० हजार रुपैयाँ बुझाएको बारे भने कतै उल्लेख छैन । ‘पैसा बुझाएको कुनै भौचर दिँदैन । एजेन्टलाई नगद दिएपछि उसले मेनपावरलाई बुझाउँछ,’ क्वालालाम्पुरमा भेटिएका एक मजदुर भन्छन्,‘मजदुरले २ लाख बुझाएपनि १० हजारको रिसिभ दिने चलन छ ।’


सम्झौता अनुसारको तलब कसैले पाएनन्


करार सम्झौतामा सेक्युरिटी गार्डले बेसिक तलब ११ सय रिंगेट र ओभरटाइम सहित २१ सय रुपैयाँ पाउने उल्लेख छ । भण्डारी ओभरसिजबाट टार्गेट सेक्युरिटीमा गएका अधिकांश सेक्युरिटी गार्डले सम्झौता अनुसारको तलब पाएका छैनन् । मेडिकल फेल भएका एक कामदारलाई २७ दिनसम्म काम लगाएर २ सय रिंगेट हातमा राखेर नेपाल फर्काएको छ ।

‘सम्झौतामा २१ सय रिङ्गेटसम्म तलब हुन्छ भनिएको थियो । तर त्यहाँ त्यस्तो थिएन । ५ सय ५० रिंगेट मात्रै तलब दिएको छ,’ ती सेक्युरिटी गार्डले भने,‘सम्झौतामा भनिए अनुसारको आवासको व्यवस्था समेत छैन ।’


मेनपावर सञ्चालक भण्डारी सम्पर्कमा आएनन् ?


नेपालबाट मलेशिया जाने मजदुरलाई श्रम सम्झौता विपरित रकम अशुली गर्दै आएका भण्डारी ओभरसिजका सञ्चालक हुन् माधव भण्डारी ।

गण्डकी प्रदेश अन्तर्गत बाग्लुङ जिल्लाको गल्कोट नगरपालिका ३ हटिया घर भएका भण्डारी विगत लामो समयदेखि म्यानपावर व्यावसायमा समलग्न छन् ।

उनले कतार, युएइ, बहराइन, साउदी अरब, बहराइन, कुवेत र मलेशियामा कामदार पठाउँदै आएका छन् । मलेशियामा शुन्य लागत भनिएपनि भण्डारीको कम्पनिले लाखौँ अशुली गरिरहेको विषयमा प्रतिक्रिया लिन उनलाई सम्पर्क गर्दा उनले फोन उठाएनन् ।

सम्बन्धित खबर

सिफारिस