पार्टी फूटको संघारमा पुगेपछि प्रचण्डले भने,‘नेकपा विघटन हुन कुनैपनि हालतमा दिन्न’

दियोपोस्ट संवाददाता

काठमाडौं, १५ फागुन । नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्य सिफारिस पश्चात विघटनको संघारमा पुगेको नेकपाबारे पार्टी अध्यक्ष पुष्प कमल दहाल प्रचण्डले मुख खोलेका छन् । बागमति प्रदेशको जिल्ला स्तरिय कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै प्रचण्डले पार्टी विघटन हुन नदिने बताएका हुन् ।


‘यसअघि पनि हामी विवाद गर्थ्यौँ । हामीले नै समाधान गर्छौं । मिडियामा आएको पछि नलाग्नु होला । यसकोे समाधान निकाल्छौँ । कम्युनिष्ट पार्टीलाई सिद्याउन दूश्मनले पनि सकेन,’ उनले भने,‘म यो पार्टीलाई विघटन हुन दिन्न । तर, सत्तामा गएपछि कम्युनिष्ट पार्टी भ्रष्टाचार गर्ने र सत्ता लिप्सामा जाने र आफै सकिने भएका छन् ।’


अध्यक्ष दाहालले पार्टी जमेको पोखरी जस्तो नभएको र पार्टी भित्र बहस छलफल हुनुलाई अनौठो नमान्न समेत कार्यकर्तालाई निर्देशन दिए ।


जनयुद्धका क्रममा आफूहरुलाई सिद्धयाउन बामदेव गौतमलाई गृहमन्त्री बनाएर अत्याचार गरेको समेत उनले स्मरण गरे ।


‘एकले अर्कालाई सिद्ध्याउने संघर्षका नायक पनि हामी नै हौँ । कमरेड वामदेवलाई गृहमन्त्रीलाई बनाएर हामीलाई सिद्धयाउने पनि हामी नै हौँ ,’ उनले भने,‘कमरेड केपी ओलीसँग भूमिगत रुपमा ४ घण्टा छलफल भयो । एक आपसमा बुझ्ने कोशिस गर्यौँ ।’

सम्बन्धित खबर