
काठमाडौं, ३० माघ । चलचित्र ‘दि सेक्रेट्स अफ राधा’ मा अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठले एकसाथ काम गर्ने भएका छन् ।
विगत तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले यस अघि ‘पोइ पर्यो काले, माइकल अधिकारी, तीन जन्तु’ मा सगै काम गरेका थिए । अब उनीहरुलाई नयाँ चलचित्र ‘दि सेक्रेट्स अफ राधा’ मा पनि हेर्न पाइने भएको छ ।
चलचित्रको निर्माता सौगात आफैं हुन् । चलचित्रमा सौगात र सृष्टिसँगै खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्य देव पन्त, पुस्कर गुरुङलगायतका कलाकारहरुको अभिनय रहनेछ ।
दयाहाङ राई र निर्देशक तथा अभिनेता निश्चल बस्नेत पनि चलचित्रमा विशेष भूमिकामा देखिनेछन् ।
१५ दिन पालुङमा छायांकन गरेपछि निर्माण टिम बाँकी छायांकनका लागि काठमाडौं फर्किने तयारीमा छ ।
सामाजिक विषयवस्तुमा निर्माण हुने चलचित्रको निर्देशन सुवर्ण थापाले गरिरहेका छन् ।