काठमाडौं । नेपालमा महंगा विदेशी रक्सी बिक्री गर्दै आएका ग्रीनलाइन सेन्टर प्रालिका सञ्चालक अमित अग्रवाल र अभिषेक अग्रवालसहित अन्य संचालकको सम्पति लिलामी प्रक्रिया शुरु भएको छ । विभिन्न ५ वाणिज्य बैंकको एक अर्बभन्दा बढी रकम नतिरी फरार भएका उनीहरुको सम्पति लिलामी गर्न मेगा बैंकले सुचना निकालेको छ । आज एक दैनिक पत्रिकामा सम्पत्ति लिलामी गर्न ७ दिने सुचना प्रकाशन गरेको हो ।
अग्रवाल दाजुभाई बैंकको ऋण नतिरी भारत पसेपछि हाल कम्पनीको कान्तिपथ र दरबारस्थित दुबै शोरुम एक सातायता बन्द छन् ।
कम्पनीमा अभिषेक अग्रवाल प्रबन्ध निर्देशक र अमित अग्रवाल प्रमुख कार्यकारी अधिकृतका रुपमा जिम्मेवारी सम्हालेका थिए ।
जनकपुर घर स्थायी घर भएका अग्रवाल दाजुभाईले विभिन्न ५ वटा बैंकबाट लिएको १ अर्ब रुपैयाँ ऋण तिर्न बाँकी छ । अग्रवाल दाजुभाईलाई बढी ऋण दिएको नेपाल इन्भेष्टमेन्ट बैंक र एभरेष्ट बैंकले ग्रीनलाइनको पसलमा सूचना टाँस गरेका थिए ।
स्रोतका अनुसार मेगा बैंकले अग्रवाल परिवारलाई २५ करोड रुपैयाँ लगानी गरेको थियो ।
बैंकले प्रकाशन गरेको सुचनामा रजनी अग्रवाल, ओम प्रकाश अग्रवाल र उषा अग्रवालको नाम समेत छ । मेगा बैंकले एलाइन्स डिस्ट्रिब्युटर्स प्रा.लीको नाममा ऋण प्रवाह गरेको हो । मालपोत कार्यालय कलंकीमा दर्ता कायम रहेको काठमाडौं महानगरपालिका वडा नम्बर १३ स्थित कित्ता नम्बर १३५ को १०३ वर्गमिटर, कित्ता नम्बर ९३ को १५७ वर्गमिटर, कित्ता नम्बर १३४ को २ सय ७८ वर्ग मिटर र कित्ता नम्बर १३२ को १५८ वर्गमिटर क्षेत्रफलमा भएको घर जग्गा तथा चर्चेको जमिन लिलामीको सुचना निकालेको हो ।
बैंकले के कतिमा बोलपत्र खोलिने वा लिलामी गरिने भन्ने विषयमा भने खुलाएको छैन ।
ग्रिनलाइनका सञ्चालकहरुलाई बैंकले धितोको उचित मुल्यांकन बिना नै ऋण दिएको पाइएपछि राष्ट्र बैंकले समेत अनुसन्धान गरिरहेको छ ।