काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई लिएर सत्तारुढ दल भित्रै विभाजन देखिएको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एमसीसी जसरी भएपनि पास गर्ने पक्षमा छन् । यता सत्ताघटक माओवादी केन्द्र र एकीकृत समाजवादी संशोधन बिना एमसीसी पास गर्ने पक्षमा छैनन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने एमसीसीलाई राजनीतिक दाउ पेचको मुद्दा बनाउन अग्रसर देखिएको छ ।
समाचार स्रोतहरुले दिएको जानकारी अनुसार बिहीबार अमेरिकी सहायकमन्त्री डोनाल्ड लुले नेपालका नेताहरुलाई फोन गरेपछि एमसीसी पास गर्ने बारेमा नेताहरु दबाबमा परेका छन् । अमेरिकी सहायकमन्त्रीले फोन गरेकै दिन नेपाली काँग्रेसले एमसीसी पास गर्नुपर्ने निर्णय गरेको छ । कांग्रेस कार्यसमिति बैठकको निर्णय लगत्तै कांग्रेस भित्रै सभामुख विरुद्ध हस्ताक्षर अभियान नै चल्न थालेको हल्ला छ । जुन हल्लाको विषय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शेरबहादुर देउवालाई भेट्दा समेत उठाएका छन् ।
यता एमालेले २ गतेको संसद बैठकको दिन आफ्नो दलको कार्यक्रम परेको कारण सार्न भनेको छ । यसअघि संसद अवरुद्ध गरेर सभामुख विरुद्ध चर्को नाराबाजी गर्ने गरेको एमालले त्यहीदिन भने नाटकीय रुपमा संसदमा उपस्थित हुन नसक्ने जानकारी गराएको छ ।
‘यो त एमालेको घिनलाग्दो खेल हो । यसअघि संसद बैठक अवरुद्ध गरेरै भत्ता खाएकाहरुले फेरी एमसीसी पास गराउन यतिसम्म गर्दैछन्,’ उच्च स्रोतले भन्यो ।
तर, प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी संसद्मा टेबुल गर्ने पक्षमा देखिएपछि एमाले उपस्थित नभए पनि टेबुल हुने तथा संसद बैठकमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका केही नेता संसदमा मौन बसेर उपस्थित संख्याको बहुमतले पास गर्ने योजना रहेको स्रोतको दाबी छ । जसपाको बाबुराम भट्टराई पक्ष एमसीसीको पक्षमा उभिने उपेन्द्र यादव समुह पक्ष र विपक्ष कतै पनि नलाग्ने देखिएको छ ।