काठमाडौं । आगामी वैशाख ३० गतेको लागि घोषित स्थानिय तहको निर्वाचनका लागि निर्वाचन आयोगले खरिदको ठेक्का पट्टा शुरु गरेको छ । निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र खरिदको ठेक्का एक कम्पनिलाई दिएको छ ।
शनिबार प्रकाशित सुचना अनुसार निर्वाचन आयोगले ११ करोड ४० लाख ६२ हजार २ सय रुपैयाँको ठेक्का एमएस ग्याविओनेट इन्भाइरोमेन्ट सोलुशन प्राली (जिइएस) लाई दिएको छ । तर, यो ठेक्कामा सेटिङ गरेको आरोप लागेको छ ।
निर्वाचन आयोगका आयुक्त ईश्वरी प्रसाद पौड्यालको निर्देशन तथा सेटिङमा नर्भिक अस्पताल र खुकुरी रमका मालिक समेत रहेका बसन्त चौधरीको स्वामित्व रहेको ग्याबियोनेटलाई उक्त ठेक्का दिएको हो ।
स्रोतका अनुसार आयोगले गठन गरेको मुल्यांकन समितिले उक्त कम्पनिलाई ठेक्का दिन नमिल्ने सिफारिस गरिएपनि पूर्व रक्षा सचिव समेत रहेका आयुक्त पौड्यालको ठाडो निर्देशनमा ठेक्का दिएको हो । प्राविधिक विशेषज्ञले अयोग्य भनेपनि पौड्यलले ठेक्का दिन निर्देशन दिएका थिए ।
यसअघि रक्षा सचिव हुँदा पौड्यालले पशुपति विस्कुटलाई नेपाली सेना विस्कुट खरिदको ठेक्का दिलाएका थिए । गुणस्तर तथा नापतौल विभाग समेतको मिलेमतोमा चौधरीलाई विस्कुटको ठेक्का दिलाइएको थियो ।
निर्वाचन आयुक्तको रुपमा पौडेलले नियुक्ती पाएपछि नै यो कम्पनिले आफ्नो प्रबन्ध पत्र तथा निमावली संशोधन गरेको पाइएको छ । कम्पनि रजिष्टार कार्यालय स्रोतले उपलब्ध गराएको कागजात अनुसार गत साउन ४ गते प्रबन्ध पत्र नियमावली संशोधन गरेको थियो ।
चौधरीले नर्भिक अस्पताल र खुकुरी रम नामक रक्सी उद्योग संचालन गर्दै आएका छन् ।