९५ रनमा पिएनजी अलआउट

आइसिसी विश्वकप क्रिकेट लिग–२

दियो पोस्ट  

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत पपुवा न्युगिनी (पिएनजी) ले नेपाललाई ९६ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पिएनजी ३२ ओभरमा ९५ रनमा अलआउट भयो।

पिएनजीका ओपनरद्वय किप्लिन डोरिगा २ रन र हिरी हिरी १४ रनमा आउट भए। डोरिगालाई ललित राजवंशीले चौथो ओभरको चौथो बलमा बोल्ड गरेका थिए। हिरी हिरीलाई भने सोमपालले सातौ ओभरमा करण केसीबाट क्याच गराए।

खराब सुरूआत गरेको पिएनजीले १४ ओभरमा ४९ रन जोड्दा ३ विकेट गुमाएको थियो।

त्यसपछि सेसे बाउ १८ रन, कप्तान आसाद भाला २० रन र चर्ल्स अमिनी १६ रनमा आउट भएका थिए। तीनै जनालाई नेपालका सन्दीप लामिछानेले आउट गरे। बाउ बोल्ड हुँदा भाला र अमिनी क्याच आउट भए।

रिली हेकुरेले ४ रन जोडे। उनलाई ललितले आउट गरे। नोर्भान भानुआ शून्यमा कुशल मल्लको बलमा दिपेन्द्रसिंह ऐरीबाट क्याच भए। यस्तै सन्दीपले हिला भारेलाई ९ रनमा बोल्ड गरे। यस्तै कुशलले काबुआ मोरियालाई पनि १ रनमा आउट गरे।