दाङ । दाङको बबई नगरपालिका २ रामपुरका प्रेम कुमार डाँगी यतिबेला न्यायको लागि भौतारिरहेका छन् । वैदेशिक रोजगारीको नाममा ठगीमा परेका डाँगीको पक्षमा उच्च अदालतबाट फैसला भएपनि दोषी भने अझै पक्राउ पर्न सकेका छैनन् ।
वैदेशिक रोजगारीको लागि युरोपेली मुलुक ग्रिस पठाइदिने भन्दै एजेन्टको भूमिकामा रहेका बाग्लुङका झलक बहादुर पुनले पीडित डाँगीबाट सात लाख नगद लिएका थिए । सात लाख लिएपछि एजेन्ट पुन केहि समय फोन सम्पर्कमा रहेका थिए । फोन सम्पर्कमा टुटेको केहि महिनायता उनी सम्पर्कबिहिन छन् ।
यता पिडित डाँगीले आफु ठगिमा परेको चाल पाएपछि अपराध महाशाखा टेकुमा मुद्धा दर्ता गरेका थिए । उक्त मुद्धा उच्च अदालत पाटनसम्म पुगेको थियो । उच्च अदालत पाटनले पीडित डाँगीको पक्षमा फैसला गरेको थियो भने नेपाल प्रहरीले एजेन्ट पुनलाई हालसम्म पक्राउ गर्न सकेको छैन ।
यसरी परे ठगीमा
वैदेशिक रोजगारीको शिलशिलामा १० वर्ष लामो समय मलेसियामा बिताएका पीडित डाँगी काठमाडौमा सानोतिनो जागिरको खोजीमा निस्कन्छन् । सोहि क्रममा झन्डै दुई वर्षअघि काठमाडौको कलंकीस्थित कल्याण होस्टेलमा खाना पकाउने र भाडा माँझ्ने काम सुरु गर्छन् । त्यसबापत उनले मासिक पारिश्रमिक १५ हजार पाउथे भने होस्टेलले निःशुल्क खाने र बस्ने व्यवस्था मिलाइदिएको थियो ।
होस्टेल मालिकसँग चिनजान भएका बाग्लुङका एजेन्ट झलक बहादुर पुन र उनीसँग अर्को एकजना व्यक्तिको होस्टेलमा आवतजावत भइरहन्थ्यो । सोहि क्रममा एजेन्ट पुन र पिडित डाँगीविच पनि चिनजान भयो । चिनजानको क्रममा पुनले वैदेशिक रोजगारको लागि नेपाली नागरिकलाई युरोपेली मुलुक ग्रिस पठाउने र त्यहाँका कम्पनीहरुमा आकर्षक तलब सुविधा हुने लोभ देखाउछन् । पीडित डाँगी पनि त्यहि लोभको शिकार हुन्छन् । ‘मैले युरोप पठाउँछु, राम्रो ठाउँ, राम्रो तलब सुविधा छ । मासिक दुइतीन लाख हुन्छ भनेर लोभ्याए’ पिडित डाँगी सुनाउँछन्, ‘अर्काको भात पकाई भाडा माझेर महिनामा १५ हजार कमाउनेलाई दुइतीन लाखको सपना देखाएपछि म पनि लोभिए ।’
डाँगीलाई सुरुमा एजेन्ट पुन सोझो र भद्रझै लाग्यो । उनी एजेन्टले भनेझै गर्न थाले । चिनजानपछि लोभ देखाएको केहि महिनाको अन्तरालमा डाँगीले एजेन्टलाई आफ्नो पासपोर्ट र आवश्यक कागजात सबै बुझाए । त्यसबापत डाँगीले सुरुवाती चरणमा १ लाख रकम आइएमईमार्फत एजेन्टको नाममा पठाए । १ लाख हात पारेका एजेन्टले डाँगीलाई विश्वस्त पार्न नक्कली भिषा पनि देखाए र थप रकम मागे । भिषा लागेको खुसीमा उनी थप रकम जुटाउन थाले । झन्डै दुई महिनाको अन्तरालमा उनले छ लाख जम्मा गरे । यतिन्जेल पनि डाँगीले आफु ठगिएको चाल पाएका थिएनन् ।
‘मैले सबै रकम जम्मा गरेको चाल पाएर होला फ्लाइटको मिति पक्का भइसकेको भन्दै दलालले मेडिकल र शपिङ गर्न पठायो’ पिडित डाँगी सुनाउँछन्, ‘पैसा लिन लिन दुइजना बाइकमा आए । एउटा सामान्य रेष्टुरेन्टमा भेटेर पाँच लाखको चेक र डेढलाख जति नगद दियौँ । उनीहरुले पैसा नगनेर झोलामा हालेर हिडे । म पनि आफ्नो बाटो लागे । पैसा बुझाएर मैले मेडिकल र शपिङ पनि गरे । टिकट खै भनेर सोध्दा, आजभोली भनेर टार्न थाल्यो ।’ अब भने उनको मनमा चिसो पस्यो । नगद बुझाएको कैयौ हप्तासम्म फ्लाइट टिकट नपाएपछि बल्ल उनले आफु ठगिएको चाल पाए ।
काम नबने भए रकम फिर्ता गर्न उनले एजेन्टसँग पटकपटक माग गरे । एजेन्टले पनि उनलाई चेक दिए । तर त्यो ब्ल्यांक चेक थियो । उक्त चेक मोरङका भीम कुमार लिम्बुको नाममा थियो । हातमा ब्ल्यांक चेक भएका डाँगीले आफ्नो रकम फिर्ता हुने आश अझै मारेका थिएनन् । प्रत्यक्ष भेट नभएपनि एजेन्टसँगको फोन सम्पर्क भने टुटेको थिएन । तर एजेन्टसँग फोन सम्पर्क पनि टुटेपछि भने पिडित उनले चेक बाउन्सको प्रक्रिया अघि बढाए ।
मुद्धाको फैसला उनकै पक्षमा भएपनि दोषी हालसम्म पक्राउ नहुँदा आफु थप पीडित बनेको उनी बताउँछन् । ‘फोन सम्पर्क गर्दा कहिले पेप्सीकोला बोलाउछ, कहिले कोटेश्र कहिले खहरे बोलाउँछ’ डाँगी सम्झन्छन्, ‘उसले बोलाको ठाउँमा पुग्यो, दिनभर कुर्यो घाम ताप्ने र फर्किने भयो । यसरी पाँच/ छ महिना बित्यो । उसँग भेट हुने आश मर्यो र टेकुमा गएर चेक बाउन्सको मुद्धा हाले । टेकुले मालिगाउँ पठायो र मालिगाउँबाट उच्च अदालत पाटनमा पुग्यो । पाटनले मेरै पक्षमा पाँच पेज लामो फैसला सुनायो । तर पनि त्यो व्यक्तिहरु अझै पक्राउ परेनन् । यसले थप पिडा दिन्छ ।’
फैसलाअनुसार दोषीले १४ लाख रकम बुझाउनुपर्ने उल्लेख छ । अदालतबाट फैसला भएको दुई महिना बितिसक्दा पनि दोषी झलक बहादुर पुन र भीम कुमार लिम्बुलाई सरकारले फरार सूचीमा राखेको छ । फरार व्यक्तिलाई सम्पर्कमा आएर सहयोग गरिदिन डाँगीको आग्रह छ । उनी भन्छन्, ‘उहाँहरु ज्ता भएपनि भागेर बस्नुभन्दा सम्पर्कमा आउँनु भन्छु । एकमुष्ट त्यत्रो रकम बुझाउन नसके किस्ताबन्दीमै भएपनि पैसा बुझाइदिए हुन्छ ।’
एजेन्टलाई बुझाउन डाँगीले सात लाख रकम विभिन्न व्यक्तिबाट ऋण लिएका थिए । हाल उक्त ऋण र त्यसको ब्याजले उनलाई थप पीडित बनाएको छ । डाँगीको चार सदस्यीय परिवार छ ।
भिडियो