काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आफूलाई धोका दिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी दिएका छन् ।
प्रधानमन्त्रीले धोकाधडीको राजनीति सुरु गरेको भन्दै उनले यो यहीं नटुंगिने चेतावनी दिएका हुन् ।
कांग्रेस पूर्वमहामन्त्री समेत रहेका सिटौला, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखकलाई लिएर आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।
पार्टीको कार्यकारी पदमा समेत नबसेर शान्त तरिकाले बसिरहेको व्यक्तिलाई राष्ट्रिय सभामा ल्याएर गम्भीर धोका दिएको सिटौलाको गुनासो छ । ‘राष्ट्रिय सभाको अध्यक्ष बन्नुपर्दछ भनी सबभन्दा पहिले तपाईंले भन्नुभएको हो’, सिटौलाको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले भने, ‘तपाईंले राष्ट्रिय सभा अध्यक्ष हुँदैन भनेको भए म राष्ट्रिय सभाको सदस्य मात्रै हुने गरी उठ्ने थिइनँ ।’
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा दुबै सहमत भएपछि राष्ट्रिय सभा अध्यक्ष बन्ने तयारीका साथ सिटौलालाई राष्ट्रियसभामा आएका थिए । ११ माघमा भएको राष्ट्रिय सभा निर्वाचनमा कोशीबाट सिटौला तत्कालिन कांग्रेस–माओवादी गठबन्धनको बलमा निर्वाचित भएका थिए ।
प्रधानमन्त्री प्रचण्डले २१ फागुनमा गठबन्धन फेरेसँगै सिटौला राष्ट्रिय सभा अध्यक्ष बन्ने बाटो बन्द भएको छ । उनले प्रचण्डलाई भनेका छन्, ‘पार्टीलाई धोका त भयो भयो, व्यक्तिगत रूपमा पनि ममाथि धोकाधडी भयो।’।’
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी विधेयक) का नाममा ओलीलाई बोलाउँदै नयाँ सत्ता समीकरण बनाउने काम गरेको उनको गुनासो छ ।
‘मलाई र कांग्रेसलाई नै तपाईंले धोका दिनुभयो, अब सजिलो गरी चल्छ भन्ने नसोच्नुहोला,’ प्रधानमन्त्री दाहाललाई यत्ति भनेर सिटौलासहित कांग्रेसका नेताहरू बालुवाटारबाट निस्किए।