दुबईमा सिआइबीको अधिकारी हुँ भन्दै आतंक : कुटपिटदेखि चन्दा असुलीसम्म

दियो पोस्ट डेस्क  

युएई । आफूलाई प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो (सीआईबी)को अनुसन्धान अधिकारी हुँ भन्दै एक व्यक्तिले दुबईमा विभिन्न व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गरेको खुलेको छ । नेपालको रामेछाप घर भएका सुनिल चालिसे नाम गरेका व्यक्तिले विभिन्न व्यक्तिबाट लाखौँ रकम असुली गरेर फरार भएको पीडितहरुले दियोपोस्टसमक्ष गुनासो गरेका छन् ।

दुबईमा भिजिट भिषाको नाममा मानव तस्करी गरेको अभियोग लागेका व्यक्तिहरुलाई नियन्त्रणमा लिने र उनीहरुबाट लाखौँ रकम असुल्ने गरेको पाइएको छ । रकम असुलेपछि चालिसे सम्पर्क विहिन भएको उनीहरुको दाबी छ ।

गोरखा घर भएका एक व्यक्तिबाट चालिसेले १ लाख ७० हजार रुपैयाँ असुलेका छन् । त्यस्तै प्रजिल पराजुली नाम गरेका व्यक्तिबाट पनि उनले सिआइबीको अधिकारी हुँ भन्दै रकम असुलेका छन् । उनले नेपालमा विजय श्रेष्ठको नाममा रकम जम्मा गर्न लगाएका छन् ।

चालिसेले आफूलाई सिआइबीको अधिकारी हुँ भन्दै सुतेकै ठाउँमा आएर कुटपीट गरेको जेशन रसाइलीले बताए । ‘मबाट पैसा पनि १० हजार दिराम लगेको छ । मलाई कुटपिट पनि गरेको छ । मेरो आमा बाबुलाई पनि टर्चर दिएको छ,’ जेशनले दियोपोस्टसँग भने,‘उसले सिआइबीको हाकीम, दियोपोस्टकर्मी र अन्य व्यक्तिलाई समेत मिलाउनुपर्छ भनेर मबाट पैसा लिएको हो ।’

चालिसेलाई यस विषयमा प्रश्न गर्न पटक पटक सम्पर्क गर्दा उनले फोन भने उठाएनन् । भ्वाइस म्यासेज मार्फत पठाएको प्रश्नको उत्तर समेत उनले दिन सकेका छैनन् ।

दुबईमा जेशन लगायत समुहले पीडित बनाएको भन्दै केही पीडितहरुले दियोपोस्टलाई सम्पर्क गरेका थिए । उनीहरुकै बयानका आधारमा समाचार प्रकाशन भएको थियो । समाचार प्रकाशन भएपछि चालिसे सहितको समुहले जेशन लगायतको समुह बसेकै ठाउँमा पुगेर आफूहरुलाई यातना दिएको पीडितहरुको दाबी छ । चालिसेले केही व्यक्तिलाई नेपालमै रकम उठाउन लगाएको भौचर समेत दियोपोस्टले फेला पारेको छ ।

त्यस्तै चालिसेले आफूहरुसँग सुनको सिक्री समेत लुटेर लगेको आरोप लगाएका छन् ।

अपडेट 

यसैबीच आफूलाई सिआइबीको अधिकारी हुँ भन्दै रकम असुलीको आरोप लागेका सुनिल चालिसेले आफूलाई एजेन्टहरुले फसाउन खोजेको बताएका छन् । दियोपोस्टको सम्पर्कमा आएका उनले यस्तो दाबी गरेका हुन् ।  आफूले कुनै पनि गल्ती नगरेको उनको भनाई छ ।