पर्दाभित्र देखाइने सैनिक परेड कसका लागि ? रेलिङमा चढेर हेर्नेलाई घोक्रेठ्याक…

दियो पोस्ट  

tudhikhel 2

 

काठमाडौं, फागुन २४ । फलामको अग्लो ‘बार’ भित्र खैरो रङ्गको ठूलो पर्दा (बार)  । त्यो भित्र पनि अर्को रातो रंगको अग्लो पर्दा त्यहि उचाइमा छ । भित्रबाट राष्ट्रिय गानको धून आइरहेको छ । आफ्नै राष्ट्र गानमा सेनाको परेड हेर्न भक्तपुरका रमेश श्रेष्ठ फलामको अग्लो वालमा चढे । तर प्रहरीले उनलाई ‘घोक्रेठ्याक’ लगायो । उनी हेर्न बल गर्दै थिए तर पाएनन् । उनी अमिलो मान्दै फर्किए । यो कारुणिक दृष्य ‘गणतान्त्रिक नेपालको’ नेपाली सेनाको सैनिक दिवसको हो । शिव रात्रिको दिन मनाइने नेपाली सेना दिवस जनताको लागि हुँदै होइन यो त कथित, ‘सामन्त’हरुको लागि देखाइने ‘जात्रा’ हो कि जस्तो भान हुन्छ ।
सेना दिवस मनाउनुको अर्थ सेनासँग भएको शक्ति जनतालाई देखाउनु वा प्रदर्शन गर्नु हो । तर नेपाली सेना दिवस सर्वसाधरणको लागि भने ‘कागलाई बेल पाक्यो हर्ष न विष्मात’ भने जस्तै भएको छ ।
वर्षेनी मनाइँदै आएको नेपाली सेना दिवसको कार्यक्रम हेर्नका लागि सिन्धुपाल्चोक घर भएका राजेन्द्र तामाङ सोमबार घरायसी कामको बाबजुद सैनिक मञ्चतिर आए । ठूल–ठूला पर्दाहरुले छेकेर देखाइएको घोडचढी नाच हेर्न फलामको वालमाथि चढे तर प्रहरीले तल झारिदियो । ‘सैनिक दिवस यसरी नै मनाउने हो भने, यो देशका ठूला बढा र नेताहरुको घरमै मनाए हुने नी ?’, तामाङ रिस पोख्दै थिए, ‘हामी जनताले देख्न नपाउने यो कस्तो सैनिक दिवस हो ?’
दोलखा घर भएका सदानन्द मैनाली आफ्नो नातीलाई समेत काँधमा बोकेर सैनिक परेड देखाउन सैनिक मञ्चमा आए । पश्चिमी गेटबाट मान्छेहरु भित्र छिरेको देखे । उनी पनि भित्र छिर्न खोजे तर सेनाले ‘धम्कीपूर्ण’ स्वरमा फर्काईदियो । किनकी उनीसँग भिआइपी प्रवेश पास थिएन । बाहिरबाट हेर्न खोजे खैरो पर्दा मात्रै देखे । ५ वर्षिय नाती बोकेर त्यो अग्लो फलामे ‘बार’ चढ्ने हिम्मत उनीमा आएन । फूटपाथ छेउमै महानगरपालिकाले रापेको विरुवा सुरक्षाको लागि राखेको फलामे बार माथि नातीलाइ राखे तर प्रहरीले त्यहाँबाट पनि हटाइदियो । मैनालीको नातीलाइ सैनिक परेड देखाउने धोको गर्भभित्रै तुहियो । ‘सेना देशको गौरव हो, तर गौरवपूर्ण सेनाले देखाएको परेड हामीले जनताले हेर्न नपाउनु कस्तो विडम्बना,’ मैनाली भन्दै थिए, ‘हामीले हेरेर के विग्रिन्थ्यो र ? हामीले यो फलामको बारबाट हेर्दा पनि ठूलाबढाको के विगन्थ्यो र यस्तरी छोपेको ?’
सैनिक मञ्चको रमाइलो हेर्न नपाएका सुनसरीका श्याम दाहालले दियोपोस्टसँग सरकारी कमजोरीको लिस्ट सुनाए । ‘सरकारले सुरक्षाका दृष्टिले आम नागरिकलाई सैनिक परेड हेर्न नदिनु भनेको सरकारको कमजोरी हो । सरकारले चाहेमा अहिले फलामको बारबाहिरबाट हेरीरहेका भन्दा दोब्बरको व्यवस्थापन गर्न सक्छ,’ उनी भन्दैथिए, ‘हरेक मान्छे नियम कानूनमा बस्छ । तर सरकारले सबैलाई परेड देखाउन चाहदैन । यो राजा महाराजाको प्रवृतिको पुनरावृत हो ।’
छोरो बोकेर सैनिक मञ्च आएकी ओखलढुङगाकी रमा कार्की सैनिक परेड हेर्न नपाउँदा निकै दुख लागेको बताउँछीन्, ‘यति ठूलो बारबाट कसरी परेड हेर्नु, छोरोले हेर्न पाइन भनेर पिरेको छ,’ उनले भनिन्, ‘एकपटक अरुको सहयोगमा बारमाथी चढाएको थिएँ तर प्रहरीले पिट्यो ।’
आफ्नै देशको सेनाको परेड जनताले हेर्न नपाएकोमा उनी निकै आक्रेशित बनिन् । ‘ यो कस्तो देश हो । सेनाले के गदै छ, कस्तो गदै छ हामीले हेर्न नपाउने ?’ प्रश्न गर्दै उनी भन्छिन्, ‘यस्तो त राजा महाराजाका पालामा पनि थियो ।’

सिफारिस