बाँके खजुरा, ८ चैत । कालीकोटमा विमान दुर्घटनामा ज्यान गुमाएका चालकको बाँके राँझा चोकमा सालिक राख्न पहल थालिएको छ ।
एयर काष्ठमण्डपको जहाज दुर्घटनामा ‘आफू मरेर यात्रु बचाउने’ चालक दिनेश न्यौपाने र सहचालक सन्तोष रानाको योगदानको कदर गर्दै चोक नामकरण तथा सालिक स्थापना गर्न सरकारलाई सिफारिस गरिएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थको अध्यक्षतामा सम्पन्न सर्वदलीय र सर्वपक्षीय बैठकले नेपालगन्ज–कोहलपुर सडकखण्डको राँझा विमानस्थलतर्फ जाने चोकमा दुवै जनाको सालिक स्थापना गर्न सिफारिस गरेको छ ।
नेपालगन्जबाट जुम्लाका लागि उडेको नाइन एनएजेभी जहाज कालीकोटको चिल्खाया–२ मा गत फागुन १४ गते दुर्घटनामा परेको थियो ।
जहाजमा प्राविधिक समस्या आएपछि आपतकालीन अवतरण गर्ने क्रममा नेपालगन्ज १६ कोरियनपुर निवासी २९ वर्षीय चालक दिनेश र पाल्पा स्थायी घर भई काठमाडौमा बस्दै आएका २७ वर्षीय सहचालक सन्तोषको मृत्यु भएको थियो । जहाजमा सवार अन्य नौजना यात्रुको भने ज्यान जोगिएको थियो ।
Anamnagar Kathmandu, Nepal Regd No : ५२१/२०७४–७५ Editor: Rita Budhathoki