बाबियाचौर म्याग्दी, ८ चैत । जिल्लाको सिङ्गाका कृषकले दूध बेचेर गाउँमा वार्षिक लाखौँ रुपैयाँ भित्र्याउने गरेका छन् ।
बेनी नगरपालिका– १३ र १४ मा पर्ने सिङ्गाका कृषकले दूधबाट पछिल्लो एक वर्षको अवधिमा रु पैँतालीस लाख भित्र्याएका हुन् । सिङ्गामा रहेको जनभावना दुग्ध सहकारी संस्थामा आबद्ध कृषकले दैनिक २५० लिटरका दरले दूध बिक्री गर्दै आएका छन् ।
कृषकबाट दूध सङ्कलन गरेर सदरमुकाम बेनीमा निकासी गर्दै आएको सो संस्थाले २०७१ चैतदेखि २०७२ साल फागुनसम्म ९१ हजार २५० लिटर दूध बिक्री गरेका छन् । कृषकबाट प्रतिलिटर रु ५० देखि रु ५३ का दरले दूध खरिद गर्दै आएको संस्थाले यही चैत महिनादेखि प्रतिलिटर रु पाँच मूल्य बढाएको अध्यक्ष कोपीलाल पौडेलले बताए।
उक्त संस्थामा आबद्ध ३३ जना कृषकले उत्पादन गरेको दूध सङ्कलन गरेर बिहान र बेलुकी सदरमुकाम बेनीका डेरीमा लगेर बिक्री गर्ने व्यवस्था मिलाइएको छ । एकजना कृषकले दैनिक ३० लिटरसम्म दूध बेच्ने गरेका छन् । दूध बेचेर एकजना कृषकले मासिक रु ७५ हजारसम्म आम्दानी गर्ने गरेका छन् ।
सहकारीले चार वर्षदेखि दूध सङ्कलन केन्द्र सञ्चालन गर्दै आएको छ । सङ्कलन केन्द्र स्थापना भएपछि दूध बेच्नका लागि दैनिक दुई घन्टा हिँडेर बेनी पुग्ने कृषकको समयको बचत भएको छ । दूध बेचेर भएको आम्दानी कृषकले सहकारीमा बचत गर्छन् । गाउँमै उचित मूल्यमा दूध बेच्न पाउँदा कृषक व्यावसायिक गाईभैसीपालनतर्फ आकर्षित भएको स्थानीय कृषक रमेश केसीले बताए ।
दुग्ध सङ्कलन केन्द्र सञ्चालन गर्न जिल्ला पशु सेवा कार्यालयले संस्थालाई उपकरण सहयोग गरेको हो।