ट्राफिक प्रहरीले गोप्य राखेको डिआइजी : जो नो पार्किङमा पार्किङ गर्दा कारबाहीमा परे

दियोपोस्ट संवाददाता

काठमाडौं, २० फागुन । सामाजिक सञ्जालमा एउटा तस्विर यतिबेला भाइरल बनिरहेको छ । कानुन कार्यान्वयन गराउने नेपाल प्रहरीका डिआइजीले नै ‘नो पार्कीङ’मा पार्किङ गरेपछि ट्राफिक नियमको उलंघन भएको भन्दै डा. समिर मणी दिक्षीतले सामाजिक सञ्जाल ट्वीटरमा उक्त तस्विर राखेका थिए । उनले तस्विर राखेको केही समयमा नै महानगरीय ट्राफिक प्रहरी महासाखाले उक्त गाडीको खोजी गरी कारबाही मात्रै गरेन २४ घण्टे पुर्जी नै काटिदियो ।


नर्भिक अस्पतालको अगाडी अपरान्ह साँढे चार बजे ती डिआइजीले ‘नो पार्किङ लेखेको ठाउँ अगाडी नै पार्किङ गरेका थिए । यसरी ट्राफिक नियम उलंघन गर्ने डिआइजी को थिए ? सबैलाई चासो बनिरहेको प्रश्नको उत्तर फेला परेको छ । यसरी ट्राफिक नियम उलंघन गर्ने प्रहरी प्रधान कार्यालयको महिला तथा बालबालिका सेवा निर्देशनालयमा कार्यरत डिआइजी हरि भक्त प्रजापति रहेको पाइएको छ ।


बा १ झ ६४०८ नम्बरको प्राडो गाडी चढ्दै आएका डिआइजी प्रजापतिका चालक छत्र बहादुर थापालाई महानगरीय ट्राफिक प्रहरी महासाखाले कारबाही गरिसकेको छ ।


प्रजापतिले चढेको गाडीलाई सोमबार ट्राफिक प्रहरीले ५ सय जरिवाना गराएको छ । प्रजापतिले उक्त गाडी चढ्दै आएको भएपनि ट्राफिक प्रहरीले भने चालकलाई मात्रै कारबाही गरेको छ । डिआइजी प्रजापतिको नाम समेत गोप्य राखेको छ ।


कारबाही पश्चात ट्राफिक प्रहरीले सामाजिक सञ्जाल ट्वीटर मार्फत नै कारबाही गरेको कागज पत्र सार्वजनिक गरेको थियो ।


भक्तपुरको मध्येपुरठिमि–६ घर भएका प्रजापतिलाई गृहमन्त्रालयले गत असोजमा डिआइजीमा बढुवा गरेको थियो ।


म विरामी भेट्न गएको थिएँ : डिआइजी प्रजापति


दियोपोस्टले उनको मोबाइल नम्बरमा सम्पर्क गर्दा आफूले बा १ झ ६४०८ नम्बरको गाडी चढ्दै आएको स्विकार गरे । उनले आफू नर्भिक अस्पतालमा विरामी भेट्न गएको स्विकार गरे ।