काठमाडौं, २३ फागुन । राजधानीको टोखामा भएको एक हत्या मुद्दामा महानगरीय प्रहरी बृत्त महाराजगञ्ज २३ लाख घुस काण्ड बाहिरिएसँगै एक एसएसपी समेत तानिएका छन् ।
१ पुस, २०७५ मा टोखामा अजिता मल्ल शाहीको हत्या भएपछि अनुसन्धानमा जुटेको महाराजगञ्ज प्रहरीले पीडकको पक्षबाट मुद्दा कमजोर बनाएर अदालतबाट छुटाउन सहज बनाईदिने भन्दै २३ लाख असुलेको सम्बन्धित पक्षले आरोप लगाएपछि महाराजगञ्ज वृत्त २३ लाख काण्डमा मुछिएको थियो ।
सोही काण्ड मिलाइदिन भन्दै हाल विमानस्थल प्रहरी कार्यालयमा कार्यरत प्रहरी बरिष्ठ उपरिक्षक एसएसपी सन्दिप भण्डारीले महाराजगन्ज बृतका डिएसपी फणिन्द्र प्रसाईलाई फोन गरेको स्रोतको दाबी छ ।
स्रोतका अनुसार महाराजगन्ज प्रहरी कार्यालयको हिरासत कक्षमै ब्ल्याकमेलिङ भएको थियो ।
विचौलिया भनिएकी कमला खरेल भण्डारी सन्दीप भण्डारीलाई भेट्न गएको र त्यहाँबाटै एसएसपी भण्डारीले डिएसपी प्रसाईलाई फोन गरिदिएपछि एसएसपी भण्डारी विवादमा तानिएका छन् ।
डिएसपी प्रसाईले ‘आफ्नो विश्वास पात्र प्रहरी निरिक्षक दिनेश भण्डारी भएको र उसैले सबै मिलाउने’ भन्दै कमला खरेललाई पठाएका थिए । स्रोतका अनुसार महानगरीय प्रहरी आयुक्त कार्यालयको छानबीनमा परेका प्रहरी निरिक्षक भण्डारीले आफू मुद्दा शाखामा नरहेको बयान दिँदै आएका छन् ।
हत्यामा समलग्न रहेको अभियोगमा प्रहरीले भगवति मल्ल सहित चार जनालाई पुर्पपक्षका लागि थुनामा राखेको छ ।
अनुसन्धानको क्रममा आरोपितको श्रीमान् तथा हत्या भएकी अजिता मल्लको प्रेमी मानिएको धर्मराज शाहीले जेठी सासुनाता पर्ने भगवती मल्ललाई घटनाको जिम्मा लिने भन्दै पुस २ देखी ३० गतेसम्म वृत्तका ईन्स्पेक्टर भण्डारीसँग मिलेर मानसिक तनावसम्म दिने गरेको पीडक पक्षले बताएका थिए ।
उक्त मुद्दामा मुख्य आरोपी बिष्णुमाया मल्ल, उनको दिदी भगवती मल्ल, भतिजो नाता पर्ने गाण्डीपराज मल्ल र गाण्डीपको महिला साथी रिता केसीलाई महाशाखाले पक्राउ गरेको थियो । बेलुकाको ८ बजेदेखि १० बजेको समयमा धर्मराजले ईन्स्पेक्टर भण्डारीसँगै हिरासत कक्षमा गएर घटनाको जिम्मा नलिए थुना मुक्त भएपछि तेरो बलात्कार गरेर हत्या हुनसक्छ भन्दै धम्क्याउने गरेका थिए । उक्त घटनाको साक्षी हिरासतमा रहेका अन्य व्यक्ति पनि भएको स्रोत बताउँछ ।
ईन्स्पेक्टर भण्डारीले आफू पूर्वमन्त्री हस्तबहादुर मल्लको मीतछोरा भएको र मुद्दा शाखामा कार्यरत प्रहरी नायब निरीक्षक पनि आफ्नो नातेदार रहेको भन्दै कमला खरेल भण्डारीमार्फत् हत्याको आरोपित बिष्णुमाया मल्लको भिनाजु राजबहादुर शाहीलाई मुद्दा मिलाईदिने भन्दै प्रभावमा पारेका थिए ।
ईन्स्पेक्टर भण्डारीको प्रभावमा परेर राजबहादुर शाहीले जेठानको जेठीसासु कमला खरेल भण्डारीलाई दश लाखको चेक, दश लाख नगद र पटक–पटक गरेर तीन लाख नगद गरी जम्मा २३ लाख दिएका थिए । उनले उक्त पैसा लण्डनमा रहेको नाताले जेठानी पर्ने दमन्ता खरेलसँग मगाएका थिए । तर, हत्या अभियुक्त चार जनालाई नै जिल्ला अदालत काठमाडौंले मुद्दा पुर्पक्षको लागी थुनामा राख्ने आदेश दिएपछि घुस प्रकरणको रहस्य खुलासा भएको हो ।
ईन्स्पेक्टर भण्डारीले कमला खरेल भण्डारीमार्फत् उक्त पैसा लिएका थिए । यस मुद्दामा बिचौलियाको भूमिका निर्वाह गरेकी कमलाले शाहीसँग २३ लाख पैसा बुझेपनि प्रहरीलाई कति बुझाइन् भन्ने कुरा अहिलेसम्म खुल्न सकेको छैन । आफ्ना चारजना नातेदार नै पुर्पक्षको लागी थुनामा परेपछि शाहीले कमलासँग २३ लाख रुपैयाँको हिसाब–किताब मागेका थिए । तर, कमलाले प्रहरी, वकिल र अदालत मिलाउँदैमा सकियो भन्दै सम्पर्कबिहीन भएपछि शाही वृत्तका ईन्स्पेक्टर भण्डारी भेट्न पुगे ।
सुरुमा भेट्न आनाकानी गरेका भण्डारीले शाहीलाई बृत्तमा नभेटी बाहिर भेटेका थिए । सो भेटमा आफूले पैसा नखाएको खाएको प्रमाणित भए झुण्डिएर मर्ने भन्दै कमलालाई पक्राउ गर्ने भण्डारीले बताएका थिए ।
भेटघाटको क्रममा कमलाले पैसा लिएको बैंक स्टेट्मेन्टसमेत शाहीले देखाएका थिए । भण्डारीले तत्काल कमलालाई पक्राउ गर्ने आश्वासन दिए पनि उनी आफैँ ६ दिनपछि बिदामा बसेका थिए ।
कमलालाई खोज्नु त परै जाओस् लोकन्थलीबाट डेरा सर्न लगाएर गायब बनाएको आरोपसमेत यतिबेला ईन्स्पेक्टर भण्डारीलाई लागेको छ । भण्डारीको नियतमा शंका लागेपछि शाही वृत्तका डिएसपी फणिन्द्र प्रसाईको शरणमा पुगे । तर डिएसपी प्रसाईले सबै प्रमाण हेरे पनि उक्त २३ लाख काण्डलाई हल्का रुपमा लिँदै उल्टै ढाकछोप गर्न खोजेपछि उक्त काण्डमा डिएसपी प्रसाईकोसमेत मिलोमतो बुझीएको थियो ।
डिएसपी प्रसाईले २३ लाख काण्डकी बिचौलिया कमला खरेल भण्डारीलाई नचिन्ने बताए पनि कमला भने डिएसपी प्रसाईको फेसबुकको ‘फ्रेन्ड लिस्ट’मा रहेकी छिन् । यति ठूलो काण्ड आफ्नो वृत्तमा चलेको प्रहरी सर्कलमा हल्ला चले पनि डिएसपी प्रसाई भने उक्त घटनाको छानबिन र प्रहरीलाई पैसा दिएको आरोप लगाउने कमलालाई पक्राउ गरेर अनुसन्धान गर्न भने चाहदैँनन् ।
२३ लाख काण्डको हल्ला काठमाडौं परिसरदेखी आईजी सचिवालयसम्म पुगेपछि डिएसपी प्रसाईं भने गोप्य रुपमा पैसा फिर्ता गराउने योजनामा लागेका छन् । स्रोतका अनुसार डिएसपी प्रसाईले बिदामा बसेका भण्डारीलाई केही दिन अगाडी बोलाएर उक्त बिषयमा गोप्य छलफल गरेका थिए ।
डिएसपी प्रसाईको कार्यक्षेत्रमा कमाण्ड गर्न असफल !
राजधानीको महाराजगञ्ज क्षेत्रमा एक साताभित्रै तीन स्थानमा चोरी बढेपछि महाराजगञ्ज बृत्तका प्रमुखलाई महानगरिय प्रहरी परिसरका प्रमुख एसएसपी बसन्तकुमार लामाले बुधबार दिउसो बोलाएर स्पष्टिकरण लिएका छन् ।
महाराजगञ्ज बृत्तका प्रमुख डिएसपी प्रसाईको कमजोर कमाण्ड क्षमताका कारण चोरी डकैती बढेकोप्रति एसएसपी लामाले सोधपुछ गरेका हुन् ।
फागुन १५ गते दिउसो टोखा नगरपालिका ६ धापासीस्थित देवराज थापाको घरमा चोरी हुँदा ४ लाख ८६ हजारको गरगहना, २१ गते दिउसो धुम्बाराहीमा दिपक श्रेष्ठको घरमा रहेको कृष्ण चौलागाईको हार्डवेयर पसल चोरी गरी ५ लाख बराबरको सामान र नगद तथा २२ गते बासबारी पिपलबोट स्थित गोविन्द मगरको घरमा बस्ने सम्झना थापाको कोठामा एक लाख १ हजार बराबरको सुनाका गहना र अन्य सामान चोरी हुँदा पनि महाराजगञ्ज प्रहरीले अहिलेसम्म चोरको सुराक पाउन सकेको छैन ।