सशस्त्रको भर्नामा नयाँ व्यवस्था : अब गण र गुल्मबाट पनि आवेदन दिन सकिने

दियोपोस्ट संवाददाता

काठमाडौं, फागुन २८ । सशस्त्र प्रहरी बलले खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने रिक्त पदमा आवेदन दिन चाहने इच्छुक व्यक्तिको सहजताका लागि यो पटकदेखि नयाँ व्यवस्था गरेको छ । नयाँ व्यवस्थाअनुसार इच्छुक व्यक्तिले अबदेखि आफूलाई नजिक पर्ने सशस्त्र प्रहरीको कुनै पनि गुल्म, गण, तालिम, केन्द्र र बाहिनीमा आवेदन दिन सक्नेछन् ।

यसअघि सशस्त्र प्रहरी बलले प्रधान कार्यालय र पाँचवटा बाहिनी कार्यालयबाट मात्र आवेदन लिने गथ्र्यो ।

सशस्त्र प्रहरी बल भर्ना तथा छनोट शाखाका प्रमुख डीएसपी दिग्विजय सुवेदीका अनुसार, अब हिमाली जिल्ला मनाङ, मुस्ताङ, मुगु, डोल्पा, रसुवा र हुम्लासहित सात, पहाडी जिल्ला ३० र तराईका २१ गरी ५८ जिल्लाबाट फाराम वितरण र संकलन गरिने छ ।

यो नयाँ व्यवस्थाले योग्यता पुगेका इच्छुक व्यक्तिले आफू बस्दै आएको ठाउँ नजिक रहेको तोकिएको सशस्त्र प्रहरी कार्यालयमा आवेदन दिन सक्नेछन् । यसबाट उनीहरूको समय र आर्थिक भारसमेत बचत हुनेछ । साथै यो नयाँ व्यवस्थाले विगतको तुलनामा आवेदन दिनेको संख्या पनि बढ्न सक्ने सशस्त्र प्रहरी बल प्रधान कार्यालयको विश्वास छ ।

सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता डीआईजी सुरज श्रेष्ठका अनुसार भर्नामा सबैको पहुँच सुनिश्चित गर्न पनि नयाँ व्यवस्था गरिएको हो । उनका अनुसार योग्यता पुगेका इच्छुक व्यक्तिले विगतमा भोग्नुपरेका समस्यालाई मध्यनजर राख्दै नयाँ व्यवस्था गरिएको हो । प्रवक्ता श्रेष्ठले भने, ‘बढीभन्दा बढी आवेदन परोस् र प्रतिस्पर्धा पनि होस् भनेर नयाँ व्यवस्था गरिएको हो । नयाँ व्यवस्थाबाट इच्छुक व्यक्तले आफू नजिक रहेको तोकिएको सशस्त्र प्रहरी कार्यालयबाट फाराम लिएर बुझाउन सक्नेछन्, यसबाट उनीहरूको समय र आर्थिक भारमा समेत बचत हुनेछ ।’

सशस्त्र प्रहरी बलले गत २२ भदौमा एक हजार ९३६ जवानका लागि भर्ना आह्वान गरेकोमा १ हजार २१२ जना मात्रै अन्तिम नतिजामा उत्तीर्ण हुन सफल भएका थिए । यो नयाँ व्यवस्थाले आवेदन पनि बढी पर्ने र प्रतिस्पर्धा पनि चर्को हुने हुनाले यस्तो समस्या नआउने सशस्त्र मुख्यालयको विश्वास छ ।

नयाँ व्यवस्थामा सशस्त्रका स्थायी गण र गुल्मबाट फाराम संकलन गरिए पनि परीक्षा भने ती ठाउँबाट दिन पाइँदैन । परीक्षा भने सशस्त्र प्रहरी प्रधान कार्यालय, बाहिनी र तालिम शिक्षालयबाट लिने गरी व्यवस्था मिलाइएको छ ।

काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, रसुवा, चितवन र मकवानपुरमा फाराम भरेका इच्छुक व्यक्तिले सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोक काठमाडौंमा परीक्षा दिने व्यवस्था मिलाइएको छ ।

यस्तै, सुनसरी, इलाम, झापा, मोरङ, उदयपुर, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, भोजपुर, धनकुटा र खोटाङकाले नम्बर १ बराह बाहिनी पकली सुनसरीबाट, महोत्तरी, सप्तरी, सिराहा, धनुषा, सर्लाही, रौतहट, बारा र पर्साकाले नम्बर २ छिन्नमस्ता बाहिनी बर्दिबास महोत्तरी र कास्की, तनहुँ, पर्वत, गोरखा, स्याङ्जा, मनाङ र मुस्ताङकाले नम्बर ४ मुक्तिनाथ बाहिनी पोखराबाट परीक्षा दिने गरी व्यवस्था मिलाइएको छ ।

सुर्खेत, जुम्ला, मुगु, डोल्पा, पश्चिम रुकुम र हुम्लामा फाराम भरेकाले नम्बर ६ महेश्वरी बाहिनी सुर्खेतबाट, कैलाली, डोटी, कञ्चनपुर, अछाम, दार्चुला, बैतडी र डडेलधुराकाले नम्बर ७ वैद्यनाथ बाहिनी अत्तरिया कैलालीबाट परीक्षा दिन सक्नेछन् ।

यस्तै, कपिलवस्तु, पश्चिम नवलपरासी, रुपन्देही, दाङ, पूर्वी नवलपरासी, पाल्पा, अर्घाखाँची र गुल्मीकालाई सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाट र बाँके र बर्दियाकालाई सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता, बाँकेमा परीक्षा लिने व्यवस्था मिलाइएको छ ।

सशस्त्र प्रहरी बलले अहिले ३ हजार २९७ जना सशस्त्र प्रहरी जवान पदका लागि आवेदन संकलन गरिरहेको छ । जसमा खुलातर्फ १ हजार ७७७, समावेशी महिलातर्फ २९७, समावेशी आदिवासी÷जनजातितर्फ ४७५, दलिततर्फ २२२ र पिछडिएका क्षेत्रतर्फ ७४, अमर, अशक्त सशस्त्र प्रहरी कर्मचारीका सन्ततिबाट ३६ जनाको कोटा छुट्याइएको छ ।

सशस्त्र प्रहरीले खुलाबाट ५५ प्रतिशत र समावेशीबाट ४५ प्रतिशत हुने गरी भर्ना गर्ने गरेको छ । समावेशीतर्फ पनि ४५ प्रतिशतलाई ७ प्रतिशत मानिएको छ । जसमा महिलालाई २०, आदिवासी÷जनजाति ३२, मधेसी २८, दलित १५ र पिछडिएको क्षेत्रलाई ५ प्रतिशत छुट्याइएको छ । समावेशीमा आवेदन दिएकाले खुलातर्फ पनि आवेदन दिनसक्ने गरी व्यवस्था मिलाइएको छ ।

यसरी गरिन्छ भर्ना छनोट प्रक्रिया

सशस्त्र प्रहरी बलले भर्ना छनोट प्रक्रियालाई पारदर्शी र त्रुटिरहित बनाउन भरमग्दुर सचेतता अपनाउने गरेको पाइएको छ । सशस्त्रले सशस्त्र प्रहरी सेवा आयोगका अधिकृत प्रतिनिधिहरूको अनिवार्य उपस्थितिमा मात्र परीक्षा सञ्चालन गर्ने गरेको छ । भर्ना छनोटलाई निष्पक्ष बनाउने अभिप्रायले उनीहरूलाई अनुशिक्षण तालिमसमेत प्रदान गर्ने गरिएको छ । परीक्षा सञ्चालन गर्ने स्थानमा सीसी क्यामरा जडान गर्ने गरिएको छ भने परीक्षार्थीहरूको फारम संकलन गर्दा नै उनीहरूको ‘बायोमेट्रिक एटिन्डेन्स’ हाजिर गराएर मात्रै प्रवेश गराउने गरिएको छ ।

यस्तै, भर्ना छनोट कार्यमा खटिने सशस्त्र प्रहरी कर्मचारीहरूलाई छुट्टै प्रवेश पासको व्यवस्था गर्ने गरिएको छ । भर्ना छनोट प्रक्रिया चलिरहँदा त्यहाँ अन्य सशस्त्र प्रहरी कर्मचारीलाई प्रवेश निषेध गर्ने गरिएको छ ।

साथै छनोटमा खटिने कर्मचारीहरूका लागि आचारसंहिता नै तयार गरिएको छ । छनोट अवधिभर उनीहरूले मोबाइलसमेत प्रयोग गर्न नपाउने व्यवस्था गरिएको छ । सशस्त्र प्रहरी सेवा आयोगका पदाधिकारीले छनोट परीक्षाका बखत निगरानी गर्ने व्यवस्था पनि गरिएको छ ।

आफ्नो नतिजाप्रति असन्तुष्टि जनाउने परीक्षार्थीहरूलाई सेवा आयोगका अधिकृत प्रतिनिधिबाट काउन्सिलिङको पनि व्यवस्था गरिएको छ । अनुत्तीर्ण हुने परीक्षार्थीलाई मन्जुरीनामा गराई जुन स्टलमा अनुत्तीर्ण भएको हो, सोही स्टलमा अनुत्तीर्ण गराई प्रवेशपत्र खिच्ने व्यवस्था गरिएको छ ।

परीक्षा समाप्त भएपश्चात् परीक्षा सञ्चालन भएकै स्थानमा ग्राउन्डमा नै नतिजा तथा खेस्रासमेत नतिजा प्रकाशनका लागि समितिसमक्ष खोल्ने गरी सिलबन्दी लाहाछाप गरी राख्ने गरिएको छ ।

भर्ना धमाधम

सशस्त्र प्रहरी महानिरीक्षक ९आईजीपी० शैलेन्द्र खनालले आफूले सशस्त्रको नेतृत्व सम्हालेपछि भर्ना छनोट प्रक्रियालाई तीव्रता दिँदै आएका छन् ।

आईजीपी नियुक्त भएको तीन सातापछि २१ वैशाख २०७५ मा उनले पहिलोपटक २६ प्राविधिक सशस्त्र प्रहरी निरीक्षक ९चिकित्सक० र ४५ प्राविधिक सशस्त्र प्रहरी नायब निरीक्षक ९विभिन्न ट्रेड० का लागि भर्ना प्रक्रिया थालेका थिए । उनीहरूको नियुक्ति सिफारिस नहुँदै ३० साउनमा पुनः १३ प्राविधिक सशस्त्र प्रहरी निरीक्षक ९चिकित्सक० र १० प्राविधिक सशस्त्र प्रहरी निरीक्षक ९इन्जिनियर० का लागि दरखास्त आह्वान गरिएको थियो ।

त्यसपछि २२ भदौमा १ हजार ९३६ जना सशस्त्र प्रहरी जवान, २२ भदौमै १०४ जना सशस्त्र प्रहरी परिचर, १९ असोजमा ४३ जना सशस्त्र प्रहरी निरीक्षक र १९ असोजमै २३९ सशस्त्र प्रहरी सहायक निरीक्षक पदका लागि दरखास्त आह्वान गरिएको थियो ।

अहिले फेरि ३ हजार २९७ सशस्त्र प्रहरी जवान पदका लागि आवेदन संकलन भइरहेको छ ।

ठगदेखि होसियार रहन सुझाव

भर्नाका लागि आवेदन दिने व्यक्तिहरू ठगिन सक्ने भन्दै सशस्त्र प्रहरीले सम्बन्धित व्यक्तिलाई सावधानसमेत गराउँदै आएको छ । सशस्त्र प्रहरीद्वारा सर्वसाधारणका हितमा जारी सूचनामा भनिएको छ, ‘सेवा प्रवेश गराइदिने प्रलोभनमा पारी कसैले तपाईंलाई ठगी गर्न सक्छ, सशस्त्र प्रहरी बलमा प्रवेश गर्न न त कसैको सिफारिस चाहिन्छ, न त तोकिएको राजस्व दस्तुरबाहेक अन्य रकम नै तिर्नुपर्छ । त्यसैले होसियार रहनुहोस् । यदि कसैले यति रकम दिए भर्ना गराइदिन्छु भनी गलत आश्वासन दिन्छ र दिएको छ भने त्यो गलत हो । त्यसैले तुरुन्त सशस्त्र प्रहरी बल नेपालको टोल फ्री नम्बर १११४ वा नजिकको सशस्त्र प्रहरी बलका एकाइमा खबर गर्नुहोस् । तपाईंलाई ठग्न खोज्ने व्यक्ति कानुनी कारबाही भागीदार बन्नेछ । ढुक्क हुनुहोस्‘।।सुरक्षाको कारण तपाईंको नाम गोप्य राखिनेछ ।’ राजधानी दैनिकबाट

सम्बन्धित खबर

सिफारिस