नागढुङ्गा सडक खण्डका ठेकेदारको लापरबाही विरुद्ध जनता सडकमा, यातायात अवरुद्ध !

नागढुङ्गा सडक खण्डका ठेकेदारको लापरबाही विरुद्ध जनता सडकमा, यातायात अवरुद्ध !

प्रयास पराजुली


२९ फागुन, काठमाडौं । ‘हिडन पनि अत्यास लाग्छ । सास फेर्न पनि गाह्रो छ,’ बलम्बुका स्थानीय बद्री भण्डारीले दुखेसो गरे ।


विगत पाँच वर्षदेखि बद्रि भण्डारी मात्रै होइन कंलकी–नागढुंगाका लाखौ स्थानीयले दैनिक रुपमा धुलोको अत्यास लाग्दो यात्रा गर्न बाँध्य छन् । बुधवार धुलो र धुँवाका कारण बाँच्नै कठिन भएको भन्दै आक्रोशित स्थानीयले कलंकी–नागढुंगा सडक अवरोध गर्दे सडकमा नै प्रदर्शन गरे ।


स्थानीयको यो पहिलो सडक आन्दोलन भने होइन । गत बर्ष बर्षाको समयमा हिलो भएको सडकमा धान रोपेर पनि सरकारको विरोध गरेका थिए । सरकारले निर्माण कम्पनीले पटक–पटक सडक कालोपत्रे गर्ने प्रतिबद्धता र लिखित सहमति गरेपनि कार्यान्वयन हुन सकेको छैन् । न सरकारी निकाय जिम्मेवार बनेको छ, न निर्माण कम्पनीले प्रतिबद्धता अनुसार काम गरेको छ । छ त केबल बहानावाली र आश्वासन मात्र छ ।


धुलोको कारण सडकमा हिडन, व्यापार व्यवसाय सञ्चालन गर्न, बालबालिकालाई विद्यालय पठाउन समेत समस्या परेको भन्दै स्थानीयले चन्द्रागिरी नगरपालिकास्थिन विधुत प्राधिकरणको गेट र थानकोटका स्थानीयले दुवैतर्फ सवारी साधनमा अवरोध गरेर केही समय विरोध जनाएका छन् ।


स्थानीय उत्तम कार्कीले लामो समयसम्म सडक निर्माण कार्य सम्पन्न नहुँदा धूलो, धुवाँ र हिलोको मारमा परेकाले छिटो भन्दा छिटो सडक निर्माण गर्न दबाब दिनको लागि दुई घण्टा सडक बन्द गरिएको बताए । सडक बनाउने ठेकेदारको लापरवाही र सडकमा पानी समेत नहालेको भन्दै विरोध गरेपछि केही समय विवाद समेत भएको थियो ।


करिब ४५ मिनेटको अवरोध पछि अहिले दुबैतर्फको सवारी आवात(जावत सुरू भएको ट्राफिक प्रहरी चौकी कलंकीका प्रहरी निरीक्षक केशव भट्टले बताए ।


स्थानीयवासीले सडक बन्द गरेपछि वार्तामार्फत समस्याको समाधान गर्न चन्द्रागिरी नगरपालिकाका नगरप्रमुख घनश्याम गिरी, महानगरीय प्रहरी प्रभाग वलम्वुका प्रहरी निरीक्षक शकंर खड्का र शैलुङ कन्ट्रक्सनका प्रतिनिधिबीच दैनिक तीन पटक सडकमा पानी हाल्ने सहमति भएको छ ।


नगर प्रमुख घनश्याम गिरीले चाँडो भन्दा चाँडो घरको अवरोध नभएको स्थानमा कालोपत्रे गर्नुपर्ने बताउछन । निमार्ण कम्पनीका प्रतिनिधिका अनुसार कंलकी नागढुगा विस्तारको कामले गति लिएको दावी गरेको छ । यस अघि पनि ठेकेदार कम्पनीले सडक धुलो नियन्त्रण गर्न पानी हाल्ने सहमति गरेको छ । उक्त सहमति कार्यान्वयन नभएपछि स्थानीय पुनः आन्दोलित भएका हुन् । १२ मिटर चौडाइसहित ४ लेनको सडक निर्माण गर्ने भनिए पनि अहिले दुईतर्फी सवारीसाधन नै एउटै लेनबाट सञ्चालन गर्नुपर्ने अवस्था छ ।


त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडक अन्तर्गत करिब साढे १२ किलोमिटर सडक निर्माण कार्यमा हालसम्म १ अर्ब ६३ करोड ८८ लाख ९४ हजार खर्च भइसकेको छ ।


२०७१ सालबाट निर्माण सुरु गरिएको कलंकी–नागढुंगा सडक साढे दुई वर्षमा निर्माण सम्पन्न गरिसक्ने सम्झौता भएको थियो । तर, ठेकेदारको लापरवाहीका कारण चार वर्ष बितिसक्दा पनि सडक निर्माण हुन सकेको छैन ।

कतिपय स्थानमा मुआब्जाका कारण पनि सडक विस्तार हुन सकिरहेको छैन । मुअब्जाको विवाद नभएको स्थानमा पनि कालोपत्रे हुन सकेको छैन् ।

० Comments




Trending News