महिला अध्ययन गर्ने पिके क्याम्पसमा पुरुष प्रमुख नियुक्त : भिसि विरुद्ध महिला प्राध्यापक आन्दोलित !

दियोपोस्ट संवाददाता


काठमाडौँ, ३ फागुन । नेपालको संबिधानले प्राज्ञिक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागि हुनु पर्ने ब्यवस्था गरेता पनि मुलुककै सबैभन्दा जेठो त्रिभुवन विश्व बिद्यालयमा भने ३३ प्रतिशत महिलाको सहभागिता हुन सकेको छैन । तर संबिधानको मर्म अनुसार विश्व बिद्यालयको आंगिक क्याम्पस पद्मकन्या बुहुमुखी क्याम्पसमा महिला प्रमुखको माग गर्दै महिला प्राध्यापकहरु ५ दिन देखि आन्दोलनमा उत्रिएका छन् ।


मुलुकको एक मात्र महिला क्याम्पसको रुपमा रहेको पद्म कन्या क्याम्पस बिगत एक महिनादेखि प्रमुख बिहिन छ ।

महिला क्याम्पस भएको नाताले आफुहरुको क्याम्पसमा महिला प्राध्यापक नियुक्ति हुनु पर्ने भन्दै महिला प्राध्यापकहरुले उपकुलपति तिर्थ खनियालाई फागुन २७ गते नै ज्ञापन पत्र बुझाएका थिए । तर उपकुलपतिले महिला प्राध्यापकहरुको मागलाई संबोधन गर्नुको साटो धन प्रसाद पण्डितलाई क्याम्पस प्रमुख नियुक्ति गरि पठाएको भन्दै उनीहरुले त्यसको बिरोध गरेका हुन् ।


हाल पद्मकन्या क्याम्पसमा सह–प्राध्यापकको रुपमा काम गर्दै आएकी डा.जया प्रधान लगायत तीन जनाकोे नाम क्याम्पसले सिफरिस गरेर पठाएको थियो । तर उपकुलपतिले प्रधानको नाम काटेर पुरुषलार्ई प्रमुख बनाएर पठाएको प्रति आफुहरु दुखी भएको उप–प्राध्यापक बिमला नेपालले बताइन् ।

उपकुलपतिको यो कदमले महिलाहरुको अपमान भएको उप–प्राध्यापक नेपालको ठम्याँइ छ । उनले भनिन्–“जया प्रधान प्रबेशिका देखि स्नातकोत्तर सम्म गोल्ड मेडलिस्ट र पिएचडी हासिल गरेकोे महिला हुनुहुन्छ, क्याम्पस चिफको लागि उहाँ सक्षम महिला पनि हाे तर उहाँको नाम काटेर भि.सी.ले सिंगो महिलाहरुको अपमान गर्नु भयो ।” उनले उपकुलपतिको कदम महिलाहरु प्रतिको अविश्वासको चरम रुप भन्दै यसको बिरोध गरिन् ।


दक्ष अनि प्रशासनिक अनुभव भएकी महिलालाई प्रमुख बनाएर ३३ प्रतिशत महिला सहभागिताको अवधारणा लागु गराउका लागि उपकुलपतिलाई पटक–पटक दवाब दिदाँ पनि आफुहरुको माग सुनुवाई नभएको उनको गुनासो छ । भन्छिन्,– “एक सय २४ जना महिला प्राध्यापक कार्यरत रहेको यस क्याम्पसमा मुठ्ठीभर पुरुष प्रध्यापक सहकर्मीहरुले हाम्रो अस्तित्व स्वीकार गर्न सक्नु भएन, उहाँहरुले हाम्रो जागिर खाइदिने धम्कि दिनुहुन्छ, यसप्रति हाम्रो आपत्ति छ ।” ३६ जनाको संचालक समिति रहेको क्याम्पसमा जम्मा ६ जना मात्र महिलाहरुको सहभागिता हुनु आफैमा लज्जास्पद भएको उनको तर्क छ ।


नियम कानुन महिलालाई मात्र लगाने तर पुरुषलाई नियम कानुन नै थाहा नभएको भन्दै उप–प्राध्यापक नेपालले रोष प्रकट गरिन् । मुलुक भरि विश्व बिद्यालयका ६१ वटा आंगिक क्याम्पसहरु छन् । त्यस मध्ये २१ वटा क्याम्पसमा महिला प्रमुख हुनु पर्ने संबैधानिक ब्यवस्था छ । तर हाल २ वटा क्याम्पसमा मात्र महिला प्रमुख कार्यरत छन् । बाँकी १९ वटा क्याम्पसमा महिला प्रमुख नियुक्ति गरि ३३ प्रतिशत पुर्याइनु पर्ने आफुहरुको माग रहेको उनको भनाई छ ।


बिगत २९ वर्षदेखि पद्मकन्या क्याम्पसमा सहप्राध्यापकको रुपमा कार्यरत डा.कल्पना श्रेष्ठले क्याम्पसमा यसपटक उपकुलपतिले महिला माथि ठाडो हस्तक्षेप गरेको बताउँछिन् । तीन महिना अघि देखि नै महिला प्रमुख हुनुपर्ने माग राखेको सम्झिदैँ उनी भन्छिन्,–“राष्ट्रपतिले महिला दिवसको अवसरमा विदेशमा गएर महिला सशक्तिकरणका कुरा गरेर आउँदै गर्दा महिला मात्रै पढ्ने क्याम्पसमा भने महिलालाई अपमान गरिएको छ ।”

उपकुलपतिले त्रिभुवन विश्व बिद्यालयमा ३३ प्रतिशत महिला सहभागिता लागु नभएकाले पद्मकन्या क्याम्पसमा कुनै पनि हालतमा महिलालाई प्रमुख बनाउन नसकिने बताउँदै आएको उनको आरोप छ । विश्व बिद्यालयको नियममा पूर्ण कार्यकाल भएको व्यक्तिलाई मात्र नियुक्ति गर्नुु पर्ने उल्लेख छ । तर उपकुलपतिले भर्खरै नियुक्ति पठाएका पण्डितकोे कार्यकाल ४ वर्ष नभएको भन्दै उनले आपत्ति जनाइन् ।


क्याम्पस प्रमुखको नाम सिफारिस गरेर पठाउँदा महिलाको नाम तेस्रो नम्वरमा राखेर पठाइनु नै गलत भएको बताउँछिन् प्राध्यापक मनसा थापा ठकुरानी । “प्राज्ञिक क्षेत्रमा समेत महिलाको अवस्था यस्तो छ भने अन्य क्षेत्रमा कस्तो होला? हामीले कल्पना समेत गर्न सक्दैनौ” उनले भनिन । उपकुलपतिले आफैले बोलेको कुरा आफैले लागु नगरेको उनको गुनासो छ । भन्छिन्,–“उपकुलपतिले संबिधानमा उल्लेख भएको कुरालाई नै वाइपास गर्न खोज्नु भयो ।” ‘महिला क्याम्पसमा महिला प्रमुख’ आफुहरुको माग रहेको उनले बताइन् ।


यद्यपि, महिला प्राध्यापकहरुले तीन महिना अघि नै क्याम्पस प्रमुख महिला नै हुनु पर्छ भनेर उपकुलपतिलाई जानकारी गराइसकेका थिए । त्यतीबेला उपकुलपतिले ‘३ महिला पछि महिलालाई नै प्रमुख बनाउँछु तपाइहरु ढुक्क हुनुहोस’ भनेर पठाएको उनीहरुको भनाइ छ ।

आफुहरु पुरुष प्राध्यापक सरहको क्षमता बोकेर आएको हुँदा आन्दोलबाटै माग पुरा गराउनका लागि प्रतिबद्ध रहेको उनीहको भनाई छ । माग पुरा नभए अमरण अनसन बस्ने उनीहरुले चेतावनी दिएका छन् ।

तीर्थ राज खनिया,
उपकुलपति


यता, उपकुलपति तीर्थ खनियाले तीन महिनाको लागि मात्र पण्डितलाई प्रमुखमा नियुक्त गरेको बताए । उनले केही सरसल्लाह गरेर फेरी निर्णय गर्ने प्रतिक्रिया दिए ।

सम्बन्धित खबर

सिफारिस