
सुदीप विश्वकर्मा
काठमाडौं, १ चैत्र । ‘मम्मि ड्याडी खै ?’ विमानस्थलबाट हात हल्लाउँदै छोरा गौरवले आमालाई प्रश्न गरे ।
गौरबका बाबु महेन्द्रले मोबाइलबाट भिडियो कलमै सोधे,‘छोरा के छ ?’
बाबु–छोराको केही बेर भलाकुसारी चल्यो । गौरवले सोधे,‘ड्याडी त बुढो भइसक्नु भएछ,’ जवाफमा उनका बाबु महेन्द्रले भने,‘अव पनि बुढो नभए कहिले हुने ।’
त्यति भनेपछि ड्याडी बाई…. भन्दै गौरव जहाज चढे । त्यो दिन २०७५ साल माघ २९ गते थियो ।
यो संवाद स्मरण गर्दा ५७ वर्षिय महेन्द्र श्रेष्ठ आफूलाई सम्हाल्न सक्दैनन् । छोराको अन्तिम संवादले छाति पोलेपछि उनी दियोपोस्टको कार्यालयमा डाँको छोडेर रोए र एक घुट्को पानी पिए र आफ्नो दुख सुनाए ।

राजधानीको थापाथलीमा खरानी रङको एउटा भव्य महल छ । झट्टा हेर्दा विकसित शहरको भवन जस्तो देखिने यही भवनमा रहेको ‘द ब्रिटिस कलेज’मा महेन्द्रले आफ्ना छोरा गौरव श्रेष्ठलाई बिएससी कम्प्युटीङ (कम्प्युटर साइन्स) स्नातक तह पहिलो वर्ष पढाउँदै थिए ।
भक्तपुरमा एउटा फ्ल्याट लिएर गौरव एक्लै बस्थे । अध्ययन मध्यम स्तरकै थियो । उनी बाँकी समय जीम पनि जान्थे ।
‘ड्याडी म दुबई जान्छु । कलेजले टुर लाने रे, पैसा पठाइदिनु,’ गौरवले केही महिना अघि बाबु महेन्द्रलाई यसो भनेपछि उनी पुलकित भए ।
‘छोराले दुवई घुम्न पाउने भएपछि म खुसी थिएँ । उसकी आमा झन् खुसी भएकी थिइ । दुखजेलो गरेर कमाएको डेढ लाख रुपैयाँ र ७० हजार गोजी खर्च पठाइदियौँ,’ महेन्द्र भन्छन्,‘१२ फेब्रअरीमा उ इतिहाड एअरलाइन्सबाट दुवई उडेको थियो । त्यो दिन मेरो मनको खुसीले पनि नयाँ उडान भरेको थियो ।’

०००
दुबई पुगेका गौरवले परिवारलाई भिडियो कल गरेर सबै ठाउँ देखाउँथे । सिराहामा रहेका महेन्द्र र उनकी पत्निले मोबाइलबाटै छोराको भ्रमणमा खुसी साट्दै थिए ।
गौरव दुबई पुगेको तेस्रो दिन विहान ७ बजेसम्म उनले आफ्नी आमालाई इन्टरनेटमा हालखबर सुनाइरहेका थिए । सोही दिन समुन्द्र किनार ‘ला मेर विच जुमैराह’ घुम्न लैजाने कार्यक्रम थियो ।
स्थानिय समय अनुसार विहान करिब ११ बजेर ४५ मिनेटमा उनीहरु ‘ला मेर विच जुमैराह पुगे । गौरवसँगै २६ जना विद्यार्थीहरु उक्त ‘वीच’मा रमाइलो गर्न गएका थिए । गौरवसँगै थिए–साथी निशेष सुवेदी । पौडीका अनुभव नभएका गौरव र निशेष समुन्द्र छालमा छचल्किँदै थिए ।

यता गौरवका आमा बाबु कपडा दुकानमा व्यस्त थिए । गौरव समुन्द्र किनार पुगेको २४ घण्टापछि गौरवको बुवा महेन्द्रलाई ब्रिटिश कलेजका शिक्षक अरुण जोसीको मोबाइल नम्बर ९८०११३४२०३ बाट फोन गरे । ‘तपाइंको छोराको विचमा (समुन्द्रको किनार) दुर्घटना भएको छ, यतिबेला उ कोमामा छ’ यस्तै यस्तै आवाज आयो । घुम्न गएको छोरोको यस्तो खबर सुनेपछि महेन्द्र छाँगाबाट खसे झैँ भए ।
‘खबर सुनेपछि भएको नगद, र चाहिने जति सबै सामान बोकेर म, श्रीमती, मेरो साला भाई नवराज श्रेष्ठ काठमाडौँ आउनका लागि मिर्चैयाबाट हिड्यौँ । मैले आफ्नो छोरालाई बचाउन सक्छु कि भन्ने आशा लिएर म हिडेँ,’ महेन्द्र स्मरण गर्छन्,‘हामी जस्तो अवस्थामा थियौँ, त्यस्तै हिँड्यौँ । करिब १७÷१८ किलो मिटर हिडिँसकेका थियौँ । फेरि मेरो मोवाइलको घण्टी बज्यो । दुवईबाट कल आएको रहेछ । मैले कल रिसिभ गरेँ–‘तपाईको छोरा यस संसारमा रहेन, हामी दुखी छौँ ।’
छोरालाई बचाउन सकिन्छकी भन्ने आशा बोकेर सहर हिँडेका महेन्द्रको दम्पत्तिलाई दुबईबाट आएको यो फोनले अचेत बनाइदियो । चालक र उनका जेठा भतिजाले उनीहरुको अचेत शरीरलाई घर तिरै फर्काए ।
‘हामी घर पुगेपछि शब्दमा वर्णन गर्ने अवस्था थिएन । आफन्तहरुको रुवावासी, आमा अचेत, म पनि अर्धचेतमा थिएँ । भोलिपल्ट मेरो साला र २/४ जना काठमाडौँ आए । काठमाडौँ आएर ब्रिटिस कलेजसँग छलफल गर,’ महेन्द्र भन्छन्,‘त्यसपछि मेरो भतिजो धिरज श्रेष्ठ दुवई गयो । दुवई पुगेर उसले सबैसंग लिखित बयान लियो ।’
महेन्द्रका भतिजो दुवै पुगेर घटनाको विवरण लिने कोसिश गरे । यस क्रममा लिएका अधिकांश बयानहरु बाझीएको भेटियो ।
गौरवसँगै पौडी खेल्न गएका उनका साथी निशेष सुवेदीले दिएको बयान, शिक्षक रिना श्रेष्ठको बयान र घटनाको पोस्टमार्टम रिपोर्ट समय बाँझीएको छ ।

गौरवसँगै समुन्द्र किनारमा पौडी खेल्न गएका निशेष सुवेदीले आफ्नो लिखित बयानमा आफू र गौरवसँगै पौडी खेल्न गएको स्विकार गरेका छन् ।
निशेषले आफ्नो बयानका क्रममा आँखाको समस्याका कारण चाँडै पानीबाट निस्कीएर सामुन्द्री किनारमा रहेको कुर्सीमा बसेको र बस्ने क्रममा गौरवलाई नदेखेको, दुई जना विदेशी नागरिक पनि सँगै भएको बताएका छन् ।
गौरव हराएको खबर शिक्षक रिनालाई बताएपनि उनले बेवास्ता गरेको निशेष सुवेदीको बयानमा उल्लेख छ ।
‘म्यामलाई मैले गौरव हराएको कुरा बताएँ । तर, म्याम करेन्सी साट्न जानु भयो,’ निशेषले बयानमा भनेका छन्,‘म्याम नभएको मौकामा म आफै गौरवलाई खोज्न गएँ । तर, कतै भेटिनँ र फर्किएँ ।’
उनले आफू फर्कंदा गौरवको पर्स, मोबाइल र अन्य सामान समेत सँगै लिएर आएको बताएका छन् ।
बेलुका सुपरमार्केट गएर फर्किएपछि भएको ‘फिडब्याक’ सेसनमा ‘सबै विद्यार्थी आए तर गौरव खोई’ भन्दै म्यामले सोधेको निशेषको बयानमा उल्लेख छ । त्यसपछि मात्रै सबै विद्यार्थी र शिक्षक गौरवलाई खोजी गर्न हिँडेका थिए ।

गौरवकी शिक्षीका रिनाले दिएको बयान अनुसार उनले बेलुका ७ बजेर ३० मिनेटमा मात्रै गौरवको खोजी शुरु भएको बताएकी छिन् । उनले दिएको बयानमा प्रहरीले कल गरेर ‘गौरवको मृत्यु भएकोले सम्बद्ध कागजात ल्याउन’ भनेको बताएकी छिन् । यता भ्रमण टोलीका अन्य विद्यार्थीको बयानमा भने आफूहरुले गौरवको फोटो देखाएर प्रहरीलाई खोजी गर्न आग्रह गर्दा प्रहरीले रसिद हस्पिटलमा जानु’ भनेको बयान दिएका छन् ।

दुबई प्रहरीले तयार पारेको फरेन्सिक रिपोर्टमा गौरवको मृत्यु सोही दिन १२ बजेर ४५ मिनेटमा भएको देखिन्छ । अर्थात उनी समुन्द्र किनारमा पौडी खेल्न पुगेको एक घण्टामै उनको मृत्यु भइसकेको थियो । रिपोर्ट अनुसार अस्पताल पुर्याउँदै गर्दा उनको मृत्यु भएको थियो । फरेन्सिक रिपोर्टमा गौरवले रगत सहित भोमिट गरेको उल्लेख छ ।
पीडित परिवारले भने गौरवसँगै गएका निशेष सुवेदी र कलेजका कर्मचारीको लापरबाहीले गौरवको मृत्यु भएको आरोप छ ।
‘निषेश सुबेदीले गौरवको सबै सामान लिएर रुममा आएपछि गौरव कसरी आउँछ भनेर पनि सोधिएको रहेछ । यहाँबाट बिद्यार्थीसंगै जानु भएको २ जना म्यामहरु हुनुहुन्थ्यो । उहाँहरुले आफ्नो बयानमा भन्नु भएको छ, ‘गौरव श्रेष्ठले जवर्जस्ती अटेर गरेर स्वीमिङ्ग गर्न गएको हो भनेर मेरो मृतक छोरालाई दोष लगााउनु भएको छ । जबकि आफ्नो गार्जेन्टसिपमा गएको व्यक्तिले अटेर गर्यो भने पनि, त्यहाँ प्रहरी थियो होला, समुन्द्रमा डुब्नै लागेको थियो भने पनि रेस्क्यु गर्ने संयन्त्र थियो होला,’ गौरवका बाबु महेन्द्रको प्रश्न छ,‘उहाँहरुले गौरवलाई रोक्नु पथ्र्यो, कि तँ मर भनेर छोड्नु पथ्र्यो ? उसलाई तानेर ल्याउनु पर्ने हो, त्यहाँ खतरा छ, त्यहाँ जान हुन्न भनेर गाली गर्नु पर्ने हो नि । अहिले आएर मृतकलाई दोष लगाउन मिल्छ र ?’
आफ्नो छोराको मृत्यु हुँदा समेत कलेजका कर्मचारी र अन्य विद्यार्थी भने फोटो सेसनमै रमाएको महेन्द्रको आरोप छ ।
‘उहाँहरु घुम्ने, फोटोसेसन गर्ने, सपिङ्ग गर्ने र रमाइलो गर्नमै ब्यस्थ हुनु हुन्थ्यो । म्यामको बयानमा छ, ‘हामीले साँढे सात बजे मात्र थहा पायौँ कि गौरव श्रेष्ठ हराएको छ’ भनेर,’ महेन्द्रले भने,‘गौरवसंगै स्वीमिङ्ग जाने निषेशलाई सोध्दा घटनाको बारेमा कसैसंग कुनै कुरा नगर्नु भनेर कलेजले मलाई कडाई गरेको छ । एक त कलेजले सबैकुरा लुकाउन खोजिरहेको छ ।’

आश्चर्य त के छ भने गौरवको मृत्यु भएको दिन राती १० बजेर २१ मिनेटमा गौरवको फोन उठेको छ । ह्वाट्स एपमा कल गर्दा ‘निकै हो हल्ला आएको गौरवका बाबु महेन्द्र बताउँछन् ।
कलेजको गम्भिर लापरबाहीबाट छोराको निधन भएको निष्कर्शमा पुगेका महेन्द्रका परिवारलाई सिइओ रजेन कँडेलले पटक पटक झूट बोल्दा झनै आशंका बढेको छ ।
‘मलाई फोन गर्ने अरुण जोशी जिम्मेवार व्यक्ति होइन रे , सिइओ सर लण्डनमा हुनुहुन्छ, अप्रिलमा आउनु हुन्छ भनिन्छ,’ महेन्द्रको प्रश्न छ,‘उहाँ कहिले आउनु हुन्छ ? मैले कहिलेसम्म उहाँको बाटो हेर्ने ? म तराईबाट यहाँ आएको छु । आज १२ दिन भइसक्यो म यहाँ आएको । यहाँको महंगीमा मैले यतीका दिन बस्नु पर्दा मलाई गाह्रो भएको छ ।’
न्याय नपाएपछि गौरवका बाबुले महानगरीय प्रहरी परिसर काठमाडौंमा समेत जाहेरी दिएका छन् ।

गत महिना फागुन ११ गते दिएको जाहेरीलाई प्रहरीले अहिलेसम्म कारबाही अघि बढाएको छैन ।
‘मैले न्याय माग्नका लागि धेरै ठाउँमा धाइसकेँ । प्रहरी परिसरमा जाँदा–‘सिओ सर हुनुहुन्न, अफ्रिल तिर आउनु हुन्छ, त्यसपछि मात्र तपाईहरुसंग कुरा गर्नुहुन्छ,’ भन्ने जवाफ आउँछ,’ महेन्द्रले भने ।
कलेजले भ्रमणको नाममा लाखौँ रुपैयाँ ठगी गरेको आरोप महेन्द्रको छ । ‘गौरव लगायत जति पनि भ्रमणमा गएका बिद्यार्थीहरु छन्, उनीहरु सबैसंग कलेजले लाखौँ पैसा असुलेर घुमाउन लाग्यो । कलेजले बिद्यार्थीहरुसंग ब्यपारिकरण गरेको छ । शिक्षाका नाममा व्यापारिकरण गरेका कारण यस्ता कलेजलाई अबिलम्व अनुमति पत्र खारेज गरि बन्द गराउनु पर्छ भन्ने सरकारसंग मेरो माग छ । ‘हामीले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमणका लागि दुवई लैजाँदैछौँ, तपाईको छोरा पनि जाँदैछ, तपाईहरुले केही चिन्ता लिनु पर्दैन’ भनेर कलेजले हामी संग पैसा पनि लिएको थियो । छोराले फोन गरेर एक लाख ४५ हजार रुपैयाँ मागेको थियो । मैले बैंकमा पैसा पठाइदिएको हुँ । त्यो बाहेक करिव ७० हजार जति छुट्टै पैसा पकेट खर्च पनि पठाएको हुँ ।’
सामान्यतया दुबई भ्रमणका लागि ६० देखि ७० हजार रुपैयाँमा संभव भएपनि कलेजले भने डेढ लाख असुलेको उनको आरोप छ । कलेजले सबै जीउ धनको सुरक्षा गर्छु भनेर भ्रमण लगेपनि अहिले आएर गैरजिम्मेवार बनेको महेन्द्रले बताए ।

‘गौरवको सम्पूर्ण अभिभारा ‘द ब्रिटिस कलेज’ थापाथलीले लिएर गएको हो । उसको जनधनको सम्पूर्ण सुरक्षाको ग्यारेन्टी कलेजले नै लिनु पर्ने हो,’ उनले भने,‘ उहाँहरुले अभिभावकसंग हस्ताक्षर गराएर मात्र लिएर गएका छौँ भनेर भन्दै आउनु भएको छ । तर मैले गौरवको मृत्युका लागि हस्ताक्षर गरेको त होइन नि ।
गौरव श्रेष्ठलाई बाराम्बार बाहिर आउ भन्दा पनि अटेर गरेर नुहाउन गयो’ भनेर भन्नु नै गैरजिम्मेवारीपन हो । कलेजका डाइरेक्टरले ५ वजे मात्रै हामीले थाहा पायौँ भन्ने, म्यामहरुले साडे ७ बजे थाहा पायौँ भनेर भन्ने । रेकर्ड अनुसार १२ः४५ बजे गौरवको मृत्यु भएको छ । म्याम र डाइरेक्टरको कुरा पनि बाझिएको छ । अनि गौरव हराएको ११ः३० मा हो । १२ बजेदेखि हराएको ब्यक्ति सम्पर्कमा नआएपछि उसको खोजि किन गरिएन ?’
मुलुककै प्रतिष्ठित भनिएको कलेजले आफूलाई झूट बोलेको र अन्याय गरको उनी बताउँछन् ।
‘गौरव १२ः४५ मा हराएको छ, ७ बजे सम्म उसको खोजी नगरेर यो बीचमा उहाँहरु के गर्दै हुनु हुन्थ्यो त ? अर्को कुरा १२ जना बिद्यार्थीहरु अर्को शिपमा थिए । त्यो १२ जनालाई पनि लिडिङ्ग गर्ने मान्छे को हो त ? एक्लै छोडिदिने ति १२ जनालाई ? नेपाल जस्तो त होइन नी । नेपाल त होइन ।
नेपाल भएको भए पनि भाटभटेनी जाउ, सिंहदरबार जाउ, राजदरबार जाउ, घुमेर आउ भन्ने जस्तो त होइन नि । त्यहाँ त पासपोर्ट चाहिन्छ,’ महेन्द्र भन्छन्,‘गौरव समुन्द्रमा नुहाउन गएको बेला हाफ पेन्टमा छ, गौरवको कपडा, पर्स, मोवाइल, पासपोर्ट र ब्याग लिएर ति सुबेदी होटलमा गएका छन् । अनि गौरव कसरी होटलमा फर्केर आउला त ? गौरवको सामान लिएर आउने ब्यक्तिलाई सोध्नु पर्यो नि, तिमीले गौरबको सामान लिएर किन आयौ भनेर । तर उसले आफ्नो पासपोर्ट पनि गौरबको ब्यागमा थियो भनेर जवाफ दिएको छ । सुबेदीलाई आफ्नो पासपोर्टको यती धेरै माया रहेछ, त्यसो भए, गौरव बिना पासपोर्ट कसरी फर्केर हेटलमा आउछ भनेर प्रश्न गर्न सक्नु पथ्र्यो । गौरव हराएको खबर पाउने बित्तिकै खोजतलास गर्नु पथ्र्यो । उसले त्यो केही पनि गरेको छैन । उसको सरासर गैर जिम्मेवारपन हो ।’
कलेज सञ्चालकले यो घटनालाई ढाकछोप गर्ने षडयन्त्र गरेको उनी बताउँछन् । पत्रपत्रीकामा निकालेको विज्ञप्ति समेत उल्टो भएको उनको आरोप छ । ‘पहिले भनेको कुरा र अहिले भनेको कुरामा सबै कुरा उल्टो छ । पहिले ५ बजेतिर थाहा पाएँ भन्ने, म्यामहरुले चाँही साँढे सात बजेतिर थाहा पाएर खोजततलास गरेको भन्ने, अनि अहिले चाँही हामीले नुहाउन नजाउ भन्दा भन्दै अटेर गरेर गयो भनेर भनिएको छ । यसको अर्थ, गौरवलाई समुुन्द्रमा खतरा छ भन्ने कुरा त उनीहरुलाई पहिल्यै थाहा रहेछ । अनि उसलाई उद्धार गर्नका लागि किन पहल गरिएन ?’ उनको प्रश्न छ ।
घटनापछि सिइओ रजेन कँडेल फरार !
मृतकका बाबु महेन्द्रले कलेजसँग पटक पटक सम्पर्क गरीसके । तर, उनले चित्त बुझ्दो जवाफ पाएकै छैनन् । सिइओ रजेन कँडेल घटना भएदेखि नेपाल आएका छैनन् ।

‘उहाँ ७ दिन भित्र आउनु हुन्छ भनिएको थियो । तर एक महिना हुन लागिसक्यो उहाँ अहिलेसम्म नेपाल आउनु भएको छैन,’ महेन्द्र भन्छन्,‘उहाँ किन भागिरहनु भएको छ ? आफ्नो गल्ती स्वीकार गर्न चाहानु हुन्न । गौरव त मैले गुमाएँ । मेरो बुढेशकालको आशा, भरोसा नै गौरव थियो । कलेजले गौरवलाई फर्काउन सक्दैन । जवान छोराको मृत्यु हुदाँ कति बज्रपात हुन्छ, त्यो दुखलाई मैले जिन्दगीभर बिर्सिन त सक्दिनँ । तर कलेज र कजेजका ब्यक्तिहरुको लापर्बाहीका कारण गौरवको मृत्यु भएको छ । अहिले उहाँहरुले यो घटना ढाकछोप गर्न खोजिरहनु भएको छ,’ उनी भन्छन् ।
गौरवको सपना कम्प्युटर इन्जिनियर तर…..
महेन्द्रले आफ्नो एक मात्रै छोरालाई ‘द ब्रिटिस कलेज’मा पढाएर कम्प्युटर इन्जिनियर बनाउने सपना बुनेका थिए । गौरवले बाबुलाई भन्थे,‘ ‘ड्याडी म यहाँबाट पढाई सकाएर अस्ट्रेलिया पढ्न जान्छु, तपाइंले मलाई पढाउन सक्नु हुन्छ ?’

बाबुले गौरवलाई भन्थे,‘मैले उसलाई जहाँ पढ्न चाहान्छौ तिमीलाई जसरी भए पनि पढाउछु ।’ तर कलेजको लापरबाहीकै कारण उनको छोराको मृत्यु भयो । ‘उ मेरो आशा भरोसा र सपना थियो । ती सबै एकै पटक गुम्यो,’ कुराकानीको बिट मार्दै महेन्द्र भन्दै थिए,‘एउटा मान्छेको आशा र सपनाको कलिलो बोट निमोठिँदा असाध्यै पीडा हुँदो रहेछ ।’