
दियोपोस्ट संवाददाता
धादिङ, ९ चैत्र । पार्टी संस्थापन पक्षले एकलौटी कार्यदल सिफारिस गरेको भन्दै नेपाल कम्युनीस्ट पार्टी धादिङमा समानान्तर कार्यदल सिफारिस भएको छ ।
पूर्र्व एमालेको केपी ओली समुहबाट केन्द्रीय सदस्य खेम प्रसाद लोहोनीले सर्कुलर जारी गरेका छन् । यता पूर्व माओवादी, माधव नेपाल समुहका तर्फबाट राम बहादुर भण्डारीले सर्कुलर जारी गरेका छन् ।
पार्टी एकताका लागि बनेको कार्यदल नै एकलौटी ढंगबाट सिफारिस गरेको भन्दै नेपाल र पूर्व माओवादी समुहले छुट्टै कार्यदल सिफारिस गरेका हुन् ।
गत फागुन १ गते पूर्व एमालेको जिल्ला कार्यालय मदन आश्रीत भवनमा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य खेम प्रसाद लोहनीको अध्यक्षमा बैठक बसेको थियो । बैठकले स्थानिय तहमा पार्टी एकीकरणका लागि कार्यदल सिफारिस गरेको थियो ।

कार्यदलबारे स्थानिय पार्टी कमिटिलाई पठाइएको परिपत्रमा कार्यदल सदस्यहरुको नाम उल्लेख गरिएको छ । यो कार्यदललाई पूर्व माओवादी र माधव नेपाल समुहले ओली समुहको सिफारिस भन्दै अस्विकार गर्दै अर्को पत्र सर्कुलर गरेको छ ।
ओली समुहका नेता भनेर चिनिने खेम प्रसाद लोहोनीले गरेको कार्यदल सिफारिसमा एकताको भाव नदिएको अन्य समुहका नेताको भनाई छ ।

पूर्व माओवादी केन्द्रका जिल्ला उपाध्यक्ष राम बहादुर भण्डारी र पूर्व एमालेका तर्फबाट सचिव शिवप्रसाद कंडेलले हस्ताक्षेर गरेका छन् ।
स्रोतका अनुसार जिल्ला स्थित नेताहरु दुई खेमामा विभाजीत भएका छन् । पूर्व एमालेकै नेताहरु गुरु बुर्लाकोटी, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर र पूर्व माओवादीका नेताहरु पुष्प विक्रम मल्ल, राम बहादुर भण्डारी एउटै समुहमा छन् । यता पूर्वएमालेका नेता खेम प्रसाद लोहोनी, भूमि त्रिपाठी र पूर्व माओवादीका नेता शालिकराम जम्मकट्टेलल एउटै समुहमा छन् ।
दुवै समुहले छुट्टा छुट्टै सर्कुलर गरेपछि कार्यकर्तामा भने अन्यौलता छाएको छ । अधिकांश गाउँपालीकामा एकै व्यक्तिलाई दुवै समुहको सर्कुलर आएको एक कार्यकर्ताले बताए ।