काठमाडौं, ११ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीको नाम दुरुपयोग गरेर मलेसियाको रोजगारीमा जालझेल गरेर विगत १० महिनादेखि मलेसियाको कामदार पठाउने प्रक्रिया बन्द गरिएको छ । नेपालीहरुका लागि वैदेशिक रोजगारीका लागि प्रमुख गन्तव्य मध्येको एक मुलुक मलेसियामा कामदार पठाउन अघोषित प्रतिबन्ध लगाएर चालू आर्थिक वर्षमा वैदेशिक रोजगारीतर्फ नेपाली युवाको आकर्षण कम भएको निष्कर्ष निकालिएको छ ।
श्रम मन्त्रालयले गत जेठ ३ गतेदेखि मलेसिया कामदार पठाउने प्रक्रिया रोकेको छ । रोकिएको कामदार पठाउने प्रक्रिया खुलाउन गत कात्तिक १२ गते नेपाल र मलेसियाका श्रममन्त्रीले एमओयूमा हस्ताक्षर गरे पनि अझै कामदार पठाउने प्रक्रिया सुरु भएको छैन ।
मलेसियाका लागि नेपाली राजदूत बनेर गएका उदयराज पाण्डेले आफ्नो ओहोदाको प्रमाण पेस गरेर काम थालिसकेका छन् तर उनी मलेसिया पुगिसकेपछि अमेरिका उड्नुअघि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका दोस्रो वरियताका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनपछि मात्रै मलेसियाको रोजगारी खुल्ने कथनले विषयवस्तु झनै गम्भीर र पेचिलो रहेको सङ्केत गरेको छ ।
मलेसिया जाने कामदारलाई ओएससीले ठाडै ठगी गरेको आरोप लगाएर श्रम मन्त्रालयले भीएलएन नेपालका सञ्चालक राम श्रेष्ठलाई प्रहरी लगाएर पक्राउ गरेको थिया । तर त्यही ओएससी अन्तर्गतको दुई हजार आठ सय रुपैयाँ लिएर फिङगर प्रिन्ट जाँच्ने पीएसजी नामको कम्पनी चलाएर बसेका अर्का व्यवसायी गोविन्द थपलियालाई श्रेष्ठलाई पक्राउ गर्नुअघि प्रहरीले दुई घण्टा सोधपुछ गरेर छाडेको थियो । त्यही मुद्दामा श्रेष्ठलाई ३२ दिन थुनामा राखियो तर थपलिया एक घण्टा पनि प्रहरी हिरासतमा रहनु परेन ।
त्यसको कारण केलाउँदै जाँदा र मलेसिया कामदार पठाउने प्रक्रिया सुरु नहुनुको प्रमुख
कारण गोविन्द थपलिया पनि एक भएको पाइएको छ । उनी एउटा कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यको साझेदार रहेको पाइएको छ ।
कमिसन दलाली गर्ने उद्देश्यले खोलिएको हेभन्ली कक्सल्ट प्रालिको सेयर होल्डरमा गोविन्द थपलियासँग राजेश बज्राचार्यलगायतका व्यक्तिहरु रहेको पाइएको छ । त्यही कारण थपलियाले उक्त काण्डमा कारबाही भोग्नु नपरेको पाइएको छ । आजको आर्थिक दैनिकमा खबर छ ।