धादिङ, ११ चैत्र । निकै विवाद र चर्चामा आइरहने धादिङवेशी टारिवेशी सडक कालोपत्रे आयोजना पछिल्लो समय द्रुत गतिमा अघि बढेको छ । गत वर्षहरुमा २५ प्रतिशत मात्रै काम सम्पन्न भएपनि यो वर्ष भने ५५ प्रतिशत काम अघि बढेको छ ।
धादिङको उत्तरी क्षेत्रलाई जोड्ने यो सडकमा दैनिक हजारौँ यात्रु आवात जावत गर्छन् ।
धादिङ प्रदेश २ खका प्रदेश सांसद जगत सिंखडाले तोकिएको समयमै कालोपत्रे गरिसक्न आफू लागि परेको बताए । ‘म यो बाटो तोकिएको समय भित्रै कालोपत्रे सकिनुपर्छ भन्ने मान्यतामा छु ।
मेरो पहल जारी रहनेछ,’ सिंखडाले भने,‘यो सडक कालोपत्रे भएपछि उत्तरी क्षेत्रको यात्रामा सहजता आउने छ ।’
एशियाली विकास बैंकको सहयोगमा धादिङ जिल्ला सदरमुकामदेखि गोलाभञ्जाङ हुँदै टारिवेसीसम्मको सडक (२७.७७४ किलोमिटर) कालोपत्रे निर्माणको काम लामा कन्स्ट्रक्सनले गर्दै आएको छ ।
यसअघि बुढीगण्डकी जलविद्युत आयोजनाको डुवान क्षेत्र भित्र पर्ने १५ सय मिटर सडक कालोपत्रे नगर्ने तयारी भएपनि सांसद सिंखडाले विभिन्न निकायमा निवेदन गरेका थिए । निवेदन पश्चात कालोपत्रे गर्ने कार्य शुरु भएको थियो ।