काठमाडौं, १२ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेबापत् नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दुई सय २८ स्वदेशी तथा विदेशी संघ–संस्थाले करिब साढे दुई अर्ब अर्थात् दुई अर्ब ४७ करोड ९३ लाख २७ हजार सात सय ३९ रुपैयाँ ५१ पैसा तिरेका छैनन् ।
विमानस्थललाई रकम नतिरेर फरार हुने सबैभन्दा ठूलो एअरलाइन्स हो एयर एशिया । एयर एशियाले विमानस्थललाई २० करोड बराबर रकम नबुझाई नेपालमा उडान नै बन्द गरेको छ ।
एयर एसियाको विलम्ब शुल्कसहित २० करोड बक्यौता बाँकी रहेपनि गत असोज २७ गतेदेखि नै नेपाल उडान बन्द गरेको हो ।
एयरलाइन्सले अवतरण (ल्याण्डिङ), पार्किङ (विसान), एयर नेभिगेसन (सञ्चार तथा उड्डयन सहायक सेवा), विमानस्थल विकास शुल्क, कोठा भाडा लगायतमा बक्यौता तिर्नुपर्नेछ । एयर एशियाले वाइड बडी ए ३३० बाट दैनिक यहाँ उडान भर्दै आएको थियो ।
एयर एशियाको नेपाली प्रतिनिधिको रुपमा जिएसए लिएर काम गर्दै आएको समुहलाई समेत सरकारले कुनै ताकेता गरेको छैन ।
राजधानीको लाजिम्पाटमा कार्यालय रहेको इन्सेन्टिभ ट्राभल्सले एयर एशियाको जिएसए लिएको थियो । नेपाली विचौलियाको रुपमा काम गर्दै आएको इन्सेन्टिभ ट्राभल्सले मलेशिया स्थित एयर एशियाको कार्यालयबाट भने विमानस्थलमा तिर्नुपर्ने बक्यौता रकम लिइसकेको स्रोतको दाबी छ ।
विमानस्थललाई २० करोड बक्यौता तिनुपर्ने नेपाली एजेन्टको विमास्थल प्रमुख राजकुमार क्षेत्रीसँग साँठगाँठ रहेको स्रोतको दाबी छ ।
नेपाली एजेन्ट तथा इन्सेन्टिभ ट्राभल्सका अध्यक्ष हरिमान लामा र क्षेत्रीबीच बक्यौता नबुझाई एयर एशिया भगाउन साँठगाँठ रहेको स्रोतको दाबी छ ।
सरकारलाई २० करोड बक्यौता बुझाउनुपर्ने एयर एशियाका नेपाली एजेन्ट इन्सेन्टिभ ट्राभल्सका अध्यक्ष हरिमान लामा र महाप्रवन्धक गणेश लामाले केहीदिन अघि २ वटा क्रेटा काडी किनेका छन् । ‘एअर एशिया भगाउने सेटिङ मिलाउँदा २ वटा गाडी किन्ने कमिसन आएको हो,’ स्रोतले भन्यो,‘कम्पनि डुबेको भन्नेले २ वटा करोडौंको गाडी किन्न सक्छ र ?’
एयर एशिया नेपालबाट फरार भएपनि यता इन्सेन्टिभ ट्राभल्सले भने आफ्नो वेभसाइटमा आफूहरुसँग एयर एशियाको जिएसए कायम रहेको जनाएको छ ।