पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको स्कर्ट भ्यानको दादागिरी : स्कुटरलाई ठक्कर दिएर फरार (भिडियोसहित)

दियो पोस्ट  

काठमाडौं, १६ चैत्र । सडक सबैको हो । बाटो हिँड्ने बटुवा देखि महँगा कारमा सयर गर्नेको मात्रै होइन ठूला भिभिआइपीले पनि सडक अनुसाशन पालना गर्नैपर्छ । तर, भिआइपीको सुरक्षामा हिँड्ने सुरक्षा निकायको सवारी साधनले भने ट्राफिक अनुशासन त के पालना गर्नु सर्वसाधरणलाई नै ठक्कर दिँदै हिँडेको पाइएको छ ।


पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको स्कर्टिङ भ्यानले स्कुटरलाई ठक्कर दिएको हो । शुक्रबार कमलादीबाट निवास फर्कने क्रममा बानेश्वरमा उक्त भ्यानले स्कुटरलाई ठक्कर दिएको भिडियो प्राप्त भएको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआईजी सुरज कुमार श्रेष्ठले दियोपोस्टलाई बनाए ।
भिडियो सामाजिक सञ्जालमा समेत भाइरल बनेको छ । भिआइपीको स्कर्टिङमा हिँड्ने एक सशस्त्र प्रहरीको स्कर्ट भ्यानले सडकमा ‘रफ’ चलाउँदा स्कुटरमा सवार दुई जना दुर्घटनामा परेको भिडियोमा देख्न सकिन्छ ।


ना १ झ ९५२७ नम्बरको स्कर्टिङ भ्यानले एक स्कुटर चालकसहित अर्का एक व्यक्तिलाई ठक्कर दिएर फरार भएको पाइएको छ ।


विहिबार सार्वजनिक भएको भिडियोमा उक्त गाडीले सडक अनुसाशन नै पालना नगरी जथाभावी गाडी दौडाएको देखिएको छ ।


अगाडी भने सेतो स्कोरपीओमा नम्बर नखुलेको भिआइपी दौडिरहेका थिए ।


हामी छानबीनमा छौँ : डिआइजी श्रेष्ठ


सशस्त्र प्रहरी प्रवक्ता डिआइजी सुरज श्रेष्ठले आफूहरुले छानबीनका लागि टोली पठाइसकेको बताए । ‘के भएको थियो भनेर त्यो टोलीले रिपोर्टिङ गर्नुपर्थ्यो । तर त्यस्तो पाइएन । गल्ति भएकै हो,’ उनले भने,‘हामी छानबीन गरेर कारबाही गर्छौं ।’

भिडियाे हेर्नुहाेस्

भिडियो स्रोत : सञ्जिव लामा