ओली र सिचुवान प्रान्तका अधिकारीसँग भेटवार्ता

दियो पोस्ट  

बेइजिङ, १४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार चीनका सिचुवान प्रान्तका कम्युनिस्ट पार्टीका महासचिव तथा प्रान्तका गभर्नर वाङ दोङमिङलगायतका अधिकारीसँग भेटवार्ता गरेका छन्।

भेटका अवसरमा प्रधानमन्त्री ओलीले आफूले चीनसँगको मित्रतालाई महत्व दिएको र भ्रमणबाट द्विपक्षीय सम्झौता सम्पन्न भई नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा पुगेको बताए।

उनले चीनका प्रधानमन्त्रीसँग भएको भेटवार्ताबाट नेपाल–चीन सम्बन्धमा नयाँ अध्याय थपिएको बताउँदै विभिन्न सम्झौता भएका र आफूले बोवाओ फोरममा भाग लिएको उनीहरुलाई जानकारी दिए।

प्रधानमन्त्रीले सिचुवान देङ्स्वाओ पिङ जस्ता नेताको भूमि भएको र उनकै मार्गदर्शनले चीन आज प्रगतिको मार्गमा अगाडि बढेको चर्चा गरे।
नेपालले चीनबाट विभिन्न क्षेत्रमा लगानीको अपेक्षा गरेको र व्यापार विस्तार तथा पर्यटनको विकास गर्न चाहेको बताउँदै प्रधानमन्त्री ओलीले नेपाल बुद्ध जन्मेको देश भएको हुनाले यदि चीनबाट पनि बुद्ध धर्मावलम्बीहरुले नेपाल भ्रमण गरे नेपालको पर्यटनमा ठूलो टेवा पुग्ने बताए।

नेपालले यस वर्षको सुरुमा भूकम्पको ठूलो मार खेप्नुपरेको, त्यसबाट करिब नौ हजारको मृत्यु र आठ लाख घर भत्केको अवस्थाको मार खेपिरहेकाले आफूले वोएचुवानमा गई त्यहाँको पुनःनिर्माण हेरेर पाठ सिकेको र चीनको अनुभव नेपालमा काम लाग्ने उल्लेख गर्नु गरे ।

उनले हालै संविधान जारी भएपछि नेपालको दृष्टि केवल आर्थिक विकासमा भएकाले यस प्रयासमा छिमेकी चीन सरकार तथा व्यापारी वर्गको सहयोग आवश्यक हुने पनि बताए।

सो अवसरमा पार्टी महासचिव वाङले नेपालले छेन्दुमा महावाणिज्य दूतावास खोल्ने र काठमाडौँ–छेन्दु भगिनी सम्बन्ध स्थापना हुने भएकामा खुसी व्यक्त गर्दै नेपाललाई सहयोग जारी राख्ने बताए ।

महासचिव वा¬ङलाई प्रधानमन्त्री ओलीले सकेसम्म चाँडै नेपाल भ्रमण गर्न निम्तो दिनुभएकामा महासचिवले स्वीकार गर्दै उपयुक्त अवसरमा भ्रमण गर्ने बताए।