कोरोनाको त्रासमा व्यापारीको कालोबजारी : ५ रुपैयाँको मास्कलाई ३० रुपैयाँसम्म बिक्री !

दियो पोस्ट  

काठमाडौँ, फागुन २० । काठमाडौँ उपत्यकामा मास्क नलगाई हिँड्ने मानिसहरु भेटिन प्रायः कठिन छ । केही महिनाअघि प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ उपत्यकामा मास्क नलगाई पनि हिँड्न सकिने बताएपनि उपत्यकाको वास्तविक अवस्थामा भने त्यस्तो छैन । काठमाडौँको धुवाँ धुलो र प्रदुषणबाट तत्काल मुक्तिका लागि मास्क लगाउनु पर्ने बाध्यता त थियो नै पछिल्लो समय कोरोना भाइरले मास्कको बजारको सुचक एक्कासी उच्च बनाइदिएको छ ।

छिमेकी मुलुक चिनबाट महामारिको रुपमा संसारभरि फैलिएको कोरोनाभाइरस (कोभिड–१९) कारण काठमाडौंमा मास्कको कृतिम अभाव श्रजना गर्न थालिएको छ । । चिनमा कोरोनाभाइरसको संक्रमण शुरु भएदेखि नै नेपालमा सर्जिकल मास्कको व्यापार ह्वात्तै बढेको थियो । केही दिनअघि सम्म सामान्य किराना पसलदेखि क्लिनिकहरुमा सहज रुपमा पाइने सर्जिकल मास्क कोरोनाभाइरसको त्रास फैलिएपछि अभाव हुन थालेको हो ।

कोरोनाभाइरस श्वासप्रश्वास बाट एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सर्ने भएकोले यसबाट जोगिनका लागि मास्कको अनिवार्य प्रयोग गर्न स्वास्थ्य अधिकारीहरुले उर्दी जारि गरेका थिए । विश्व स्वास्थ्य संगठनले केही दिन अगाडी नै नेपालमा कोरोनाभाइरसको उच्च जोखिम रहेको दाबी गरेपछि आतंक नै मच्चिएको छ ।


काठमाडौँकोे नयाँ बजार बस्दै आएका सुमन सोमबार सर्जिकल मास्क किन्नका लागि नजिकैको क्लिनिक पुगे । सँधै सोही मेडिकल क्लिनिक मास्क किनिरहेका सुमनले त्यस दिन भने मास्क पाएनन् । उनी सोही पसल नजिकैको पसलमा समेत पुगे तर त्यहाँपनि पाएनन् । केही परको चोकमा रहेको अल्ली ठुलो मेडिकल हलमा पुगेर मास्क मागे । पहिले ५ रुपैयाँ पर्ने मास्क उनले ३० रुपैयाँ लिए ।

त्यसको १ दिनपछि नै मास्कको बजार मुल्य ३० बाट पनि बढेको छ । क्लिनिकहरुले मनलाग्दी ढंगले मुल्य राखेर उपभोक्ता ठगिरहेका छन् । सर्जिकल मास्कको व्यापार गर्ने सर्जिकल हाउसले समेत कोरोनाभाइरसको त्रास फैलिएपछि मास्कको कृृतिम अभाव सिर्जना गरेका छन । सर्जिकल हाउसमै काम गर्ने एक व्यक्तिका अनुसार सर्जिकल मास्कको मुल्य ३० रुपैयाँ प्रतिगोटा पुगेको छ भने एउटा बाकसको १५ सय रुपैयाँदेखि २५ सय सम्म पुगेको बताए ।


स्वास्थ्य मन्त्रालय मौन !


नागरिक मास्कको कालोबजारीको सिकार भइरहेको बेला यता नियामक मन्त्रालय स्वास्थ्य मन्त्रालय भने मौन छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटालाई मास्कको कालोबजारीको विषयमा प्रश्न गर्न उनको मोबाइल नम्बरमा सम्पर्क गर्दा फोन समेत उठाएनन् ।


दैनिक कालोबजारीको खबर आइरहेको छ : उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनलाई दैनिक १० देखि १५ जनाले मास्कमा कालोबजारी भएको विषयमा जानकारी गराउने गरेको बताए ।


उनले नेपालमा प्रयोग हुने मास्कको गुणस्तरियता मापनमा समेत सरकारले ध्यान नदिएको र कस्तो मास्कले कोरोना भाइरसलाई प्रतिरोध गर्नसक्छ भन्ने विषयमा समेत सरकारले जनतालाई जानकारी नदिएको उनले बताए । व्यापारीहरुले चीनमा कोरोना भाइरसको त्रास फैलिएपछि नेपालबाट मास्क निर्यात गरेको समेत तिमिल्सिनाले बताए । नेपाली बजारमा व्यापारीहरुले नै कृतिम अभाव श्रजना गरेको उनले बताए ।

सिफारिस