कोरोनाको त्रास देखाएर मास्कको ‘ठेक्का’ विवादित व्यापारी मल्होत्रालाई दिँदै सरकार !

दियो पोस्ट  

काठमाडौं, २६ फागुन । विश्वभर कोरोना भाइरसको त्रास छ । नेपाल पनि कोरोनाको त्रासबाट अछूतो रहन सकेको छैन । सरकारले कोरोना भाइरसबाट बाँच्न काठमाडौंका सर्वसाधरणलाई घरबाहिर निष्कन नहुने बताइरहेको छ ।

फागुन २२ मा काठमाडौं जिल्ला प्रशासन कार्यालयले सर्वसाधरणलाई भिडभाडमा नजान, भेला र सम्मेलन नगर्न भन्ने उर्दी जारी गर्यो । यद्धपी नेपालमा हालसम्म कसैलाई कोरोना भाइरसको संक्रमण देखिएको छैन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुकी निर्देशक डा. रुना झाले पत्रकार सम्मेलन गरेरै नेपालमा हालसम्म कसैलाई कोरोना भाइरसको संक्रमण नदेखिएको बताइरहेकी छिन् ।

सरकारकै अर्को निकाय भने कोरोनाको त्रासमा झनै सर्वसाधरणलाई भड्काइ रहेको छ । अर्कोतिर सरकारले गर्नुपर्ने अत्यावश्यक काम व्यापारीलाई सुम्पेर सरकार खुलमखुल्ला कालोबजारीलाई बैधानिकता दिइरहेको छ ।


कोरोना भाइरसको सन्त्रासकै कारण बजारमा स्यानिटाइजर र मास्कको अभाव चौतर्फी छ । अभावको पूर्तिका लागि सरकारी निकायहरु नै क्रियाशिल हुनुपर्ने हो । तर, सरकार मातहतका निकायले गर्नुपर्ने काम एक व्यापारिक घरानाले सरकारकै सहयोगमा गर्ने सार्वजनिक गरिदिएपछि सरकार प्रति जनताको आशा मरेको छ ।


सरकारले कोरोना भाइरसको त्रासमा रहेको बेला विवादित व्यापारी दीपक मलहोत्रालाई मास्क बेच्ने जिम्मेवारी दिने भएको छ । मल्होत्राले उद्योग वाणिज्य महासंघ र सरकारको सहयोगमा मास्कको कारोबार गर्ने सार्वजनिक गरिसकेका छन् ।

स्रोतका अनुसार मल्होत्राको कम्पनिले ल्याउने मास्क उत्पादन गर्ने मेसिन लगायत कच्चा पदार्थ आयातका लागि सरकारले भन्सार छूट दिने निर्णय समेत गरिसकेको छ । उद्योग मन्त्री लेखराज भट्टले मास्क उत्पादन गर्ने मेसिन र कच्चा पदार्थलाई भन्सार छुट दिनका लागि सिफारिस गरिसकेका छन् ।

उनको सिफारिसलाई अर्थमन्त्रालयले समेत स्विकृत दिइसकेको छ । मल्होत्राले मंगलबारसम्म एकसातामा ५ लाखसम्म उत्पादन गर्ने मेसिन आउने सार्वजनिक गरिसकेका छन् । मल्होत्राको कम्पनिलाई भन्सार शुल्क छूट गराउने अर्थमन्त्रालयको निर्णयको बारेमा प्रश्न गर्न सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडालाई पटक पटक फोन गर्दा पनि उनले फोन उठाएनन् । त्यस्तै सिफारिस गर्ने उद्योग मन्त्री लेखराज भट्टले पनि फोन उठाएनन् ।


सरकारी निकायलाई निकम्मा बनाए कालाबजारीलाई प्रोत्साहन !


नेपालमा नाकाबन्दी हुँदा कृतिम अभाव श्रजना गरेर कालाबजारी मौलायो । नाकाबन्दीकै मौकामा विभिन्न अवैध धन्दा समेत चले । मौकाको फाइदा उठाउने व्यापारीहरुले नाकाबन्दीलाई आफ्नो हतियार बनाए । व्यापारी मल्होत्राले पनि कोरोना भाइरसको त्रासमा रहेको बेला सरकारलाई ‘इमाश्नल ब्ल्याकमेलिङ’ गरेका छन् ।

सरकारले नै त्रास फैलाई रहेको बेला उनले भंसार छुट मार्फत मास्क उत्पादन गर्ने मेसिन भित्र्याएर अनन्तकालसम्म धन्दा चलाउने भएका छन् । आपतकालिन अवस्थामा सरकारकै निकायहरु मार्फत सरकारले मास्क उत्पादन गर्ने मेसिन ल्याउन सक्थ्यो ।

साल्ट ट्रेडिङ कर्पोरेशन, औषधी व्यवस्था विभाग लगायतका निकायहरुले नै आपतकालिन रुपमा मास्क बनाउने मेसिन भित्र्याउन सक्थे । तर, सरकारले आफ्नै निकायहरुलाई बेकम्मा बनाएर ‘सुन तस्करीमा मुछिएका’ विवादित व्यापारी मल्होत्रालाई मास्क उत्पादन गर्ने जिम्मा लगाएको छ ।