हिमालय टेलिभिजन समस्याग्रस्त : मालिक धर्मराज भुसाल र श्याम कँडेल विरुद्ध चेक बाउन्सको उजुरी !

दियोपोस्ट संवाददाता

काठमाडौं, २ चैत्र । हिमालय टेलिभिजनमा पछिल्लो समय भाँडभैलो मच्चिएको छ । अनलाइन खबरका मालिक धर्मराज भुसाल र श्याम प्रसाद कँडेल सञ्चालकले दुई वर्ष अघि मात्रै हिमालय टेलिभिजन खरिद गरेका थिए । तर, शुरुवातकै वर्षमा लेनदेन विवाद सतहमा आएको छ । दुई वर्षअघि ललित अग्रवालसँग २० करोड रुपैयाँमा खरिद गरेको हिमालय टिभीमा हो । भुसाल र कँडेलले २०७५ जेठ २१ गते हिमालय टिभीको ९० प्रतिशत सेयर खरिद गरेका थिए र १० प्रतिशत सेयर ललित अग्रवालको छोरा चेङ अग्रवाललाई दिएका थिए । पुराना सञ्चालक चेङ र ललितले टेलिभजनको मुल्यांकनमै गोलमाल गरी भुसाललाई बेचेका थिए । त्यति मात्रै होइन श्रमजिवि पत्रकारलाई समेत तलब नदिइ उनीहरु फरार भएका थिए ।

तर गत बुधबार भने टिभी राखिएको घर कमाउण्डभित्र ललित अग्रवाल छिर्न लाग्दा सेक्युरिटी गार्डले रोकेपछि अग्रवालले प्रहरी लगाउने धम्की समेत दिएका थिए । उक्त घटनापछि उनीहरु बीचको विवाद भुसको आगोजस्तै भित्रभित्रै फैलिएको छ । दुई करोड रुपैयाँ मूल्यको चेङ अग्रवालको नाममा राखिएको दश प्रतिशत सेयरमा विवाद भएपछि उनीहरुको मुद्दा कम्पनि रजिष्टार हुँदै जिल्ला अदालतमा समेत पुगेको छ ।


अग्रवालले भुसाल र कँडेलविरुद्ध काठमाडौं जिल्ला अदालतमा ६१ लाख रुपैयाँको चेक बाउन्सको मुद्दा हालेका छन् । हिमालय टिभी अग्रवालको घरमै राखिएको थियो र अहिले टिभी खरिदकर्ताले पनि त्यही घर भाडामा लिएर सञ्चालन गर्दै आएको उनीहरुको आरोप छ । तर भाडामा लिनेले भाडा नदिएको भन्ने आरोप लगाएर बहाल भराई घर खाली गराइपाऊँ भनी अग्रवालले काठमाडौं जिल्ला अदालतमा मुद्दा हालेका छन् । भुसालले विगत नौ महिना अघिदेखि नै भाडा नतिरेको आरोप लगाइएको छ । उनीहरुले पहिलो वर्ष मासिक २ लाख ५० हजार रुपैयाँ र त्यसपछि वर्षेनी १५ प्रतिशत भाडा वृद्धि गर्दै जाने सहमति गरेका थिए । अग्रवालले हिमालय टिभी कम्पनीको कारोबारसँग सम्बन्धित सम्पूर्ण कागज झिकाइपाऊँ भनी कम्पनी रजिष्ट्रारको कार्यालयमा पनि उजुरी गरेका छन् । अग्रवालले उक्त उजुरीमा कम्पनी बिक्री गर्दाको सम्झौता पालना नगरिदिएको आरोप लगाएका छन् । टिभी बिक्री गर्दा ९० प्रतिशत सेयर भुसाल र कँडेलको नाममा र १० प्रतिशत सेयर चेङ अग्रवालको नाममा राखेर उनलाई सञ्चालक समितिमा राख्ने सहमति भएको जिकिर गरिएको छ ।

अग्रवालले टिभी बिक्री गरेको दुई वर्ष बित्न लाग्दा पनि आफूले पाउनुपर्ने झण्डै सात करोड रुपैयाँ नपाएको दाबी गर्दै आएका छन् । टिभी खरिदबिक्री नहुँदै हिमालय टिभी गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेले ३० करोड रुपैयाँमा किन्न लागेको र १ करोड रुपैयाँ बैना दिएको चर्चा चलेको थियो । तर अहिले नयाँ साहु र पुरानो साहुबीचको विवाद छताछुल्ल हुँदा त्यसमा शेष घलेको नाम कतै पनि देखिएको छैन । आफूलाई व्यक्तिगत जमानी राखेर नयाँ मालिकले बैंकबाट १३ करोड रुपैयाँ ऋण लिएको र सेयर कटाएपछिको १८ करोड रुपैयाँमध्ये झण्डै सात करोड रुपैयाँ आफूले पाउनुपर्ने टिभी बेचेको दुई वर्ष पुग्न लाग्दा पनि भुसालबाट नपाएपछि अग्रवाल अड्डा अदालतसमक्ष उजुरी गर्न पुगेको बुझिएको छ ।


कुनै समय चितवन मेडिकल कलेजसँग ब्ल्याकमेलिङ गरेर चर्चा कमाएका अग्रवाल स्वयं भने विवादित मिडिया मालिक हुन् । उनी मिडियाको आवरणमा जस्तो सुकै धन्दा गर्ने व्यक्ति हुन् ।


ललित अग्रवालले हामीलाई ६ करोड ठगी गरे : भुसाल
यता अनलाइन खबर प्रा.लीका अध्यक्ष तथा हिमालयन टिभिका मालिक धर्मराज भुसाललाई सम्पर्क गर्दा आफूहरुलाई नै ललित अग्रवाल र चेङ अग्रवालले ठगी गरेको बताए ।


भुसालले आफूमाथि लागेको आरोपको बुँदागत रुपमा यसरी खण्डन गरे ः


१. २०७५ साल जेठ २१ गते तत्कालिन सेयर होल्डर ललितकुमार अग्रवाल र च्याङ अग्रवालसँग हिमालय नेटवर्क प्रा.लि. र यससँग सम्बन्धित हिमालय प्रोडक्सन प्रा.लि, हिमालय अनलाइन प्रा.लि. र हिमालय इभेन्ट्स प्रा.लिसमेत बिक्रि गर्ने भनी कुल १३ करोड रुपैयाँ मूल्याङ्कन गरी सम्झौता भएकोमा अग्रवाल परिवारले मूल्याङ्कनको सम्पूर्ण रकम लिई हिमालय टेलिभिजन नेटवर्क प्रा.लि.को सेयरमात्र ट्रान्सफर गरेको र तीनवटा कम्पनीको सेयर दुई बर्ष बित्दासमेत ट्रान्सफर नगरी झण्डै ६ करोड रुपैयाँ नयाँ ब्यबस्थापनलाई ठगी गरेको ।

२. हिमालय टेलिभिजन नेटवर्क प्रा.लि.को सेयर कुल ९ करोड र अन्य कम्पनीको ४ करोड र च्याङ अग्रवालका नाममा रहेको १० प्रतिशत सेयर समेत बिक्रि गर्ने भनी एडभान्स लगेको दुई करोड गरी नयाँ ब्यबस्थापनले हालसम्म १५ करोड ४ लाख रुपैयाँ भुक्तानी गरिसकेको अबस्थामा अनेक बाहानाबाजी गर्दै बाँकी कम्पनीको सेयर ट्रान्सफर गर्न आनाकानी गरेको ।

३. कम्पनी ट्रान्सफर नगरेपछि भुक्तानीका लागि दिइएका चेक फिर्ता नगरेको, चेक बाउन्स गराई बदनाम गराउँछु भन्दै बार्गेनिङ र ब्ल्याकमेल गरी सो चेक बापतको रकम नगद र चेकमार्फत् लिएपछि आफुसँग राखेको चेक बाउन्स गरी ब्ल्याकमेल गर्ने कोसिस गरेको ।

४. २०७५ असार मसान्तसम्मको सम्पूर्ण आम्दानी तथा दायित्व तत्कालिन ब्यबस्थापन पक्षको हुने सम्झौता बमोजिम कर्मचारी, कर, बैंक लोन, रोयल्टी, स्याटेलाइट, छोरीको बिहे गरेको पाँच तारे होटलको बिल लगायतका गर्दा झण्डै ४ करोड ७० लाख रुपैयाँ दायित्व रहेको भनी च्याङ अग्रवालले २०७६ असार १३ गते हस्ताक्षर गरी स्वीकारेको तर अहिलेसम्म ती शीर्षकका एक रुपैयाँ पनि दायित्व भुक्तानी नगरेको । कम्पनीले पटकपटक दायित्व भुक्तानीका लागि ताकेता गर्दा पनि भदौदेखि सेयर सदस्य रहेका निज च्याङ अग्रवाल बेपत्ता रहेको ।

५. सम्झौताका बखत पाँच बर्षसम्म मौजुदा संरचना रहेको घरमै बहाल तिरेर टेलिजिभन रहने, पाँच बर्ष अगाडी कुनै पनि बहाना सम्झौता रद्द गर्न नपाइने भनी घरबहालसम्बन्धी पुरक सम्झौता भएको र सो सम्झौता बमोजिम २०७६ साल भदौ महिनासम्मको भाडा टेलिभिजन प्रा.लि.ले घरधनी च्याङ अग्रवाल र रञ्जना अग्रवाललाई भुक्तानी गरेको । तर, टेलिभिजनलाई दुःख दिने कुत्सित मनसाय राखी असोज पहिलो साता घरखाली गराइपाउँ भनी निजले मुद्दा दायर गरेको हुँदा त्यसपछाडीको भाडा अदालतमै तिर्न पाउँ भनी अदालतसमक्ष टेलिभिजनले माग गरेको ।

६. टेलिभिजन प्रा.लि.मा च्याङ अग्रवालको नाममा रहेको सेयर २०७६ मंसिर महिनाभित्र नयाँ ब्यबस्थापकलाई हस्ताक्षरण गर्ने भनी अग्रीम भुक्तानी लिएर सेयर ट्रान्सफर नगरेको, दैनिक कार्यसञ्चालनमा बाधा उत्पन्न गरेको र कार्यालय परिसरमा आई हुलहुज्जत गरेकोमा शान्ति सुरक्षा कायम गराई पाउँ भनी जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको ।

७. टेलिभजनका सेयर सदस्य वा घरबेटीसमेत नरहेका तत्कालिन सेयर सदस्य ललितकुमार अग्रवालले टेलिभिजनको अध्यक्ष हुँ भन्दै बिभिन्न निकायमा डिल गरेको, भिजिटिङ कार्ड र सोसल मिडियामार्फत् टीभीको लोगो दुरुपयोग गरेको र कतिपय स्थानमा टीभीको साहु हुँ भन्दै गलत मनसायले बार्गेनिङ समेत गरेको सुनिन आएको हुँदा टीभीसँग कुनै साइनो सम्बन्ध नभएको निजसँग टीभीसँग सम्बन्धित कुनै बिषयमा डील नगर्नु हुन अनुरोध छ ।


८. पटकपटक ताकेता गर्दा पनि न त कम्पनी ट्रान्सफर गर्ने न त पैसा फिर्ता दिने मनसाय देखाएपछि अन्ततः हामी कानुनी राज्यको शरणमा परेका छौं र काठमाण्र्डाै जिल्ला अदालतमा हाम्रो रकम फिर्ता गराई पाउँ भनी फिरादपत्र दायर गरेका छौं । यसम्बन्धमा सम्मानित अदालतबाट हामीले न्याय पाउने बिश्वास लिएका छौं ।

सिफारिस