‘लकडाउन’को पाँचौ दिनः नेपालमा पाँचौ संक्रमित भेटियो, मेडिकल सामाग्री लिन वाइडवडी चीन प्रस्थान

दियो पोस्ट  

काठमाडौँ, चैत १५ । कोरोनाभाइरस (कोभिड–१९) को महामारि रोक्नका लागि सरकारले ‘लकडाउन’ घोषणा गरेको आज ५ दिन पुगेको छ । पाँचौ दिनसम्म आइपुग्दा नेपालमा ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

शुक्रबार बागलुङकी १९ बर्षीया युवतीमा कोरोनाभाइरस पोजेटिभ देखिएपछि नेपालमा संक्रमितको संख्या ५ पुगेको हो । चिनको वुहानबाट नेपाल आएका पहिलो संक्रमित उपचार पश्चात सामान्य अवस्थामा घर फर्किसकेका छन् । गत चैत १० गते नेपालमा दोस्रो संक्रमित फेला परेको थियो । फ्रान्स बाट कतार हुँदै नेपाल आएकी १९ बर्षीया युवतीमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।

शुक्रबार संक्रमण पुष्टि भएको वागलुङकी युवती पनि सोही फ्लाइटमार्फत नेपाल आएको पाइएको छ । स्वास्थ्य मन्त्रालयले चैत ४ गते कतार एयरको क्युआर ६५२ को उडानमार्फत नेपाल आएका यात्रुहरुको बारेमा अनुसन्धान गरेको थियो । फ्लाइटमा बागलुङकी ती युवती पनि रहेको भन्ने विवरण प्राप्त भएपछि उनको श्वाव परिक्षण गरिएको थियो । परिक्षणपश्चात कोरोना पोजेटिभ देखिएपछि उनलाई आइशोलेसनमा राखिएको छ ।

तेस्रो संक्रमित भने धादिङ नेत्रावती डबजोङ गाउँपालिकाका उर बहादुर तामाङ हुन् । उनि दुबईबाट नेपाल आएका थिए । चौथो संक्रमित धनगढीका एक ब्यक्ति रहेका छन् । सरकारले उनको परिचय भने खुलाएको छैन ।

चिनबाट स्वास्थ्य सामाग्री ल्याइने

कोरोना संक्रमितको संख्या बढ्न थालेपछि चिकित्सक र अन्य मेडिकल कर्मचारीहरुमा त्रास समेत फैलिएको छ । चिकित्सकलाई आवश्यक सुरक्षा सामाग्रीको अभाव हुँदा कोरोना आशंका गरिएका र संक्रमितहरुको उपचारमा संलग्न हुन नसकेका हुन् ।

सरकारले नेपालमा कोरोनाभाइरस पहिचान गर्ने र चिकित्सकहरुलाई आवश्यक सामाग्री चिनबाट ल्याउने भएको छ । शुक्रबार नेपाल एयरलाइन्सको वाइडबडी जहाज चिनतर्फ प्रस्थान गरिसकेको छ । चिन सरकारले नेपालमा कोरोनाभाइरस बिरुद्ध लड्न सहयोग गर्ने भएपछि आवश्यक सामाग्री ल्याउन लागिएको हो ।

उच्च सतर्कता

लकडाउनको पाँचौ दिनसम्म आइपुग्दा उपत्यका लगायत देशका सबै ठाउँहरुमा कडाई गरिएको छ । सर्वसाधारणहरुलाई अत्यावश्यक काम नपरि घरबाट ननिस्कनका लागि सरकारले आग्रह गरेको छ । त्यसको प्रभावकारी कार्यान्वयनका लागि प्रहरी प्रशासन र सैनिकहरु सडकमा परिचालन भएका छन् ।

शनिबार बिहान मात्रै लकडाउन उल्लंघन गर्ने २ सय १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यस्तै दर्जनौ सवारी साधनहरुलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

डिस्इन्फेक्सन स्प्रे छरियो

सरकारले राजधानीको विभिन्न स्थानहरुमा डिस्इन्फेक्सन स्प्रे छर्ने काम गत शुरु गरिसकेको छ । विशेषगरि मानिसहरुको बढी भिडभाड हुने स्थानहरुमा भाइरसको संक्रमणबाट बचाउनका लागि प्रहरीको समन्वयमा स्प्रे छरिएका हुन् ।

उपत्यका बाहेक विभिन्न जिल्लाहरुमा समेत डिस्इन्फेक्सन स्प्रे छरेर कोरोना भाइरसको संभावित संक्रमणलाई न्युनिकरण गरिएको छ ।