पूर्वमन्त्रीको सुझाव : प्रहरी साथीहरु, लाठी जनतालाई होइन काला बजारीयालाई हानौँ !

दियो पोस्ट  

दलजीत श्रीपाली

सुरक्षाकर्मी मित्रहरु !


चीनले ज्यानमारा रोग कोरोना भाइरस (कोभिड(१९) विरुध्द आधारभुत सफलता हासिल गरेपनि औषधी र नियन्त्रण पद्वति पत्ता लगाई सकेको अवस्था छ्रैन । यद्धपी यो रोग महामारीको रुपमा विश्वभर फैलिइसकेको छ । कोरोनाको संक्रमणबाट हाम्रो देश पनि अछूतो रहन सकेको छैन । कमजोर स्वास्थ्य प्रणाली र अप्रयाप्त सावधानीले गर्दा नेपालमा कोभिड (१९) फैलन सक्ने संभावना बढेर आएको छ । नियन्त्रणको लागि सुरक्षाकर्मी सडकमा उत्रिनु परेको यथार्थ सवैलाई अवगतै छ ।
देश लकडाउनमा छ । सुरक्षाकर्मी सडकमा उत्रिएका छन् । स्वास्थ्यकर्मीहरु अस्पताल,उपचार केन्द्रहरुमा छन् । जनताहरु घरभित्रै र क्वारेन्टाइनमा छन् । रोग, भोक र शोकले जनताहरुमा खैलाबैला पैदा भएको छ । बुद्धको भूमि भनिएको देश नेपाल कोरोना भाइरसको आतंकले प्रताडित र अशान्ति छाएको छ ।

कोरोना भाइरसमाथि विजयी प्राप्त गर्ने महाअभियानको नेतृत्व नेपाल सरकार नै हो । जनताका अभिभावक सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा सुरक्षा निकायसंग सम्बन्धित मन्त्रालय र माननीय मन्त्री ज्युहरु कोरोना भाइरस विरुध्दको मोर्चामा नेतृत्व गरिरहनु भएको छ । लाखौं सुरक्षाकर्मीहरु विभिन्न आर्कमा तैनाथ छन् । संभवत ः इतिहासमै यो शक्तिशाली मोर्चा हो । शक्तिशाली र स्थापित नेतृत्व रहेको मोर्चाले विजयी प्राप्त गर्ने कुरामा दुईमत छैन । तर लडाईको मोर्चामा हेक्का राख्ने कुरा (कमाण्डर सहासिक र डिक्टेटरसिप लागु गर्ने विचार र युद्धकला सहित एक्टिभ हुनै पर्छ । लडाइ सफल पार्न नेपाली नागरिकको हैसियतले हामी सबै सक्रिय सहभागी छौं ।
एउटा सत्य कुरा देश र जनताको संकट र सुरक्षामा जहिले र जहाँ पनि राज्यलाई सुरक्षाकर्मी नै चाहिन्छ । विनाशकारी प्राकृति प्रकोप, युद्ध, महामारी रोगबाट जब देश र जनता नै अस्तव्यस्त हुन्छन, तव सुरक्षाकर्मीलाई नै पहिलो मोर्चामा खटाईन्छ । राहत ,उद्दार लगायत जनसेवामा सुरक्षाकर्मीहरु अहोरात्र खटीएका इतिहास साक्षी छ । आज हाम्रो सामु विश्व समुदायले नै भोगिरहेको कोरोना भाइरसको हमलाले हामी नेपालीहरुको जनजीवन निकै कष्टकर बनेको छ । यो स्थिति आउनु नेपाल र नेपालीहरुको सामुने खतराको घडी हो ।
कोरोना भाइरसले विश्वभरी हजारौं मानिसको ज्यान लिईसकेको छ । लाखौं मानिस रोगबाट संक्रमित छन् । केही मानिसको उपचार भएको र भैरहेको पनि छ । विश्व नै तहसनहस भएको छ,मानव समुदाय अस्तव्यस्त छ । यो डर लाग्दो र अति नै नराम्रो अवस्था हो । ईटाली लगायत कोरोना भाइरसग्रष्त देशहरुबाट शिक्षा लिनु पर्नेमा नेपाल चुकेकै हो । कोरोना भाइरस नेपालमा नआइपुगेको,धेरै नदेखिएको,हामीलाई केही हुदैन, ढुक्क बसौं भन्ने सोचले गर्दा आज हामी भयाबह परिस्थितिसंग लड्नुपर्ने हुनसक्छ ।
नेपालमा लकडाउनको अवस्था छ । जनताका लागि दैनिक आवश्यक वस्तुहरुको आपुर्ती र व्यावस्थापन गर्न गाह्रो भएको छ । सरकारी कार्यलय सबै ठप्पै छन् । पसल, व्यापार व्यावसाय पुरै बन्द छ । बाहिर निस्क्यौ रोग छ, भित्रै बसौं भोक छ । समस्यामा निस्क्यौं लट्टी खाईन्छ, अस्पताल हो कि आर्यघाट पुगिने हो । मनभरी डर छ, खानेकुरा झिकेर खाऊ आफ्नो छैन, किनेर खाऊ कोठा बाहिर जान मिल्दैन,मर्नु न बाँच्नुको अवस्था छ । जनता चाहन्छन् भोट हालेर जिताएका नेतृत्व र बनेका संघ,प्रदेश र स्थानिय तहका सरकारहरुले लकडाउन अवधिभर जनतालाई पाल्न र सुरक्षित गर्न सकुन । सरकारले आर्थिक प्याकेजका कार्यक्रम घोषणा गरोस् । माग यो छ तर आवाज उठायो कि लट्ठी हान्ने, ठाउको ठाउ ढाल्ने, हिरासतमा लिने र जेल कोच्ने पो हुन कि मनभरी जनतालाई डर छ । के भयो हाम्रो देश नेपालमा यस्तो ? अनेक थरी प्रश्नहरु उब्जिएका छन जनताका दिमागमा ।
जनताले बारम्बार उठाउँदै आइरहेका राष्ट्रियताको भावले ओतप्रेत जनआवाज र देशको आवश्यकतालाई समयमा बुझेर भारत नेपाल सिमानामा पर्खाल हुन्थ्यो र सुरक्षाकर्मी तैनाथ भै कदा ड्युटी दिन्थे भने जनताका ढाड सेक्नु पर्दैन्थ्यो । समयमा एयरपोर्ट नै अनिश्चित कालको लागि बन्द गरिदिएको भए कोरोना भित्रिदैनथ्यो । उच्च सतर्कता अपनाउनु छैन लट्ठी र बन्दुकको भरमा नाङ्गो हात जनताको भीडलाई नियन्त्रण गर्नु परेको छ। स्वास्थ्यकर्मीलाई ,माक्स,चश्मा,पंजा,गाउन, औषधी लगायत ईक्विपमेन्ट चाहिन्छ तर सुरक्षाकर्मीलाई आफ्नो जिन्दगी कति जोखिममा छ । न त गतिलो मास्क छ न त प्रयाप्त सेनीटाइजर, न त चाहिएको बेला सावुन पानी ? भोकभोकै , पसिना पुछ्दै लट्ठी र बन्दुकको भरमा ड्युटी । रोगी छन् र रोग सर्छ भने विकराल परिस्थितिका सृजना यसरी नै हुनेछ । नेपाल सरकार र सुरक्षा निकायको प्रमुख यसबारे किन चिन्तित छैनन् ? आदेशको भरमा आवेगमा आएर पिडामा छटपटाईरहेका जनतालाई अस्पतालै पुर्याउने गरी कुटेर समस्याको समाधान हुँदैन । अटेरी गर्ने, लकडाउन उलंघन गर्ने जो कसैलाई पनि कानुनी कार्वाही गर्न आवश्यक छ । जनताको साथी, जनताको दुश्मनी बन्न सुरक्षाकर्मीलाई रहर त छैन, तर बाध्यताले जनसम्बन्ध बिगार्नु पनि त भएन नि, विवेक पुरयाउन जरुरी छ । बरु सरकारबाट खाद्यान्न राशन पानी, औषधी लिएर जनताका घरदैलो पुग्नुस् स्वागत गर्छन, सुरक्षाकर्मीहरुलाई, सम्झन्छन् बांचुञ्जेललाई ।
लकडाउनलाई जनताले स्वागत गरेका छन् । दिनदाहाडै बढिरहेको कालोबजारी, व्यावसायिक अराजकता, लुट र ठगिका घटनाहरुले सर्वसाधारण जनताले समेत सरकारका क्रियाकलापमाथि प्रश्न उठाइरहेका छन् । जनतालाई लट्ठी हान्नुको सट्टा कालोबजारी, लुटेरा, ठगी कार्यमा संलग्न व्यक्ति, संघ संस्थाहरुलाई कार्वाही गर्ने, सरकारले भर्खरै गरेका निर्णयहरु यथाशिघ्र कार्यन्वयन गर्ने, अध्यायन अनुगमन गर्ने तर्फ लाग्नु पर्छ । सरकारले अनुरोध गर्ने होईन निर्णय गर्ने र कार्यन्वयन गर्ने हो । दुई तिहाई बहुमतको शक्तिशाली सरकार विपतको बेला जनताको साँच्चिकै अभिभावक बन्न सक्नुपर्छ । काम गरेर देखाउने , इतिहास रच्ने अवसर आएको छ । लकडाउन सफल पार्न र संक्रमणबाट देशलाई बचाउन जनताहरु बरु भोकै मर्न तयार छन, तर कोरोना भाइरसबाट मर्न चाहन्नन् ।
सुरक्षाकर्मी मित्रहरु ! नालापानी युद्ध,नेपाल एकिकरण,प्रजातन्त्र, पंचायती शासन, जनआन्दोलन, जनयुद्ध, अधिकारका निम्ति भएका संघर्षहरुमा दमन र प्रतिरोधमा जनता नै निर्णायक बनेका थिए । विनाशकारी महाभुकम्प, महामारी रोगहरुबाट पुगेको क्षति र भोगेको पिडा जनतालाई नै थाहा छ । सुरक्षाकर्मीहरु समाजमा तपाईं हाम्रो पुर्खा र पछिल्लो पुस्तामा हाम्रो परिवारलाई पिडा के हो त्यो राम्ररी थाहा छ । आखिर जनता पनि देशको रक्षाको लागि बर्दी बिनाका सुरक्षाकर्मी नै हुन । कोरोना भाइरस कोभिड (१९) विरुध्द (एकजुट होऔँ, आफु पनि बाँचौं र अरुलाई पनि बचाऔ, लकडाउन सफल पारौं, देशलाई संक्रमण हुनबाट बचाऔ !!

सिफारिस