गोल्छासँग करोडौं बार्गेनिङ गर्ने गोविन्द थापाको हातमा ६५ अर्बको औद्योगिक पार्क !

गोल्छासँग करोडौं बार्गेनिङ गर्ने गोविन्द थापाको हातमा ६५ अर्बको औद्योगिक पार्क !

काठमाडौं, १७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आईतबार नेपालकै ठूलो र दक्षिण एशियाकै नमूना भनिएको चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास गरे । झापाको दमकस्थित रतुवा र मावा नदीबीचको एक हजार चार सय २२ हेक्टर क्षेत्रफलमा निर्माणाधिन पार्कमा चीनले ६५ अर्ब रुपैयाँ लगानी गर्दैछ । शिलान्यास नहुँदै २ अर्ब रुपैयाँ भने सकिइसकेको छ ।

चीनको महत्वाकांक्षी योजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत निर्माण हुने औद्योगिक पार्क निर्माण र सञ्चालनको जिम्मा चिनियाँ कम्पनी ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोईन्ट कन्स्ट्रक्सन कम्पनीले पाएको छ ।

तर, पार्कको अध्यक्ष भने प्रधानमन्त्री ओलीकै सचिवालयमा कुनै समय रजगज गरेका गोविन्द थापा छन् । ओलीको सचिवालयमा बसेर उनले तत्कालिन धनाड्य सांसद राज्य लक्ष्मी गोल्छासँग बार्गेनिङ गरेर करोडौँ रुपैयाँ हात पारेका थिए ।


तत्कालिन नेकपा एमालेलाई ७ करोड रुपैयाँ बुझाएर सांसद भएकी गोल्छाले गोविन्द थापाले समेत आफूसँग पटक पटक पैसा लगेको बताएकी थिइन् ।

कान्तिपुर दैनिकलाई गोल्छाले दिएको अन्तर्वार्तामा भनेकी छिन्,‘केही युवा संघ सम्बद्ध व्यक्तिहरु हुन् । मलाई काठमाडौं प्रवेश गरेपछि ज्यान जोखिममा हुने भन्दै धम्की दिए । यो कुरा मैले केपी सर, माधव नेपालसँग गरेकी छैन । झलनाथ खनालले सिंधै पाँच करोड सहयोग नगरे सभासद बनाउन नसक्ने कुरा गरे । त्यो बेला गंगाधर तुलाधरसँगै थिए । अनि, गोविन्द थापालेपनि १ करोड रुपैयाँ भन्दा बढी लगेका छन् । अरु कुरा सार्वजनिक गरेपार्टीमा ठूलो घाटा हुने भएकाले आवश्यक परे सार्वजनिक गरौंला । मसँग सबै प्रमाण छ । अहिले म सार्वजनिक गर्न चाहन्नँ । युवा संगठनका भूपाल राई, परशुराम बस्नेत र निरु पाललगायतले ६२ लाख रुपैयाँ लगेका छन् । बकाइदा लिखित रुपमा दिएका छौं । विनोद ढकाललाई २५ लाख रुपैयाँ, राजविराजका सुमन प्याकुरेल र उनकी छोरी सुज प्याकुरेल, उनकै छोरा सुयसको घरमा केपी सर गएकै बेला विनोद ढकालहरुले बार्गेनिङ गरेर ५० लाख रुपैयाँ, ऋषि पोखरेलले १० लाख रुपैयाँ लगे । त्यो क्षेत्रका केपी ओली सर्मथकलाई ५ लाख रुपैयाँ भन्दा मैले कम सहयोग गरेकी छैन ।’


तत्कालिन युवा संघका उपाध्यक्ष समेत रहेका थापा प्रधानमन्त्री ओलीको सचिवालयमा समेत कार्यरत थिए । औद्योगिक क्षेत्रसँग प्रधानमन्त्री ओलीका तर्फबाट चन्दा उठाउन खटिएका थापालाई नै ओलीले ६५ अर्बको औद्योगिक पार्कको जिम्मा लगाएका छन् । आइतबार झापामा आयोजित सभामा थापाले प्रधानमन्त्री ओलीलाई ‘औद्योगिक क्रान्तिका बा’ घोषणा गरे ।


स्रोतका अनुसार थापाले बालुवाटारमा एउटा कार्यालय नै खडा गरेर प्रधानमन्त्री ओलीको समर्थनमा अनलाइन पोर्टल सञ्चालन गरेका छन् । उक्त अनलाइन मार्फत औद्योगिक पार्कको विज्ञापन समेत गरिएको थियो । उक्त अनलाइनले प्रधानमन्त्री ओलीको गुणगान गाउने गरेको छ भने सत्ता विराधीको शक्तिको विषयमा अफबाह फैलाउने गरेको छ ।

बालुवाटारस्थित उनले सञ्चालन गरेको एक अनलाइनको कार्यालय

त्यति औद्योगिक पार्कको जिम्मा पाएका थापा कोरोना महामारीबीच सरकारले खरिद गरेको मेडिकल सामग्री प्रकरणमा समेत मुछिएका थिए । ओम्नी समुहसँगको साँठगाठमा भएको घोटालामा उनी समेत समलग्न भएपनि कुनै कारबाही भने भएको छैन ।


उनै थापाको समलग्नतामा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा समेत भद्रगोल भइरहेको छ । महाप्रबन्धक सुवास सिटौलालाई ‘बाइपास’ गर्न उनले अध्यक्ष रहेका नन्द किशोर बस्नेतलाई दुई पटकसम्म विभागिय मन्त्रीलाई समेत थाहा नदई नियुक्ती दिलाएका छन् । केहीदिन अघि पनि सिटौलालाई हटाइएको थियो ।

उनको स्थानमा अध्यक्ष रहेका बस्नेतलाई नै दुवै पद जिम्मा लगाउने तयारी थियो । तर, गैरकानुनी रुपमा हटाएको भन्दै सिटौलाले अदालतको स्टे अर्डर लिएर आएका छन् ।

Trending News