काठमाडौं, १७ चैत्र । ललितपुरको कोनज्योसोम गाउँपालिकामा वडाध्यक्षकै मिलेमतोमा एक व्यक्तिको जग्गा अर्कैको नाममा पास गरेको फेला परेको छ ।
कोन्ज्योसोम गाउँपालिका ४ का वडाध्यक्ष तिर्थबहादुर घलानको मिलेमतोमा बिरबहादुर स्याङतान तामाङ भनिने बिरे तामाङको नाममा दर्ता प्रमाणित भएको अर्कै ब्यक्तिको नाममा पास भएको हो ।

वडाध्यक्ष घलानले बिरबहादुरको नाममा दर्ता नापी भएको तर जग्गाधनी पुर्जा नभएको साविक नल्लु गाविस वडा नं. ७ ख को कित्ता नंं. ४१, ४७ र ५१ नम्बरको जग्गा अर्कै बिरबहादुर भन्ने व्यक्तिका छोराहरुको नाममा जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउन सिफारिस गरेका थिए । एउटाको जग्गा अर्कैका नाममा पास गर्न सिफारिस गरेबापत वडाध्यक्ष घलानले मोटो रकम कमिसन लिएको समेत खुलेको छ ।
कसरी भयो एउटाको जग्गा अर्कैको नाममा पास
मालपोत कार्यालय ललितपुरका अनुसार साविक नल्लु गाविस ४ ख मा पर्ने कित्ता नं. २८, ४१, ४७ र ५१ नम्बरको जग्गा २०१९ साल वैशाख १ गते बिरबहादुर स्याङतान तामाङको नाममा नापी भएको थियो ।

तर पछि २०४१ फागुन २१ गते नागरिकता बनाउने क्रममा विरबहादुरको नाम बिरे स्याङतान भनेर लेखिदिएपछि उनले श्रेस्तामा कायम भएको जग्गा भोगचलन गर्दै आएपनि जग्गाधनी प्रमाणपुर्जा लिन पाएनन् ।
तर अहिले प्रमाणपुर्जा जरुरी भएपछि उनले गत माघमा जग्गाधनी प्रमाणपुर्जा ल्याउन प्रकृया शुरु गरे । सोही अनुसार मघ २१ गते वडा कार्यालयले बिर बहादुर र बिरे एउटै व्यक्ति भएकोले श्रेस्तामा बिर बहादुरको नाममा कायम भएको जग्गा बिरेको नाममा प्रमाणपुर्जा उपलब्ध गराउन वडा कार्यालयले सिफारिस पनि ग¥यो । वडाध्यक्षले गरेको सिफारिसमा बाजे सुनाराम स्याङतानको नाती केनाम सिङ स्याङतानको छोरा २०४४ साल फागुन २१ गते ७/१०४६ नम्बरको नागरिकता नागरिकता लिएका बिरेको नाममा जग्गा कायम गरिदिनु भन्ने उल्लेख छ ।
तर बिरेको छुट जग्गाको बारेमा जानकारी भएपछि वडाध्यक्ष घलानले त्यसको केहीदिनपछि सोही वडामा विरबहादुर स्याङतान तामाङ नामको अर्कै व्यक्तिका छोराहरु खोजेर उनीहरुकै नाममा सो जग्गाको लालपूर्जा दिनु भनेर अर्को सिफारिस गरेका थिए ।

वास्तविक जग्गाधनी, भोगचलन गरिरहेका विरबहादुर मालपोत कार्यालय पुग्ने तयारी गरिरहँदा ४ कित्ता जग्गामध्ये ४१, ४७ र ५१ गरि ३ कित्ता जग्गा अर्कैको नाममा पास भएको थाहा भएको थियो ।
वडाध्यक्षले लालपूर्जा लिन छुटेको जग्गा भन्ने थाहा पाएपछि हतार हतार अर्कै मान्छे खोजेर ठूलो कमिसनको आधारमा अर्को सिफारिस बनाएर जग्गा पास गरेको छिमेकीहरु बताउँछन् । अर्कैको नाममा पास भएको सो जग्गाको कूल क्षेत्रफल ३ रोपनी २ आना रहेको छ ।
सो जग्गामध्ये कित्ता नं. ५१ मा बिर बहादुरको घर रहेको छ भने अरु पाखोबारी हो । ५८ वर्षअघि आफ्नो नाममा दर्ता भएको र भोगचलन भैरहेको जग्गा पास गर्न जाँदा मालपोत कार्यालयले अर्कैको नाममा पास भएको थाहा भएपछि उनीहरु छाँगाबाट खसेजस्तै भए ।

एउटै गाउँका छिमेकीले आफ्नो जग्गा लिएको थाहा भएपछि उनीहरुले आफ्नो जग्गा फिर्ता गर्न माग गरेका थिए । जग्गा पास गर्नेहरुले आफूहरुको नियत नभएपनि अरुले जग्गा पास गर्न लगाएकोले फिर्ता गर्न तयार रहेको बताएका थिए । तर पछि उनीहरुले आफूले जग्गाको लागि लाखौं रकम खर्च गरेकोले जग्गा फिर्ता गर्न नसक्ने भन्दै आनाकानी गरिरहेका छन् ।
मालपोत कार्यालयमा रहेको मिसिल अनुसार वीर बहादुरको नामको उक्त जग्गा मानबहादुर तामाङ, साइली स्याङतान लगायत ५ जनाको नाममा नामसारी भएको छ ।
वडाध्यक्ष भन्छन्,‘मैले सर्जमिन गरेको होइन’

यता वडाध्यक्ष तिर्थ बहादुर घलानले आफुले उक्त जग्गा सर्जमिन गर्दा फिल्डमा नगएको बताए । यद्धपी दियोपोस्टले प्राप्त गरेको कागजातमा उनले नै सर्जमिनमा हस्ताक्षर गरेका छन् ।
‘एउटै मान्छेलाई सिफारिस गरेर जग्गा नामसारी गरेर ल्याएको हो । अनि अर्को मान्छेले फिल्ड बुक र जग्गाको श्रेस्ता उतार्नु पर्यो भनेर हाम्रो कार्यालयमा आएको हो । त्यसैको सिफारिस लेखिदिनु भन्यो । फिल्डबुक र श्रेस्ता त उतार्नु पायो नी । नामसारीको लागि वडाले सिफारिस दियो । फेरी एक डेढ वर्षपछि मेरो यो जग्गाको फिल्ड बुक र श्रेस्ताको लागि सिफारिस दिनु भनेर सिफारिस माग्न आयो,’ उनले भने,‘सिफारिस दिएर पठाउँदा उहाँको जग्गा अर्कैले लगिसकेको भन्ने थाहा भो । फिल्डबुक र श्रेस्ता उतार्न गएको मान्छेले मलाई भन्यो । भनेपछि मात्रै मलाई थाहा भो ।’
प्रश्नबाट भाग्न उनले उक्त वडामा अधिकांश व्यक्तिको नाम वीर बहादुर भएको बताए ।
‘यो वडामा बीर बहादुर नाम गरेको मान्छे ३०÷४० जना छन् । अर्को बीर बहादुरले यो जग्गाको श्रेस्ताको सिफारिस लग्यो । अर्कैको रहेछ भनेर वडामा आएको हो । सर्जमिनमा कसैलाई बोलाइएन,’ उनले भने,‘मालपोतको मान्छेले आएर वडामा सर्जमिन गरेछ । हामी जानुपर्दैन । मैले लास्टमा प्रमाणीत गरेको हुँ । म गएको छैन । सात जनाले भनेपछि मैले प्रमाणीत गरको हुँ । एउटै जग्गाको नामसारी दुई जनालाई गर्नुस् भनेर हामी त्यहाँ गएको छैन ।’
एकै जग्गा दुई जनाको नाममा पास हुँदा समेत उनले आफूहरुले त्यस्तो नगरेको पटकपटक दोहोर्याए ।
‘भोग चलन उनीहरुले गरेको छ । नल्लुमा यस्तो केस १०–१५ परेको छ । हामीले दुवै जनालाई सिफारिस गरेको छैन । अर्काको नाममा गइसकेको भन्ने हामीलाई थाहा थिएन,’ उनले भने,‘दुई वटैको नाम वीरबहादुर । यहाँ वीर बहादुर धेरै छ । वडामा बोलाएर छलफल भइरहेको छ । सोमबार फेरी बोलाएको छ । सर्जमिन गर्ने मान्छे सबैले सजाय भोग्न पर्छ । यो ठूलो केस होइन हामी मिलाउँदै छौँ । अर्को १२ रोपनी जग्गा त अहिलेसम्म अख्तियारदेखि ठूला मिडियाले उठाएर केही भएन । तपाईंकै प्रक्रियामा जानुस् ।’
वडाध्यक्षकै बद्मासीले यो भएको हो : गुरु भट्ट
यता जिल्ला मालपोत कार्यालयका कर्मचारी तथा सर्जमिनमा समलग्न गुरु भट्टले वडाध्यक्षकै बद्मासीका कारण यस्तो घटना भएको बताए ।
‘हामी अहिले त्यही वडाध्यक्षलाई भेट्न जाँदैछौँ । वडाले नै सर्जमिन सिफारिस गरेको छ । हाम्रो सर्जमिनमा प्रमाणित नै वडाध्यक्षले गरेको छ,’ भट्टले दियोपोस्टसँग भने,‘वडाध्यक्षकै दस्तखत छ । जग्गाधनीलाई हामीले बोलाइसकेका छौँ । जग्गा कहीँ विक्री भएको छैन । त्यतिबेला सर्वे नापीको पुर्जा लिएर आएका कारण पास भएको हो ।’
अहिले अनुसन्धान नभई आफुहरुले केही भन्न नसक्ने उनले बताए । यद्धपी मालपोत कार्यालयमा रहेको जग्गाको मिसिल भने उनै भट्टले लुकाएर राखेका छन् ।
‘म सहयोग गर्छु आएर मिसिल हेरौँ । म पनि १२ वर्ष पत्रकारिता गरेर आएको हुँ । टिका भट्ट मेरो दाई हुनुहुन्छ । उहाँ पत्रकार महासंघको सभापति हुनुहुन्छ । कान्तिपुरको सह सम्पादक सुजित महत पनि मेरो साथी हो,’ भट्टले भने,‘हामीले पत्रकारीतासँगै गरेको हो । पृष्ठभूमि एकै हो । सरहरुले जायज कुरा उठाउनुपर्छ । भोली सत्यमा आधारित होस् । म अहिले ट्याक्सी रिजर्भ गरेर जाँदैछु । भोली आएर भेटौँ । वडाध्यक्षले के का आधारमा गरिस् भनेर म सोध्छु । आज एकदिनलाई ब्याक हौँ ।’