काठमाडौं । केहीदिन अघि चितवन प्रहरीले करिब साढे ३ करोड मुल्य बराबरको लत्ता कपडासहित ४ वटा मालबाहक ट्रकलाई नियन्त्रणमा लियोे । ईलाका प्रहरी कार्यालय खैरहनी चितवनका प्रमुख इन्सपेक्टर सुवास भट्टका अनुसार नियन्त्रणमा लिएको उक्त ट्रक चालक सहित भंसार छली गरेर ल्याइएको लत्ता कपडा पर्सास्थित वीरगन्ज भंसार कार्यालयलाई नै पठाइएको छ । ‘हामीले पक्राउ गरेपछि बील बिजक र भंसार तिरेको कुनै कागजात भेटेनौँ । करिब साढे ३ करोड विगो दाबी गरेर वीरगन्ज भंसार कार्यालयलाई नै थप अनुसन्धा गर्न पठाएका छौँ,’ भट्टले भने,‘भंसार छलीको अनुसन्धान गर्ने काम प्रहरीको होइन । भंसार विभागकै हो ।’
गत फागुन १२ गते इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रहरी निरिक्षक सुवास भट्टको कमाण्डमा खटिएको प्रहरीले बाहिर फलामको डण्डी देखाएर भित्र कपडा लुकाएको अवस्थामा चार वटा ट्रक फेला परेको थियो । उक्त गाडीमा ८६ वटा पोका कपडा भेटिएको थियो । तर, उक्त कपडाहरु भंसारकै सेटिङमा काठमाडौंका लागि छाडिएको भेटिएको छ । प्रहरीले पक्राउ गर्नुअघि भंसार कार्यालयका कर्मचारीहरुले आर्थिक प्रभावमा परेर ती गाडीहरु छाडेका थिए ।
स्रोतका अनुसार वीरगन्ज भंसार कार्यालयका प्रमुख प्रशासक अरुण पोखरेलले तस्करहरुसँग साँठगाँठ गरेर उक्त लत्ता कपडाहरु भन्सार नै नतिराई काठमाडौं पठाएका थिए । तर, प्रहरीले खैरहनीमै पक्राउ गरेर फेरी अनुसन्धान लागि वीरगन्ज भन्सार कार्यालयलाई नै विगो दाबीसहित फिर्ता गरिदिएपछि यतिबेला पोखरेल र तस्करहरु तनावमा परेका छन् । स्रोतका अनुसार यतिबेला तस्करहरु बीरगन्जमै केन्द्रित भएका छन् ।
बीरगन्ज क्षेत्रमा तस्करको बादसाह भनिने मदन कुमार गुप्ता, राजु थापा भनिने राजेन्द्र थापा लगायत दर्जनौँ तस्करहरु यतिबेला माल छुटाउनका लागि वीरगन्ज क्षेत्र पुगेका छन् । स्रोतका अनुसार उनीहरु भंसार प्रमुखसँगको सेटिङमै काठमाडौंसम्म माल पठाउँदा पनि प्रहरीलाई कसले सुचना दिएर पक्राउ गर्न लगायो भन्दै आक्रोशित बनेका छन् ।
को-को छन् तस्कर ?
नेपालमा भारतबाट यसरी अवैध तस्करी गर्ने मुख्य नाइके रमा शंकर कलवार हुन् । त्यस्तै आनन्द जलान पनि मुख्य तस्कर हुन् । अर्का नाइके गुड्डु गुप्ता, सनोज कलवार, मनोज कल्वार लगायत तस्करहरु भारतको रक्सौलका बासिन्दा हुन् । तस्करीको बादशाह भनेर चिनिने मदन गुप्ताले वीरगन्ज नाकाको जिम्मा लिएका छन् । उनै गुप्ताको भंसार सेटिङमा यस्ता माल तस्करी हुँदै आएको छ । गुप्ताले महाशक्ती ट्रान्सपोर्ट संचालन गर्दै आएका छन् । उनले सानेपामा ठूलो स्टोर गराउने र न्युरोडका पसलहरुमा पुर्याउने गरेका छन् ।
वीरगन्ज भन्सारमा सेटिङमै सामान ल्याउँदा पनि बाटोमा प्रहरीले पक्राउ गरेपछि गुप्ताले यतिबेला भैरहवाको रुट प्रयोग गर्न थालेका छन् । राजश्व अनुसन्धान विभागको भैरहवा कार्यालयमा समेत गुप्ताले राम्रै सेटिङ गरेको स्रोत बताउँछ । नवलपरासी भैरवा कपिलवस्तु नाकाबाट रामेश्वर तिवारीहरुले समेत तस्करी गर्दै आएका छन् । वीरगन्ज नाकामा राजु थापा भनिने राजेन्द्र थापाहरु पनि सक्रिय छन् । ट्रास्पोर्ट व्यावसायी संघ वीरगन्जका अध्यक्ष बालकृष्ण पोखरेल पनि तस्करीमा सक्रिय व्यक्ति हुन् । तस्करीका मुख्य नाइके रमाशंकरको न्युरोडमा एक अर्बभन्दा बढी लगानी रहेको स्रोत बताउँछ ।
त्यस्तै गुड्डु गुप्ताले न्युरोड क्षेत्रमा ३० करोड रुपैयाँ लगानी गरेका छन् । सनोज र मनोज कल्वारले न्युरोडमै ४० करोड बराबर लगानी गरेका छन् । उनीहरुको लगानीमाथि सम्पत्ति सुद्धिकरणले छानबीन गर्ने हो भने सबैको सम्पत्ति जफत हुने अवस्थामा रहेको स्रोतले बतायो । तस्करीबाट रुन्चे भनिने मदन गुप्ता, रामेश्वर तिवारी, बालकृष्ण पोखरेल र राजु थापाहरुले अर्बौंको साम्राज्य खडा गरेका छन् । हाल मनोज कलवारलाई राजश्व अनुसन्धान विभागले पक्राउ गरेपछि तस्करहरुको भागभाग भएको छ ।
तस्करसँगको साँठगाँठको विषयमा प्रश्न गर्न वीरगन्ज भंसारका प्रमुख प्रशासक अरुण पोखरेललाई पटक पटक सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् । सुचना अधिकारी सुमित गुप्ताको मोबाइलमा सम्पर्क गर्दा उनले पनि फोन उठाएनन् । कार्यालयको फोनमा पटक पटक फोन गर्दा कार्यालयको फोन समेत उठेन ।