फिरौती नदिएको भन्दै स्क्याभेटर जलाएको अभियोगमा गुण्डा नाइके अशोक तामाङसहित ६ जना पक्राउ

diyopost.com
दियो पोस्ट  शनिबार, फाल्गुण २८, २०७८ | १७:१०:५८

धादिङ । धादिङको उत्तरी भूभागमा गुण्डागर्दी गर्दैै आएका अशोक कुमार तामाङ सहित ६ जना गुण्डाहरु पक्राउ परेका छन् । तामाङ खनियाँबास गाउँपालिकामा संचालित सौर्य ज्योति कन्स्ट्रक्सनका मालिक बुद्धि तामाङसँग फिरौती मागेको र फिरौती नदिएपछि उनको स्क्याभेटर, टिफरसहित लाखौँको निर्माण सामग्रीमा आगजनी गरेपछि प्रहरीले पक्राउ गरेको हो ।

‘हामीले ६ जनालाई आपराधिक गतिविधि र उपद्रो गरेको अभियोगमा पक्राउ गरेका हौँ,’ प्रवक्ता डिएसपी जागेश्वर भण्डारीले दियोपोस्टसँग भने,‘डिटेल विवरण म अहिले भन्न सक्दिनँ । तर, पक्राउ गरेका हौँ ।’

 


पक्राउ पर्नेमा अशोक कुमार तामाङ, दिपक तामाङ, विर्ख घले, सञ्जय थोकर, सुविस तामाङर रेमन तामाङ रहेका छन् । अशोकको समुहले ठेकेदार तामाङसँग ६ लाख रुपैयाँ फिरौती मागेको र उक्त रकम एकैसाथ नदिएको भन्दै विभिन्न निर्माण सामग्रीमा आगजानी गरिदिएको हो ।

आगजनीबाट करिब ९० लाख बराबरको क्षति भएको अनुमान छ । शुक्रबार विहान ११ बजेतिर धारिलो हतियार र पेस्तोलसहित आएको उनको समुहले कर्मचारीलाई बन्धक बनाएर आगजानी तथा तोडफोड गरेको थियो । मुचुल्का अनुसार जेसिबी ब्याकलोडर पुर्ण आगजानी गरिदिएका छन् । त्यस्तै इस्कोट्स कम्पनिको अर्को ना १ ख ८२७८ नम्बरको ब्याकलाडेर भने तोडफोड गरिएको छ । अशोकको समुहले प्रदेश ३–०१–००७–०१३६ नम्बरको टिफर, बा ४ ख १६९२ नम्बरको आइचर गाडी समेत तोडफोड गरिदिएको थियो ।

अशोकको समुहले हातहतियारसहित आतंक मच्चाउन थालेपछि कर्मचारीको भागदौड मच्चिएको थियो । ‘करिब ९० लाख रुपैयाँ क्षेति भएको छ,’ तामाङले भने,‘२ महिनाअघि देखि हतियार देखाएर फिरौती माग्दै आएका थिए ।’

 

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा धादिङको क्षेत्र नम्बर २ प्रदेश (ख)को सभापति पदको उम्मेदवार समेत बनेका तामाङ मूलत गुण्डागर्दीमा सक्रिय छन् ।

 

सम्बन्धित खबर