सडक स्तरोन्नती नै नगरी गल्छी गाउँपालिकामा लाखौँ रुपैयाँ झ्वाम, वडाध्यक्षकै समलग्नता !

diyopost.com
दियो पोस्ट  सोमबार, फाल्गुण ३०, २०७८ | २३:२८:२९

धादिङ । धादिङको गल्छी गाउँपालिका ४ का वडाध्यक्ष राजु अधिकारीले चरम आर्थिक हिनामिना गरेको आरोप लागेको छ । वडाबाट बिनियोजित हुने रकममा अधिकारीले लाखौँ हिनामिना गरेको आरोप लागेको हो ।
स्थानियबासीले दियोपोस्टलाई उपलब्ध प्रमाण अनुसार अधिकारीले गाउँपालिकाबाट बिनियोजित बजेट अनियमितता गर्न आफू निकट व्यक्तिलाई उपभोक्ता समितिमा राख्ने र ती उपभोक्ता समिति मार्फत काम नै नगरी लाखौँ रुपैयाँ भुक्तानी लिने गरेको आरोप छ । गल्छी गाउँपालिका वडा नम्बर ४ मा रहेको श्री रणकालिका मन्दिर सडक स्तरोन्नतीका तथा ढलान र नाला ग्राबेलका लागि पालिकाबाट विनियोजित भएको ७ लाख ६३ हजार रुपैयाँ भन्दा बढी रकम काम नगरी वडाध्यक्ष अधिकारीको मिलेमतोमा भ्रष्टाचार भएको एक स्थानियले दियोपोस्टलाई खबर गरेका छन् ।

उपभोक्ता समितिको अध्यक्षमा आफू निकट युवराज अधिकारीलाई राखेर मनोमानीरुपमा बजेट मात्रै सकिएको स्थानियको आरोप छ । समितिमा अधिकारी सहित भगवति चालिसे, कृष्ण प्रसाद सुवेदी, प्रदिप अधिकारी, कृष्ण प्रसाद अधिकारी, राम बहादुर राना सदस्य छन् । बिनियोजित बजेट हिनामिना गर्नकै लागि गत पुस ११ गते उपभोक्ता समितिको बैठक बसेर खाता संचालन सम्बन्धी निर्णय गरेको थियो । त्यस्तै १२ गते गाउँपालिकाले उपभोक्ता समितिका अध्यक्ष अधिकारी, सचिव भगवती चालिसे र कोषाध्यक्ष कृष्ण प्रसाद सुवेदीको संयुक्त दस्तखतबाट चल्ती खाता खोल्न नविल बैंकलाई पत्राचार गरिएको थियो । गत माघ ९ गते सडक स्तरनोन्नतीको कुनै काम नै नगरी उपभोक्ता समितिका अध्यक्ष युवराज अधिकारील पटक पटक गरि ७ लाख ६० हजार रुपैयाँ भन्दा बढी रकम नविल बैंकबाट निकालेका छन् ।

‘रणकालिका मन्दिर चिरौँदी भञ्ज्याङ सडक स्तरन्नती तथा ढल नाला ग्राबेल गर्ने भनेर यति रकम झिकेको छ । तर, फिल्डमा जाँदा सडकमा कुनै काम नै भएको छैन,’ एक स्थानियले भने,‘काम नै नगरी भुक्तानी दिनुमा वडाध्यक्षको मिलेमतो छ ।’

स्थानियबासीका अनुसार अन्य कुनै सडक स्तरनोन्नती गरिरहेको डोजर मालिकलाई ४ लाख रुपैयाँ दिएर बिल भुक्तानी दिएको नक्कली बिजक बनाएर घोटाला गरिएको छ ।

वडाध्यक्ष अधिकारी नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् । सडक स्तरउन्नतीको नाममा भएको घोटालाबारे प्रतिक्रिया लिन उनको मोबाइल नम्बरमा सम्पर्क गर्दा स्विच अफ रहेको जानकारी प्राप्त भयो ।

सम्बन्धित खबर