काठमाडौं । संसदीय राजनीति गर्ने अधिकांश दल सत्ता र शक्तिको उच्च आकांक्षामा देखिन्छन् । केही महिनाअघि मात्रै राजनीतिको पर्दामा आएको राष्ट्रिय स्वतन्त्र पार्टी होस् वा संसदीय राजनीतिको कडा आलोचक मानिने मोहन विक्रम सिंह नेता रहेको पार्टी राष्ट्रिय जनमोर्चा नै किन नहोस् । उनीहरु सबै सत्ता र शक्तिको अगाडी नतमस्तक छन् । रास्वपाका समापति रवि लामिछानेले गृहमन्त्री बन्नका लागि गरेको घिनलाग्दा खेलहरुको पर्दा खुल्दै जानेछन् । तर, उनी पनि सत्ताका भोगी मात्रै हुन् भन्ने त पुष्टि भइसकेको छ ।
यता पुरानो भनिएको मोहन विक्रम सिंहले आफ्नै श्रीमती दुर्गा पौडेललाई सांसद र मन्त्री बनाउन गरेका पटक पटकका अपवित्र गठबन्धनले नेपालको राजनीतिलाई चरितार्थ देखाउँछ नै । तर, सत्ता र शक्तिमा पुगेपनि केही पात्रसँग गरेका अनैतिक क्रियाकलापका कारण ठूला र शक्तिशाली भनिएको नेता, मन्त्री र सांसद नै पदबाट हात धोएर हिँड्नु परेको छ ।
२०७० यो दशकमा केही पात्रहरुले राजनीतिको रेखा नै बदल्ने घटना घटाएका छन् । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख कृष्ण बहादुर महरादेखि नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटा र राजनीतिको फोहोरी खेलमाथि व्यंग्य गरेर उदाएको नयाँ पार्टी रास्वपाका नेता ढाकाकुमार श्रेष्ठसम्मले पद गुमाउने परेको छ ।
बहालवाला सभामुखलाई जेल पुर्याउने रोशनी शाही
२०७६ असोज १७ गते शुक्रबार तत्कालीन सभामुख कृष्णबहादुर महरा जबरजस्ती करणी प्रयासको घटनामा मुछिए । उनलाई बलात्कार तथा जबरजस्ती करणी प्रयासको आरोप लगाउने पात्र थिइन् रोशनी शाही ।
संसद सचिवालयकी कर्मचारी शाहीले उनीमाथि गम्भिर आरोप लगाएको खबर एकाएक भाइरल भयो । महरा विरुद्ध प्रहरीमा जाहेरी दर्ता भयो । विवादमा आएसँगै महराले सभामुख पदबाट राजिनामा दिए । उनी पक्राउ परे । बहालवाला सभामुख क्वार्टरबाटै पक्राउ परेको यो घटना नेपाली संचार क्षेत्रमा मात्रै होइन विदेशी संचार माध्यमसम्म प्रमुखताका साथ छापिए । न्युओर्क टाइम्समा त पहिलो पृष्ठमै छापियो ।उनी सांसद पदबाट समेत निलम्बित भए । उनी असोज १९ गते पक्राउ परेका थिए । ३० दिन प्रहरी हिरासत र १०३ दिन डिल्लीबजार कारागार जेल जिवन बिताए । पछि गएर उनै रोशनी शाहीले अदालतमा भने बयान फेरिन् । समाचार बाहिर ल्याउने पत्रकारले समेत प्रहरीमै दिएको बयान भन्दा फरक बयान अदालतमा दिएका छन् । अन्तत महराले जिल्ला अदालत काठमाडौंबाट सफाई पाए । उच्च अदलत पाटनले समेत उनलाई सफाई दिन जिल्ला अदालतको फैसला सदर (सुस) गरिदियो । सफाई पाएका महरालाई राजनीतिक जीवन र सामाजिक जीवनमा फर्किन अझै पनि सकस छ । बलात्कार जस्तो गम्भिर घटनामा सफाई पाएपनि महरालाई नेपाली समाजले भने सामाजिक रुपमा लगाएको दाग मेटिएको छैन ।
महरा जब राजनीतिक जीवनमा फर्किए तव माओवादी केन्द्रले उनलाई प्रवक्ताको जिम्मेवारी दियो । उनी अहिले प्रवक्तासहित उपाध्यक्ष पनि छन् । तर, प्रवक्ताको रुपमा उनले हालसम्म पनि एउटा पत्रकार सम्मेलन गर्न सकेका छैनन् । न त प्रवक्ताको रुपमा कुनै संचार माध्यममा प्रतिक्रिया नै दिएका छन् । बलात्कार र जबरजस्ती करणीको घटनामा समाजमा नांगो भएका महरालाई मिडियाको अगाडी उभ्याएर माओवादीले समेत उनको मजाक गरिरहेको भान हुन्छ ।
रोशनी कहाँ के गर्दै छिन् ?
उक्त घटनाको समयमा संसदकै स्वास्थ्य सेवा विभागमा कार्यरत रहेकी उनी विं सं २०७४ सालमा संघीय संसदको स्वास्थ्य शाखामा करार सेवामा प्रवेश गरेकी थिइन् । शाही अनमी पाँचौं तहमा कार्यरत थिइन् । उनी माओवादी जनयुद्धमा जनसेनाको स्वास्थ्य विभागमा कार्यरत रहेको पूर्वमाओवादी नेताहरुले बताउने गरेका छन् । पार्टी शान्ति प्रक्रियामा आएपछि दाङमा बस्दै आएकी शाहीलाई तत्कालीन सभामुख ओनसरी घर्तीले दाङबाट संसद् भवन प्रवेश गराएकी थिइन् । सोही घटनाका क्रममा शाही र उनका पति चित्रजंग शाहीबीच सम्बन्धबिच्छेद गर्ने लिखित सहमति समेत भएको थियो ।
अहिले संसद सचिवालयको उक्त जागिरमा उनी उपस्थित भएको नदेखिएको संसद सचिवालय स्रोतले बताएको छ । सामाजिक संजालमा सक्रिय रहेकी उनी पछिल्लो समय महरा र आफूबीचको सम्बन्धबारे थप खुलासा गर्दै आएकी छिन् ।
७० करोड काण्ड ल्याउने विजयप्रकाश मिश्र जसले गोकुल बाँस्कोटालाई कुर्सीबाट गलहत्याए
२०७६ फागुन ८ गते नेकपा एमालेका नेता गोकुल बास्कोटा सूचना प्रविधि तथा सञ्चारमन्त्री हुँदा ७० करोड घुस मागेको अडियो सार्वजनिक भयो । त्यो बेला केपी ओली मन्त्रिपरिषद्को शक्तिशाली मन्त्री रहेका उनले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि उक्त रकम माग गरेको अडियो सार्वजनिक भएपछि विवादमा तानिएका थिए । अडियो बाहिर ल्याउने पात्र थिए— विजय प्रकाश मिश्र । स्विस कम्पनिका स्थानिय एजेन्ट रहेका मिश्रसँग मन्त्री बास्कोटाले कुन ट्रयाकबाट जाँदा कमिसन बढी पाइन्छ भन्नेबारे सल्लाह गरेको अडियोमा सुन्न सकिन्थ्यो । अडियोमा स्वीस एम्बेसी आउने भन्दै एजन्टले मन्त्रीसँग समय मिलाउन भनेका छन् । मन्त्री बास्कोटाले ‘नर्मलमा ५० आउँछ ?’ भनेर सोधेका थिए । समान्य तवरबाट काम गर्दा थोरै कमिसन आउने भएकाले मिश्रले ‘आउट अफ ट्रयाक’बाट जान बास्कोटालाई सुझाएका थिए । यो प्रक्रियाबाट कुल ७० देखि ७४ करोड कमिसन आउने र त्यसको ७० प्रतिशत मन्त्रीलाई मिल्ने मिश्रले उनलाई बुझाएका थिए । उक्त घटनापछि उनले सन्चारमन्त्रीबाट राजीनामा दिनुपरेको थियो । तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँस्कोटालाई उन्मुक्ति दिएर छानबीन समेत गरेको थिएन ।
को हुन् विजय मिश्र, कहाँ छन् उनी ?
मिश्र राजनीतिक शक्तिहरू उपयोग गर्ने खतरनाक खेलाडी हुन् । सेक्युरिटी प्रेसमा जोडिएर नेपाल सरकारको ढोकाभित्र उनी सोझै छिरेका थिए । मिश्र कुनै समयका म्यानपावर बिचौलिया हुन् । विगतमा उनका कर्तुतका थुप्रै उजुरी परेका थिए । ‘प्रेस खरिद जसरी पनि मिलाइदिन मिश्र सबैतिर पैसाको अफर बाँड्दै हिँड्थे । सोही मिश्रसँग संचारमन्त्री जस्तो उच्च अहोदामा बसेका बाँस्कोटाले पैसाको बार्गेनिङ्ग गरेका थिए । नैतिकताको आँखाले हेर्दा बाँस्कोटाले ठूलो भ्रष्टाचार गरेका थिए । तर, उनीमाथि कुनै छानबीन समेत नभई उन्मुक्ति दिइयो । अहिले उनी नेकपा एमालेको शक्तिशाली सांसद छन् ।
अख्तियारले उनलाई बयानका लागि पटक–पटक ताकेता गर्यो, तर टार्दै आएका उनी अन्त्यमा कानुनी वारेसमार्फत लिखित जवाफ दिएर सम्पर्कविहीन भएका छन् । उनी अहिले नेपालमा नभई स्वीजल्याण्डमा बस्दै आइरहेको आंशका गरिन्छ ।
जसले ढाका कुमारलाई डाँका कुमार बनायो !
हालै चर्चामा आइरहेका पात्र हुन् ढाका कुमार श्रेष्ठ । पूर्वटेलिभिजन प्रस्तोता रवि लामिछाने नेतृत्वको नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सांसद श्रेष्ठले मेडिकल माफियाको पगरी पाएका व्यवसायी दुर्गा प्रसाईसँग २ करोड घुस मागेको अडिओ सार्वजनिक भयो । गत माघमा सरकार विस्तारको तयारी भइरहँदा श्रेष्ठले आफू मन्त्री बन्न लागेको र त्यसका लागि “पार्टीलाई दुई करोड बुझाउनुपर्ने” भन्दै व्यवसायी प्रसाईँसँग आर्थिक सहयोग मागेको भनिएको अडिओ केही दिन अघिमात्रै बाहिरिएको हो । उनले व्यवसायी प्रसाईसँगको संवादमा पार्टी सभापति लामिछाने निकट “कोर टिमबाट मन्त्री बनाउन पैसा माग गरिएको” दाबी गरिएको छ । सोही घटनापछि श्रेष्ठको सांसद पद समेत गुमेको छ । उनले केही दिन अघि पत्रकार सम्मेलन गर्दै २–३ महिना अघिको अडियो अहिले उपनिर्वाचनकै मुखमा किन सार्वजनिक गरेको भन्दै प्रश्न समेत गरेका थिए । यो विषयमा थप अनसन्धान भइरहेको छ ।
को हुन् दुर्गा प्रसाई, के गर्दैछन् ?
राजनीतिक संरक्षणको आडमा बसेका मेडिकल व्यवसायी दुर्गा प्रसाई अहिले चर्चामा छन् । नेकपा माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका उनी पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहसँग देखिन थालेका छन् । प्रसाईंले ‘नागरिक बचाऊ महाअभियान’ सुरु गरेका गरेका छन् । गत फागुन १ गते झापास्थित मेची पुलमा आयोजित सभाबाट पूर्वराजा शाहले व्यवसायी प्रसाईको महाअभियानको उद्घाटन समेत गरेका थिए ।
सभामा पूर्वयुवराज पारस शाह र पूर्वअधिराजकुमारी प्रेरणा शाह समेत सभामा सहभागीता देख्न सकिन्थ्यो । मेचीदेखि महाकालीसम्म हुने उक्त अभियानको उद्देश्य संघीयता खारेजी छ । साथै व्यवसायीका लागि काम गर्ने अवस्था नभएको उल्लेख गर्दै व्यवसायीमैत्री वातावरणको प्रसाईंले माग गरेका छन् । देशको संरचना पुन एकीकरण र विदेशमा रहेका नेपाली स्वदेश फर्केर उद्यम गर्ने वातावरण निर्माणका लागि महाअभियान गरिएको प्रसाईको तर्क छ । पछिल्लो समय उनी राजसंस्थाका पक्षमा पनि बोल्दै आइरहेका छन् ।
उनै प्रसाइँले ढाका कुमार श्रेष्ठलाई निलम्बनसम्म गराउन सफल भएका छन् । अडियोकाण्ड सार्वजनिक भएपछि ढाका कुमारलाई एक पत्रकारले ‘डाका कुमार भन्दै’ प्रश्न गरेको भिडियो भाइरल बनेको थियो ।