आगलागीमा रु साढे तीन लाखको क्षति

दियो पोस्ट  

गाईघाट (उदयपुर), २४ चैत । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१२ साहीखोलास्थित चन्द्रबहादुर परियारको घरमा मङ्गलबार साँझ आगलागी हुँदा साढे तीन लाख बराबरको क्षति भएको छ ।

फुसको छानो भएको एकतले घरमा आगलागी हुँदा घरभित्र रहेको लत्ताकपडासहित सबै भाँडाकुँडासमेत जलेर नष्ट भएको कुरा जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।

आगलागी भएको केही समयमा नै प्रहरी र दमकलको टोली पुगे पनि परियारको घर भने जलेर नष्ट भइसकेको उदयपुरका प्रहरी नायब उपरीक्षक ओम रानाले बताए । प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो अन्यत्र फैलनबाट नियन्त्रण गरिएको पनि प्रहरीले बताएको छ ।