चितवन, २५ चैत । स्वास्थ्य राज्यमन्त्री मुस्ताक आलमले देशको मध्यभाग भएको र स्वास्थ्य सेवाको पनि विकास भएकाले चितवनलाई मेडिकल सिटीका रुपमा विकास गर्न सरकार सकारात्मक रहेको बताए ।
आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले यस सन्दर्भमा मन्त्रालयमा गम्भीररुपमा छलफल अघि बढेको बताउनुभयो । देशका विभिन्न क्षेत्रबाट बिरामी आउनका लागि यातायातको सुविधा भएको तथा सहज दूरी भएको भन्दै उनले यहाँका स्वास्थ्य सेवा पु¥याउने अस्पताल र मेडिकल कलेजहरुको स्तर बढ्दो भएकाले मेडिकल सिटीका रुपमा विकास गर्न सहज हुने बताए ।
तराई र पहाडलाई सहजै जोड्न सक्ने गरी यातायात सञ्जाल चितवनसँग जोडिएको छ । पछिल्लो समय चिकित्सकले सरकारी अस्पतालमा कम समय दिएको भन्ने गुनासो आएको बताउँदै उनले आउँदो साताबाट अनुगमनमा कडाइ गरिने बताए । मन्त्री आलमले सरकारले तोकेको समय अस्पतालमा नदिने डाक्टरलाई कारबाही गरिने भन्दै उहाँले सरकारी अस्पतालको अनुगमनमा पनि कडाइ गरिने बताए ।
सरकारले स्वास्थ्य सेवामा ठूलो लगानी गरेको भएपनि सोचेजस्तो प्रतिफल पाउन नसकेको भन्दै उहाँले सरकारी स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन मन्त्रालय लागिपरेको बताए ।
मन्त्री आलमले गरिब जनताले आर्थिक अभावका कारण स्वास्थ्य सेवा लिनबाट वञ्चित हुन नहुने भन्दै स्वास्थ्य सेवा सर्वसुलभ बनाउने सरकारको योजना रहेको बताए ।