दक्षिण एसियामा किन संसारकै खराब वायु प्रदुषण छ ?

खुमलटार, रत्नपार्क र भक्तपुरमा ज्यादा प्रदुषण

दियो पोस्ट  

विगत केहि दिनयता काठमाडौं उपत्यकाको वायु गुणस्तरको स्तर अत्यन्तै अस्वस्थकर अवस्थामा पुगेको छ । संसारकै खराब वायु गुणस्तर भएको शहरमा काठमाडौ सबैभन्दा माथि छ । वातावरण विभागले बिहान गरेको मापनअनुसार खुमलटार, रत्नपार्क र भक्तपुरको वायुको गुणस्तर २ सय एक्युआई भन्दा माथि छ ।

विश्वभरको वायुको भर्खरको अवस्था मापन गर्ने स्विजरल्याण्डको आइक्यु एयरअनुसार बिहान ९ बजेसम्म काठमाडौ संसारकै प्रदुषित शहरमा पहिलो स्थानमा थियो । काठमाडौको वायु प्रदुषण तत्काल नहट्ने हुदा सबैलाई सर्तक रहन वातावरण विभागले आग्रहसमेत गरेको छ ।
काठमाडौ मात्र नभई दक्षिण एसियाली मुलुकका ठुला शहरको मुख्य समस्या खराब वायु गुणस्तर पनि हो । बंगलादेश, भारतको राजधानी दिल्ली, पाकिस्तानको लाहोर र कराची लगायत शहरहरु वायु प्रदुषणको हिसाबले जहिले पहिलो स्थान लिएका हुन्छन् । दक्षिण एसियाका मुख्य शहरमात्र नभई दक्षिण एसियाली मुलुकमै संसारको खराब वायु गुणस्तर किन छ त ?

सन् २०२३ को विश्व वायु गुणस्तर रिपोर्टले के भन्छ ?
सन् २०२३ को प्रतिवेदनले उपलब्ध गराएको संसारका ७ हजार ८१२ शहरको वायु गुणस्तरको अवस्थासम्बन्धि तथ्यांक केलाइएको थियो । जसमा २.५ पिएमसम्बन्धि तथ्यांक केलाइएको थियो । २.५ पिएम भन्नाले २.५ माइक्रोन वा सोभन्दा साना सुक्ष्म कणहरुलाई जनाउँछ । हावामा भएका ति कणहरु मानव स्वासप्रश्वास प्रणालीमार्फत सहजै शरिरभित्र प्रवेश गर्ने भएकोले २.५ वा सोभन्दा बढि माइक्रोनलाई हानीकारक मानिन्छ । वायु प्रदुषणका यी कणहरु धुलोसहितको आँधी, डढेलो र कृषि कार्यबाट उत्सर्जन हुने गर्छ ।
देशको वार्षिक वायु गुणस्तर २.५ पिएमभन्दा बढि हुन नदिने विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को मापदण्ड छ । उक्त मापदण्ड पुरा गर्नेमा न्युजिल्याण्ड, फिनल्याण्ड र इस्टोनियालगायत अन्य केहि मुलुक मात्र रहेका छन् ।
नेपाल, भारत, बंगलादेश, पाकिस्तानजस्ता दक्षिण एसिया एसियाली मुलुकले भने उक्त मापदण्ड हालसम्म पुरा गर्न सकेका छैनन् ।
दक्षिण एसियाली शहरहरुको वायु गुणस्तर किन खराब छ ?

वायु गुणस्तरसम्बन्धि प्रतिवेदनमा उल्लेख दक्षिण एसियाको वायु प्रदुषित हुनुको मुख्य कारण ‘इट्टाभट्टा र अन्य औद्योगिक क्षेत्रबाट उत्सर्जन हुने धुवाँ, अन्नबाली भित्राउँदा बचेको फोहोर जलाउँदा निस्कने धुवाँ र लाश जलाउदा निस्कने धुँवा’ हो । साथै जाडोको समयमा आगो ताप्न बालिने दाउरा, प्लाष्टिकजन्य फोहोर जलाउँदा, सवारीसाधनबाट निस्कने धुलो आदीले पनि वायु प्रदुषण बढाउन मद्दत पुर्याउँछ ।
बंगलादेशमा मात्र झन्डै ८ हजार इट्टाभट्टा छन् भने कतिपय अवैध रुपमा सञ्चालित छन् । नेपालमा हालसम्म २ हजार बढि इट्टाभट्टा सञ्चालनमा छन् भने भारत र पाकिस्तानमा पनि हजारौको संख्यामा इट्टाभट्टा सञ्चालनमा छन् । यी मुलुकहरुमा डढेलो, अन्नबाली भित्राउँदा बचेको फोहोर जलाउँदा निस्कने धुवाँ एक मुलुकबाट अर्को मुलुकमा प्रवेश गर्छ । र वायु प्रदुषणले रुप लिने गर्छ ।

वन जंगलमा लाग्ने डढेलो, अन्नबाली भित्राउँदा बचेको फोहोर जलाउँदा निस्कने धुवाँलाई विज्ञहरुले नेपाल र उत्तरी भारतमा पर्ने शहर र दिल्लीमा वायु प्रदुषण बढ्नुको मुख्य कारण मान्दै आएका छन् । पाकिस्तानमा पनि वायु प्रदुषणको कारण नेपाल र भारतसँग मिल्दोजुल्दो छ ।
दक्षिण एसियाको भुबनोटले पनि वायु प्रदुषण सञ्चित गर्नमा मुख्य भुमिका खेल्छ । विभिन्न क्षेत्रबाट उत्सर्जन भएको प्रदुषित वायु विभिन्न क्षेत्रबाट बहने हावामार्फत पुर्वी पाकिस्तानको ठुलो भुभाग, भारतको उत्तरी र पुर्वी भुभागसँगै नेपालको दक्षिणी भेगसम्म फैलिन्छ । र उक्त वायु उत्तरी भुभागमा रहेको हिमालयन क्षेत्रसँग ठोक्किन्छ र बाहिर निस्कन पाउँदैन । गर्मीयाममा यो क्षेत्रको हावा सहजै एक ठाउँबाट अर्को ठाउँमा बहन सक्दैन । जसको कारण उक्त प्रदुषित वायु ठुलो पानी र वेगको हावा नचल्दासम्म यथास्थानमै रहन्छ र कैयौ दिनसम्म प्रदुषण बढिरहन्छ ।
खराब वायुको असर इमेरियल कलेज लण्डनको दी एन्भारोमेन्टल रिसर्च ग्रुपले सन् २०२३ को अप्रिलमा वायु प्रदुषण सम्बन्धि एक समिक्षा प्रकाशित गरेको थियो । उक्त समिक्षाले वायु प्रदुषण र गर्भवती महिलाको स्वास्थ्य सम्बन्धलाई उजागर गरेको थियो । जसमा वायु प्रदुषणको कारण नवजात शिशुको स्वास्थ्य, कम तौल भएका बच्चा जन्मिने, गर्भपतन हुने र मृत शिशु जन्मिने खतरा रहेको उक्त प्रतिवेदनले खुलासा गरेको थियो । साथै बच्चाको बृद्धि विकास पनि सुस्त हुने उक्त प्रतिवेदनमा उल्लेख गरिएको थियो ।

यस्तै सन् २०२३ अगस्टमा सिकागो युनिभर्सिटीअन्र्तगत एनर्जी पोलिसि इन्स्टिच्युटको एयर क्वालिटी लाइफ इन्डेक्सले सार्बजनिक गरेको रिपोर्टअनुसार वायु प्रदुषणका कारण दक्षिण एसियाली शहरमा बस्ने मानिसको आयु ६ वर्ष कम हुन्छ । यदि यि मुलुकहरुले डब्ल्युएचओको मापदण्ड पुरा गर्न सकेमा घट्दो आयुलाई बढाउन सकिनेसमेत उक्त रिपोर्टमा उल्लेख गरिएको छ ।

अलजजिराबाट दियोपोस्टका लागि अस्मिता खड्काले गर्नुभएको अनुवादित अंश

 

 

सिफारिस