भक्तपुर, २७ चैत । नयाँ वर्षको आगमनसंँगै सुरु हुने तान्त्रिक महत्व बोकेको भक्तपुरको प्रसिद्घ ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेकोे लिच्छवीकालीन बिस्केट जात्रा आजदेखि सुरु भएको छ ।
आज बिहानै गणेश कर्माचार्यबाट भैरवनाथको पूजा गरी बिहान ८ बजेसम्म टोलटोलमा पूजा गरियो । दिनभर विभिन्न चरणको पूजा सकेर दिउँसो भैरव र भद्रकाली देवतालाई आआफ्नो रथमा विराजमान गराएपछि भैरवनाथको रथमा तलेजुका पुजारी उत्तमाङ्गराज राजोपाध्याय र तलेजुका नाइके नरेन्द्रप्रसाद जोशीले खड्ग, तरबार, निशान राखिसकेपछि गुठी संस्थानबाट लगेको सरकारी पूजा र स्थानीयको पूजा सकेर रथ तान्न सुरु गरिन्छ ।
नयाँ वर्षको चार दिन अगाडिदेखि सुरु भई नयाँ वर्षको पाँच दिन पछिसम्म सञ्चालन हुने बिस्केट जात्रा भक्तपुरका बासिन्दाले आठ रात नौ दिनसम्म धुमधामका साथ मनाउने गर्दछन् । बिस्केट जात्राको पहिलो दिन आज भैरवको रथ तानेर जात्रा मनाउने गरिन्छ ।
जात्रा अवधिभर प्रहरी प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ । जात्राका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सादा पोसाकका प्रहरी गरी दुई हजार प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक किरण बज्राचार्यले बताए । रथ तान्ने क्रममा झडप हुने, ढुङ्गा हानाहान हुने भएकाले यस्तो हुन नदिन सुरक्षाकर्मी तैनाथ गरिएको र चोकचोकमा सिसी क्यामरासमेत जडान गरिएको छ ।
विक्रम संवत्अनुसार सौरमासको आधारमा लिच्छवीकालभन्दा अघिदेखि चलिआएको विश्वप्रसिद्ध बिस्केट जात्रा बिस्केट अर्थात ‘सर्प मारियो’ भन्ने अर्थमा नेवार समुदायमा मनाइने गरिन्छ । यो जात्रामा तान्त्रिक विधिअनुरूप निर्माण गरिएको भैरवको रथ टौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्र र तल्लो क्षेत्रका बासिन्दाले आआफ्नो क्षेत्रमा लैजाने तान्ने परम्परा छ । भूकम्पले रथ तान्ने रुटका घरमा टेको लगाइएकाले दुर्घटना नहोस् भनेर यसवर्ष रथ चलाउने रुट छोट्याइएको छ ।
गुठी संस्थान भक्तपुरका प्रमूख लेखनाथ सापकोटाले यसवर्ष जात्रा सञ्चालनका लागि करिब रु २६ लाख खर्च हुने बताए ।
यसपछि चैत्र मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाउने र वैशाख १ गते साँझ लिङ्गो ढाल्ने गरिन्छ भने वैशाख १ गते भक्तपुरको भेलुखेलमा भव्य मेला लाग्ने गर्दछ । यसदिन जात्रा हेरेमा शत्रुनाश हुन्छन् भन्ने जनविश्वास रहेको छ । त्यसैले पनि यो जात्रालाई शत्रुहन्त जात्रा पनि भन्ने गरिन्छ ।
Anamnagar Kathmandu, Nepal Regd No : ५२१/२०७४–७५ Editor: Rita Budhathoki