चितवन, ८ वैशाख । चीन सरकारले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरलाई उपलब्ध गराएको उपकरण आजदेखि जडान सुरु गरिएको छ ।
झन्डै तीन महिनाअघि चीन सरकारले करिब रु २४ करोड मूल्य बराबरको २७ प्रकारका विभिन्न मेडिकल उपकरण प्रदान गरेको थियो । चिनियाँ प्राविधिक टोली आउन ढिलाइ भएपछि साना उपकरण आफैँ जडान गर्ने उद्देश्यले चिनियाँ चिकित्सक टोलीका टिम लिडरको रोहवरमा उपकरण जडान थालिएको हो ।
अस्पतालका कार्यकारी निर्देशक डा चीनबहादुर पुन र चिनियाँ टोली नेता डा लिडोङ विनको रोहबरमा तीन वटा कन्टेनरमा आएका उपकरण अस्पतालको भण्डार शाखालाई जिम्मा लगाइएको हो । भण्डार शाखाले आजैबाट विभिन्न विभागलाई ती उपकरण जिम्मा लगाएको छ । जसमध्ये सिटिस्क्यान र मेमोग्राम भने चिनियाँ बायोमेडिकल इन्जिनियर आएपछि मात्रै जडान गरिनेछ । यसका लागि दुई जना इन्जिनियर माग गरिएको पुनले बताए । दुई साता जतिमा इन्जिनियर आएपछि ती उपकरण जडान हुने भए पनि अन्य उपकरण भने एक हप्ताभित्रमा जडान भइसक्ने उनले जानकारी दिए ।
चीनले सहयोग गरेको प्रयोगशालामा माइक्रोस्कोप, टाउकाको शल्यक्रिया गर्दा प्रयोग हुने ब्रोनियोटोमी, इन्डोस्कोपी, ब्रोनोस्कोपी, ल्याप्रोस्कोपी, अल्ट्रासाउन्डजस्ता उपकरण भने आजैदेखि सञ्चालनमा आउने डा पुनले बताए ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई चिनियाँ सरकारले एक करोड ४० लाख युआन बराबरको महत्वपूर्ण उपकरण सहयोग गरेको हो । सहयोगमा रु १३ करोड १७ लाख १३ हजार मूल्य बरारको अत्याधुनिक ६४ ‘स्लाइसको सिटिस्क्यान’ प्रदान गरेको छ । अस्पतालमा रहेको सिटिस्क्यान बिग्रिएपछि विगत दुई वर्षदेखि बिरामी निजी अस्पतालमा जान बाध्य थिए ।
त्यसैगरी रु एक करोड ९७ लाख १३ हजार मूल्य पर्ने ‘मोमोग्राफी ब्रेस्ट’ एक्सरे मेसिन पनि चीन सरकारले उपलब्ध गराएको छ । विगत नौ वर्षदेखि सो उपकरण बिग्रिएर थन्किएपछि बिरामी बाहिर जान बाध्य थिए ।
कार्यकारी निर्देशक पुनका अनुसार चीन सरकारले रु पाँच लाख ७५ हजार ७५० पर्ने बिना चिरफार शल्यक्रिया गर्न सकिने लेजर मेसिन, रु २२ लाख ७४ हजार पर्ने इन्डोस्कोपी, रु २७ लाख सात हजार पर्ने फोक्सोको क्यान्सर हेर्न मिल्ने ब्रोन्कोस्कोपीलाई, रु ५७ लाख ८४ हजार पर्ने पोर्टेवल डिजिटल अल्ट्रासाउन्ड मेसिन, रु २४ लाख ९१ हजार पर्ने आन्द्राको क्यान्सर हेर्ने क्रोनोस्कोप मेसिन सहयोग गरेको छ ।
चीनले प्याथोलोजीमा आवश्यक पर्ने माइक्रोस्कोप, टिस्यु इन्ब्रिडिङ मेसिन, प्रोसेसर, अटो स्टेन्ड समेत उपलब्ध गराएको छ । यस्तै रु एक करोड ४० लाख ८१ हजार पर्ने डिजिटल मोबाइल एक्सरे, रु ८३ लाख ५८ हजार पर्ने अत्याधुनिक ल्याप्रोस्कोपी, दिमागको क्यान्सरको शल्यक्रिया गर्न मिल्ने ब्रोनियोटोमी मेसिन, शल्यक्रिया गर्दा गर्दै बायोस्पिको रिपोर्ट निकाल्न मिल्ने क्रोयस्टापलगायतका उपकरण रहेको उनले बताए ।
त्यसैगरी पाँच शै्ययाको सघन उपचार कक्ष निर्माणका लागि आवश्यक पर्ने मनिटर, भेन्टिलेटर, डिफ्युलेटरजस्ता उपकरण पनि चीन सरकारले उपलब्ध गराएको छ । भौतिक संरचना निर्माण गरेपछि सघन उपचार कक्षका उपकरण जडान गरिने उनले बताए ।