सत्तरी वर्षमा नागरिकता, “बुढेसकालमा भएपनि नेपाली नागरिक हुन पाउँदा गर्व छ ”

दियो पोस्ट  

 

पथरी (मोरङ), १४ वैशाख । मोरङकी विमाया तामाङले ७० वर्षको उमेरमा नागरिकता पाइन् ।

केराबारी–५ का ५३ वर्षीय ज्ञानबहादुर पाण्डेसँग दुई वर्षअघि विवाह गरे पनि  जिल्ला प्रशासन कार्यालय मोरङबाट हिजो नागरिकता प्राप्त गरेकी हुन् ।

जिल्ला प्रशासन कार्यालय मोरङले २००२ सालको जन्म मिति कायम गरेर विमायालाई नागरिकता प्रदान गरेको खरिदार टेकबहादुर श्रेष्ठको भनाइ छ ।

श्रीमान् ज्ञानबहादुर पाण्डेको नागरिकतालाई आधार मानेर विमायालाई नागरिकता दिएको हो । विमाया पाण्डेकी तेस्रो श्रीमती हुन् ।

पहिलो श्रीमानको मृत्यु भएको र छोराछोरीले नहेरेपछि विमायाले पाण्डेसँग विवाह गरेकी थिइन् । जिल्ला प्रशासन कार्यालय मोरङबाट नागरिकता पाएपछि विमायाले खुसी हुँदै भनिन , “बुढेसकालमा भएपनि नेपाली नागरिक हुन पाएकामा गर्व लागेको छ ।”