दियोपोस्ट संवाददाता
धादिङ, २३ । रसुवा, नुवाकोट र धादिङ भएर बहने त्रिशुली नदि बालुवा तस्करहरुको ट्रान्जिट बन्दै गएको छ । त्रिशुली धमिलिएको दृष्य गुगल स्याटेलाईटबाटै देखिन थालेको छ । तर, जिल्ला स्थित सरकारी निकाय भने देखेनदेखे जस्तै गरी रहेको छ ।
त्रिशुली किनारमा रहेका मापदण्ड विपरितका क्रसर तथा बालुवा प्रसोधन केन्द्रहरुलाई जिल्ला प्रशासन कार्यालयले नियमन गर्न नसक्दा यसअघि निलो देखिने त्रिशुली नदि यतिबेला धमिलो बन्न थालेको छ ।
त्रिशुली बचाउ अभियानले पटक पटक सरोकारवाला निकायलाई ध्यानाकर्षण गराएपनि सुनुवाई भएको छैन ।
‘अमेरिकन सेनाको सहोगमा नेपाली सेनाले २०२८ सालमा जलयात्रा गर्न सकिने संभावना अध्ययन गरी ह्वाईट वाटर र्याफ्टिङका लागि प्रसिद्ध त्रिशुली नदिको गती राजनीतिक तस्करहरुको शिकार भएको छ,’ जिल्ला स्थित कान्तिपुर दैनिकका संवाददाता हरिहर सिंह राठौर भन्छन्,‘नेपाल सरकारले गत्तव्य नेपाल २०२० का लागि १ सय वटा गन्तव्यमा पारेको त्रिशुलीलाई तस्करहरुले पर्यटक आउन नदिने भए । पर्यटकहरु सफा पानी भएको नदि खोज्दैछन् । ढल मिसिएको हिलो भएको पानीमा जलयात्रा गर्दैनन् । त्रिशुली नदि किनारमा जलयात्रा कम्पनि र रिसोर्ट खोलेर बसेकाहरु कानमा तेल हालेर बसेका छन् ।’
त्रिशुली नदि भएर बहने नुवाकोट, रसुवा खण्डमा भने त्रिशुली नदि निलो र कञ्चन देखिएपनि धादिङ तर्फ भने धमिलो देखिन्छ । पृथ्वीराज मार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका भित्र रहेका अधिकांश बालुवा प्रशोधन केन्द्रहरु मापदण्ड विपरितका छन् ।
गल्छी र गजुरी गाउँपालिका सिमानामा पर्ने त्रिशुली नदिमा पूर्व माओवादी तर्फबाट गाउँपालिका अध्यक्षका पराजित उम्मेदवार गणेशलाल श्रेष्ठले नदीको बीच भागबाटै बालुवा तस्करी गरिरहेका छन् । तर उनलाई कारबाही गर्ने हिम्मत अहिलेसम्म कुनै निकायले गर्न सकेको छैन ।
प्राकृतिक स्रोत साधनका हिसाबले धनी रहेको धादिङ जिल्लामा तस्करहरुको प्राकृतिक स्रोत साधनकै लुट मच्चाइरहेका छन् । जिल्ला हो । यहाँ रहेका प्राकृतिक स्रोत साधनहरुको उचित संकलन, उत्खनन तथा दोहन हुन नसक्दा यसले वातावरणीय अनुकुलतामा ह्रास ल्याउनुका साथै जैविक विविधता एवं प्राकृतिक सम्पदाहरुमा ह्रास पुर्याएको निष्कर्श छ ।
गत वर्षको तथ्यांक अनुसार जिल्लामा विभिन्न निकायबाट अनुमति प्राप्त गरी २ वटा बालुवा खानी, ५० वटा क्रसर उद्योग एवं ७३ वटा बालुवा प्रशोधन उद्योगहरु दर्ता रहेको बताइन्छ । अधिकांश यी उध्योगहरु त्रिशुली नदि किनारमै छन् ।
गत वर्ष प्रमुख जिल्ला अधिकारी श्याम प्रसाद भण्डारीको नेतृत्वमा छानबीन समिति नै बनेको थियो । समितिले दर्ता भएका अधिकांश दर्ता भै सञ्चालन भएका खानी, क्रसर तथा बालुवा प्रशोधन उद्योगहरुले नेपाल सरकारबाट तोकिएको मापदण्डहरुको पालना नगरेको र केही स्थानमा अवैध रुपमा सञ्चालनमा रहेको तथा उद्योग सञ्चालनबाट वातावरण प्रदुषण र प्राकृतिक सम्पदाहरुको क्षय समेत गरेको’ निष्कर्ष निकालेको थियो ।
‘राष्ट्रिय महत्व बोकेको त्रिशुली नदीमा बालुवा प्रशोधन उद्योगका व्यवसायीहरुले बालुवा धोएको धमिलो फोहर पानी तथा लेदो मापदण्ड बिपरित सिधै खोलामा पठाएकोले त्रिशुली नदी धमिलिएको, पर्यटन उद्योग तथा नदीको स्वच्छतामा असर गरेको र कालान्तरमा यसले गम्भीर समस्या निम्त्याउन सक्नेछ’ प्रतिवेदनमा भनिएको छ ।
समितिकै निर्देशनमा त्यतिबेला त्रिशुली नदि किनारका सबै बालुवा प्रसोधन उद्योग तथा बालुवा खानीको लाईन काट्ने कार्य समेत भएको थियो । तर, केही महिना नपुग्दै राजनीतिक दलका नेताहरुकै निर्देशनमा पुन लाइन जोड्ने काम भएको थियो ।
धादिङमा कार्यभार सम्हाल्न आइपुगेका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेको कार्यकालमा सबै मापदण्ड विपरितका बालुवा प्रशोधन केन्द्रहरुमा लाइन जोडिएको छ ।
त्रिशुली नदि किनारमा रहेका विभिन्न बालुवा उद्योगहरुमा तत्कालिन समितिले निम्न कैफियत फेला पारेको थियो । खोला किनारबाट ५०० मिटर पर रहनुपर्ने बालुवा प्रसोधन उद्योगहरु खोला किनार र बीचमै सञ्चालन हुँदा पनि कानुनी कारबाही हुन सकेको छैन ।
तत्कालिन समितिले ६५ वटा बालुवा प्रसोधन उद्योगहरुको लाइन काट्ने काम गरेको थियो । दर्ता भएका २९ वटा क्रसर उद्योगहरुमा विद्युत लाईन काटिएको थियो । तर, यतिबेला सबै मापदण्ड विपरितका क्रसर बालुवा उद्योगहरुमा लाइन जोडिएको छ । त्रिशुली नदि धमिलो हुँदा जलयात्रामा गम्भिर असर पुगिरहेको छ ।
त्रिशुली नदि र बुढीगण्डकी नदिको समागम स्थल बेनिघाटमा दुई नदिको भिन्ना भिन्दै दृष्य देख्न सकिन्छ । गोरखा र धादिङ भएर बहने बुढीगण्डकीको पानी कञ्चन र निलो देखिन्छ भने पृथ्वीराजमार्ग हुँदै बहने त्रिशुली नदि धमिलो देखिन्छ । गुगलबाटै यस्तो फरक छुट्याउन सकिने हुँदा समेत बालुवा तस्करी रोकीएको छैन ।